गाउँपालिका नगएरै पाँच महिनाको तलब झ्वाम – Satyapati

गाउँपालिका नगएरै पाँच महिनाको तलब झ्वाम – Satyapati

अर्थतन्त्र

Sharing is caring!

पाँच महिनासम्म गाउँपालिकामा पाइलै नटेकी हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले सुर्खेत बसेर पाँच महिनाको तलब भत्ता खाएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापा गत साउन ३१ पछि गत बिहीबार मात्र कार्यालय उपस्थित भएका थिए । कार्यालय नआई तलब–भत्ता बुझेका द्वय झन्डै पाँच महिनापछि हाजिर लगाउन पुगेका थिए ।

तर, गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय र केही वडाध्यक्षले हाजिरी लगाउन नदिएको बताएका छन् । उनीसँगै नयाँ नियुक्ति लिएका चार स्थायी कर्मचारीले समेत हाजिरी लगाउन नपाएको गाउँपालिकाका उपाध्यक्ष रोकायले बताए ।

साउन महिनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलमाथि भ्रष्टाचार अभियोग लागेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट मेगनाथ शाहीलाई साउन २ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाएका थिए ।

साउन २९ मा गाउँपालिकाका उपाध्यक्ष रोकायको अध्यक्षता बसेको कार्यपालिका बैठकले गाउँपालिकाको कामकाजमा बाधा परेको भन्दै रोकायानिकट स्वास्थ्य संयोजक हंश महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष सिंहले नियुक्ति दिलाएर ल्याएका शाहीले अध्यक्ष सिंहसँग सुर्खेत बसेर करोडौँ रकम हिनामिना गरेको गाउँपालिका उपाध्यक्ष रोकायले आरोप लगाउदै सुर्खेतस्थित अख्तियारमा उजुरी समेत दिएका छन् ।

गाउँपालिका नै अपहरण परेको भन्दै गाउँपालिकाका उपाध्यक्ष रोकायले अख्तियारमा उजुरी दिएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापा बिहीबार अदानचुली गाउँपालिका पुगेका थिए ।

तर, उपाध्यक्ष रोकाया पक्षले उनीहरूलाई हाजिरी लगाउन नदिएपछि विवाद चुलिएको छ । गाउँपालिका अध्यक्ष सिंह नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष रोकाय माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *