पोर्चुगलको उपाधि सपना आफ्नै घरमा खरानी : स्पेन बन्यो भिलेन

Football Khabar » पोर्चुगलको उपाधि सपना आफ्नै घरमा खरानी : स्पेन बन्यो भिलेन

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं, असोज १२

सन् २०१९ को च्याम्पियन पोर्चुगल युईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै आउट भएको छ । अन्तिम खेलमा स्पेनले पोर्चुगललाई उसकै घरमा ०–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनल प्रवेशका लागि आफ्नो घरमा पोर्चुगललाई ०–० को बराबरी नतिजा नै काफी हुने भए पनि पराजित भएपछि उसको उपाधि सपना घरमै खरानी भयो । पोर्चुगलका लागि यो निकै निराशाजनक नतिजा हो । ऊ यसपटक उपाधि जित्ने होडमा थियो ।

स्पेनले पोर्चुगलको घरमा पहिलो हाफमा एउटा पनि सट अन टार्गेट हान्न सकेको थिएन । तर, उसले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोको टिमलाई चोट दियो । पछिल्ला ४ खेल हार–जितबिना बराबरी भएकोमा यसपटक स्पेनले पोर्चुगलमाथि उसकै घरेलु मैदानमा महत्त्वपूर्ण जित निकाल्यो, जुन जितले स्पेनलाई नेसन्स लिगको सेमिफाइनलमा पुराएको छ ।

खेलको ८७औं मिनेटसम्म खेल ०–० को बराबरीमा थियो । यही अवस्थामा खेल सकिएको भए पोर्चुगल नै समूह विजेता बन्ने थियो । तर, खेलको ८८औं मिनेटमा स्पेनका लागि अल्भारो मोराटाले गोल गरेपछि पार्चुगललाई झट्का लाग्यो । स्पेनका सब्सिच्यूट युवा खेलाडी निको विलियम्सको क्रस पासमा मोराटाले हाफ भलीमा सहजै गोल गरेर स्पनेलाई अग्रता दिलाएका थिए । डिफेन्डर ड्यानी कार्भाहालको लामो पासमा विलियम्सले हेडिङमार्फत पोस्टअघि क्रस दिएकोमा अनमार्क रहेका मोराटाले वान टचमै सहजै गोल गरेका थिए ।

अन्ततः उनको त्यही १ गोल स्पेनलाई जिताउन पर्याप्त बन्यो । गोल खाएपछि पोर्चुगल खेलमा फर्किन सकेन । र, घरमै स्तब्ध बन्न पुग्यो । अन्तिम केही मिनेट सम्हालिन नसक्दा पोर्चुगलले सेमिफाइनलको बाटो गुमाउन पुग्यो । गोल खाएपछि ७ मिनेटसम्मको इन्जुरी समयमा पोर्चुगलले बराबरी गोलका लागि ठूलै संघर्ष गरे पनि गोल फर्काउन सकेन । आजको खेलमा कप्तान रोनाल्डोले २ पटक निकै राम्रो अवसरमा गोल गर्न चुकेका थिए । उनका यही गल्ती पोर्चुगलको हारको मुख्य कारण बन्यो । रोनाल्डोले फेरि एकपटक निराशाजनक प्रदर्शन गर्दा टिम महत्त्वपूर्ण खेलमा स्तब्ध बन्न पुग्यो ।

यो खेलमा स्पेनले ६८ प्रतिशत बल पकडमा राखेर १० पटक पोर्चुगलको पोस्टमा सट हान्दा ५ वटा अन टार्गेट थिए । पोर्चुगलले ३२ प्रतिशत मात्रै बल पाउँदा जम्मा ९ पटक सट हान्यो भने ४ सट अन टार्गेट थिए । यससँगै स्पेन समूह ‘बी’बाट ११ अंक जोड्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । पोर्चुगल १० अंका साथ दोस्रो बन्यो भने स्वीट्जरल्यान्ड ९ अंकका साथ तेस्रो बन्यो । चेक रिपब्लिक मात्रै ४ अंकका साथ रेलिगेसनमा गयो ।

 


प्रकाशित मिति १२ आश्विन २०७९, बुधबार ०७:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *