सरकारले तोक्यो धानको समर्थन मूल्य – Satyapati

सरकारले तोक्यो धानको समर्थन मूल्य – Satyapati

अर्थतन्त्र

Sharing is caring!

धानको समर्थन मूल्य नतोकिएपछि उचित मूल्य नपाएको भन्दै किसानहरुले आक्रोश पोखिरहेका बेला सरकारले धानको समर्थन मूल्य तोकेको छ ।

कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष सरकारले धानको समर्थन मूल्य केही बढी तोकेको छ ।

धान उत्पादन लगानी केही बढी लाग्ने अनुमानसहित न्यूनतम समर्थन मूल्य केही बढी तोकिएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सरकारले तोकेको धानको समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल दुई हजार ९६७ रुपैयाँ तोकिएको छ ।

त्यस्तै मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १२८ रुपैयाँ तोकेको छ । गत वर्षको तुलनामा यो वर्ष धानको समर्थन मूल्यमा प्रतिक्विन्टल २२६ रुपैयाँ बढी हो । गत वर्ष सरकारले भदौ २९ मै धानको समर्थन मूल्य तोकेको थियो ।

यो वर्ष भने सरकारले समर्थन मूल्य तोक्न ढिलो गरेको हो । मोटा धान प्रतिक्विन्टल २९ सय ६७ र मध्यम धानको समर्थन मूल्य ३१ सय २८ रुपैयाँ तोकिएको छ । न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन कार्य गरिने पनि मन्त्रालयका प्रवक्ता सञ्जेलका जानकारी दिएका थिए ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीलाई ११२ रुपैयाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ । गत वर्ष यो कार्यक्रम अनुसार करिब ९ हजार मेट्रिक टन धान खरिद भएको थियो ।

यो आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरिएको छ । सरकारले धानको समर्थन मूल्य नतोकेपछि व्यापारीले जथाभावी मूल्य तोक्दा किसान मर्कामा पर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *