स्याउको सान, साइपालको मान – Satyapati

स्याउको सान, साइपालको मान – Satyapati

अर्थतन्त्र

Sharing is caring!

बझाङको बुङ्गल नगरपालिका–३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बसे । फर्कने बेलामा कोसेलीका लागि भन्दै उनले निरन्तर स्याउ खोजे , त्यसमा पनि साइपालमै फलेको । दिनमा एक पटक बजार डुलिरहे । घर जान लागेकै दिन संयोगवस मल्लो बजारमा एक बोरा साइपाले स्याउ भेटे र सबै खरिद गरेर घरतर्फ लागे ।

‘उनले लगातार साइपालकै स्याउ किन खोज्नुभयो ?’ धेरैको मनमा प्रश्न उब्जन सक्छ । बोहरालाई साइपाल बसेको लामो अनुभव छ । दसैँ तिहारको समयबाहेक उनी साइपालमै बस्छन् । घर आउँदा विशेषगरी उनको कोसेली नै स्याउ हुन्छ । उनका छिमेकीले समेत साइपाले स्याउको स्वाद चाखेका छन् । बोहोरा घर आउन लागेको थाहा पाएपछि साइपाले स्याउकै माग हुन्छ ।

बजारमा जतिसुकै स्याउ आए पनि साइपालको जस्तो मीठो अन्त नहुने भन्दै चैनपुर आएको मौकामा स्याउ खोजेको उनले बताए । उनले भने, ’बजारमा धेरै प्रकारको स्याउ आउँछ । हाम्रै बझाङमा पनि विभिन्न क्षेत्रको स्याउ पर्याप्त हुन्छ तर, स्वादिलो भने साइपालकै हुन्छ ।’ ‘बुङ्गलको स्याउको लोकप्रियता पनि कम छैन,’ उनले भने, ‘साइपालको स्याउ धेरैजसो धेरै पटक खाएको हुँदा बुंली (बुङ्गली) स्याउको स्वादै लाग्दैन । स्याउ खानुपर्यो भने साइपालेकै याद आइहाल्छ ।’

साइपालको स्याउले बजार पाए दिनमै लाखौँको बिक्री हुने उनले अनुमान गरे । ‘साइपाले स्याउको बजार टाढा भएर मात्रै हो । नत्र त यो स्याउ तराईसम्म पुग्ने हो भने दैनिक दसौँ क्विन्टल बिक्री हुन्थ्यो,’ उनी भन्छन् । खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशी पनि साइपालको स्याउ सम्झिने बित्तिकै मुख रसाउने बताउँछन् । साइपालका विभिन्न वडामा स्याउ सिजनमा नै धेरै पटक गएको हुँदा साइपाले स्याउ जतिको मीठो अन्य ठाउँको नलाग्ने उनले बताए ।

‘म जति पटक साइपाल गएँ, त्यति पटक नै एक–एक झोला साइपाले स्याउनै ल्याएँ ।’ चिसोका कारण साइपालमा स्याउ मीठो हुने गरेको उनले बताए । ‘साइपालको स्याउ सबैका लागि ‘डाँडापारि सुन छ, भनेजस्तै छ’, उनले भने, ‘तर, खच्चरमा ढुवानी गरेर सदरमुकामसम्म ल्याएको स्याउ संसारभर उत्पादन हुने स्याउसँग दाँज्ने हो भने पनि उत्कृष्टमा पर्न सक्छ ।’ साइपालको स्याउको स्वाद चाख्नेले कहिल्यै नबिर्सिने गरेको उनले बताए ।

‘पछिल्लो दुई वर्ष भने साइपालबाटै एक–दुई झोला स्याउ खच्चरमार्फत मगाएँ,’ उनले भने, ‘साइपालको स्याउ आयातभन्दा सस्तो पनि मीठो पनि ।’ भारत तथा अन्य जिल्लामा आउने स्याउभन्दा रु २०–३० सस्तो पर्ने गरेको उनले बताए । साइपालमा स्याउ उत्पादन बढ्दै गएको छ । सुरूमा आफैँलाई खानका लागि लगाउने कृषक अहिले व्यावसायिक रूपमै गर्न थालेका छन् । साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्र धामीले मात्रै सयौँ बोट स्याउ लगाएका छन् ।

‘सुरूमा आफैँलाई खानका लागि दुई बोट लगाएको थिएँ । अहिले चार–पाँच सय बोट लगाएको छु । पन्ध्र–बीस बोट त फल्न लागिसके,’ उनले भने । धामीका अनुसार साइपालमा स्याउ ब्लक क्षेत्र भनेर कृषकले हजारौँ बिरुवा रोपेका छन् । ‘उत्पादन पनि भइरहेको छ तर, बजार नपाउँदा सस्तोमै गाउँमा बिक्री गरिरहेका छौँ,’ उनले भने । गाउँमा रु ६०–७० मै बिक्री गर्ने गरेको उनले बताए ।

‘स्याउ ढुवानी गर्न निकै कठिन छ’, उनले भने, ‘बिरुवा रोपेको तीन वर्षमै फल्न शुरू भइसक्यो । बिक्रीका लागि बजारमा ल्याउन बाटो नै छैन । बोकेर सम्भव नै हुँदैन । थोरै थोरै सामान बोकेर फर्कने खच्चरमा पठाइरहेका छौँ । हिउँ परेपछि खच्चर ढुवानी पनि बन्द हुन्छ ।’ साइपालमा राजेन्द्र धामीजस्तै एक दर्जन किसानले स्याउ फलाउन सुरू गरेका छन् । वडा नम्बर ४ को धुली, गजेरा, धलौन, लातडी, ज्यापी, सोगौली, सैनगाउँ र गजेरा, वडा नम्बर ५ को तिउना, पलौडी, काकरकोटमा स्याउको उत्पादन फस्टाउँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताए ।

जोशीका अनुसार कृषि शाखाबाट लिएर स्याउको बिरूवाहरू कृषकले बढी रोप्न थालेका छन् । ‘कतिपयले उत्पादन गरेर बिक्रीसमेत गर्न थालिसके । कृषकले उत्पादन गरेको स्याउको बजारीकरणका लागि ढुवानी गर्न पालिकाले बजेट छुट्याएको छ । ढुवानीको लागि पैसा पर्दैन । कृषकले उत्पादन गरे पनि निकै फाइदा हुन्छ,’ उनले भने । यता कृषि ज्ञान केन्द्रले पनि साइपालमा स्याउ उत्पादन गर्नका लागि रु १५ लाख अनुदान दिएको बताएको छ । कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले उच्च घनत्व स्याउ संरक्षणका लागि साइपालमा १५ लाख दिएको बताए ।

उनले भने, ‘बझाङका विभिन्न ठाउँमा स्याउको सम्भावना भए पनि साइपालमा चिसो हुने हुँदा हामीले बढी जोड दिएका छौँ । त्यसैमाथि साइपालमा फल्ने स्याउ बजारको रोजाईमा पनि पर्न थालेको हो ।’ विष्टले स्याउका लागि सबैभन्दा चिसो ठाउँ भयो भने स्याउ स्वादिष्ट हुने बताए । ‘चिसो ठाउँको उत्पादन स्वादिष्ट पनि हुन्छ, बजार पनि पाउँछ । त्यसैले हाम्रो पहिलो रोजाई पनि बर्सेनि हिमपात हुने क्षेत्र साइपाल परेको हो । अन्य पालिकामा पनि केन्द्रले सहयोग गर्दै आएको छ ।’

विष्टका अनुसार बझाङमा सबैभन्दा बढी स्याउ साइपाल, थलारा, खप्तडछान्ना, तल्कोट तथा बुङ्गलको सिरानीमा उत्पादन हुने गरेको छ । अन्य पालिकामा पनि स्याउको उत्पादन बढ्दै गएको उनले बताए । यो सिजनमा मात्रै बझाङबाट १५० मेट्रिक टन स्याउ निर्यात भएको विष्टले बताए । ‘विभिन्न पालिकाबाट करिब डेढ सय मेट्रिक टन स्याउ निर्यात भएको छ भने जिल्लामै दुई–तीन मेट्रिक टन बराबर खपत भएको अनुमान गरेका छौँ ।’ उनले भने । जिल्लामै प्रति किलो रु सय बिक्री हुने स्याउ तराईंका जिल्लासम्म पुग्दा रु डेढदेखि दुई सयसम्म बिक्री हुने गरेको उनले बताए ।

स्याउ बोकेरै कृषक

खप्तडछान्ना गाउँपालिका–६ पुजारीगाउँका डबलबहादुर खड्का उमेरले ७० वर्ष कटिसकेका छन् । उद्दी युवा उमेरदेखि नै भारतको सिम्ला पहाडमा सिजनअनुसार धेरै पटक स्याउ बोक्न गए । आफ्नै भूमिजस्तो ठाउँमा पर्याप्त स्याउ फलेको देखेपछि डेढ दशकअघि नै उनले खालिगडामा करिब पाँच सय बिरुवा रोपे । ‘अहिलेको जस्तो अनुदान केही थिएन,’ खड्काले भने, ’सिम्ला पहाडमा स्याउ बोकेर कमाएको पैसाले नै स्याउका बिरुवा खरिद गरेँ र आठ–नौ फिटको अन्तरमा खाल्डो खन्दै रोपेँ । त्यसले तीन वर्षमै फल दिन थाल्यो । अहिले त्यसैबाट वार्षिक रु पाँच लाख बराबर आम्दानी भइरहेको छ ।’

खड्काको स्याउ बारीमा अहिले ५० क्विन्टलको हाराहारीमा स्याउ फल्छ । बैतडीमा तालिम लिएर स्याउ खेती गरेका खड्काले व्यावसायिक रूपमा खेती गर्न थालेको दशकपछि मात्रै छान्नामा अन्य कृषकले व्यावसायिक रूपमा स्याउ उत्पादन गर्न थालेको उनले बताए । ‘मैले सुरूमा खालिगडामा स्याउ रोप्न जाँदा अन्न उत्पादन हुने जमिनमा स्याउ लगाएर जङ्गल बनाउन थाल्यो भन्नेहरू तीन–चार वर्षदेखि नै स्याउ माग्न थाले । पछि मेरै सल्लाहअनुसार नै धेरैले स्याउ खेती गरेका छन्,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *