सिन्धुली — सिन्धुलीमा बैशाखमा पनि बजारमा जुनार पाउने भएको छ । मिनी शीतभण्डारमा भण्डारण गरेको जुनार नयाँ सालसँगै दोब्बर बढी मूल्यमा किसानले बजारमा ल्याएका छन् । जुनारले संवत् फेरेर बिक्री भएको यो पहिलो पटक हो । यस अघिका वर्षमा फागुन मसान्त सम्म बिरलै जुनार बजारमा हुन्थ्यो ।
गोलन्जोर गाउँपालिका ४ तीनकन्या आलेगाउँका किसान लोकबहादुर आलेमगरले घरको करेसाबारीमा निर्माण गरेको मिनी शीतभण्डारमा २२ हजार किलो जुनार भण्डारण गरेका थिए । पुस मसान्त छेकबाट भण्डारण गरिएको जुनार दुई महिना पछि बजारमा पुगेको हो । किसान आलेमगरका अनुसार सिजनमा ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने जुनार दुई महिना भण्डारण गरेर बजारमा लैजाँदा १२० देखि १४० रुपैयाँमा बिक्री हुने गरेको छ । व्यापारीले १८० देखि २०० सम्ममा उपभोक्तालाई बिक्री गर्दछन् । मिनी शीतभण्डारमा जुनार राख्दा २५ रुपैयाँ खर्च हुन्छ । भण्डारण गरिएको जुनार बजारमा लैजाँदा प्रतिकिलो ६० रुपैयाँसम्म नाफा हुने किसान आलेमगरको भनाइ छ ।
प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाजुनार सुपर जोनको ७० प्रतिशत सहयोगमा निर्माण भएका ६ वटा मिनी शीतभण्डारमा यो वर्ष कृषकले जुनार भण्डार गरेका थिए । मिनी शीतभण्डार निर्माणका लागिजुनार सुपर जोनबाट तीन लाख ५० हजार किसानलाई सहयोग गरिएको छ । किसानकै घरमाकोल्डरुम बनाउन सरकारी सहयोग भएको हो ।
गोलन्जोर गाउँपालिका ५ नयाँखर्कका किसान वीरबहादुर थापाले ७ हजार किलो भण्डारण गरेर १० लाखभन्दा बढी आम्दानीलिएका छन् । जाडो महिनामा उत्पादन हुने जुनारलाई चिस्यान घरमा राखेर गर्मी मौसममा बजारमा पठाउन सके राम्रै आम्दानीहुने उहाँले बताउनुभयो ।
एउटा मिनी शीतभण्डारमा १६ हजार किलो जुनार भण्डारण गर्न सकिने भएपनि किसानहरू सड्ने डरले थोरै परिमाण राखेको जुनार सुपर जोनको प्रमुख रमेश हुँमागाईंले बताउनुभयो । जुनार सुपर जोनका अनुसार असोजको दोस्रो साताबाट हरियो जुनार बजारमा आउँछ । जुनारको मुख्य सिजन मंसिर देखि माघ सम्म हो । त्यसपछि भण्डारण नगरे जुनार रहँदैन । बजारमा आउन थालेपछि ९ महिनासम्म कारोबार हुनु सुखद पक्ष भएको जोन प्रमुख हुँमागाईंको भनाइ छ । यो वर्ष सिन्धुलीमा ९ हजार ४ सय मेट्रिकटन जुनार उत्पादनभई किसानले ३५ करोड भित्र्याएको उहाँले जानकारी दिनुभयो । ६ हजार मेट्रिकटन जुनार बजारमा आउँदा व्यापारीले समेत १५ करोड मुनाफा गरेका छन् । तीन हजार मेट्रिकटन जुनार कोसेली पात र रोगकिराले नष्ट गर्दछ ।
प्रतिवर्ष २० हजार नयाँ बिरुवा थपिने र आ व ०७२÷०७३ मा रोपेको बिरुवाले फल दिन थालेकाले उत्पादन बढेको जुनार विकास संघका अध्यक्ष कर्णबहादुर आलेमगरले बताउनुभयो । जुनारमा ब्याक्टोसेरामिनाक्स नामक औंसा किरालाई प्रोटिन वेट नामक विषादीबाट नियन्त्रण गर्न जुधिरहेका किसानलाई बगैंचा नै सखाप हुने सिट्रस ग्रिनिङ नामक किराले थप चिन्तित तुल्याएको अध्यक्ष आलेमगरले बताउनुभयो । यसले त बगैंचा नै सुकाउँदो रहेछ, जुनार सुन्तलाको बोटहरू दाउरा बन्दै छन्, यसको नियन्त्रणमा सरकारी निकायको चासो हुनुपर्ने उहाँले बताउनुभयो ।