काठमाडौं: शेयर बजारमा सर्वाधिक बजार पूँजीकरण भएका दश कम्पनीहरु मध्य यो साता तीन कम्पनीको मात्र बजार पूँजीकरण बृद्धि भएको छ । नेपाल दुरसञ्चार कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको शेयरको मूल्य गत साताभन्दा यो साता बढी भएको हो । नेपाल दुरसञ्चार कम्पनी शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्य सर्वाधिक बजार पूँजीकरण भएको कम्पनी हो ।
स कम्पनीको शेयर बजारमा सर्वाधिक १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ । असोज २९ गते बिहीवार नेपाल दुरसञ्चार कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता ७०७ रुपैयाँ कायम भएको छ । अन्य समूह अन्तर्गत सूचीकृत यस कम्पनीको कुल शेयरको मूल्य १ खर्ब ६ अर्ब ५ करोड रुपैयाँ कायम भएको हो । गत साता अर्थात असोज २२ गते बिहीवार कम्पनीको बजार पूँजीकरण रकम १ खर्ब ५ अर्ब ७५ करोड रुपैयाँ थियो । गत साताको तुलनामा यस कम्पनीको कुल बजार पूँजीकरण रकम ३० करोड रुपैयाँले बृद्धि भएको हो ।
त्यस्तै धितोपत्र दोस्रो बजारमा ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचीकृत रहेको नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि गत साताभन्दा यो साता बढेको छ । सातामा कम्पनीको कुल शेयरमूल्य १६ करोड ५० लाख रुपैयाँभन्दा बढीले बृद्धि भएको हो । गत साताको अन्तिम दिन ७५ अर्ब ३५ करोड २० लाख रुपैयाँ रहेको नेपाल लाइफको बजार पूँजीकरण यो साताको अन्तिम दिन ७५ अर्ब ५१ करोड ७० लाख रुपैयाँ पुगेको छ । यस कम्पनीको शेयरमूल्य असोज २९ गते बिहीवार प्रतिकित्ता १ हजार ३७४ रुपैयाँ पुगेको हो ।
यो साता एनआईसी एशिया बैंकको कुल शेयरमूल्य पनि गत साताभन्दा यो साता ४८ करोड ६० लाख रुपैयाँले बढेको छ । गत साताको अन्तिम कारोबार दिन ५५ अर्ब ६८ करोड २० लाख रुपैयाँ रहेको एनआईसी एशिया बैंकको बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन ५६ अर्ब १६ करोड ८० लाख रुपैयाँ पुगेको हो । यस कम्पनीको अन्तिम शेयरमूल्य बिहीवार प्रतिकित्ता ५७८ रुपैयाँकायम भएको छ । धितोपत्र बजारमा एनआईसी एशिया बैंकको ९ करोड ७१ लाख ७६ हजार ५१२ कित्ता शेयर सूचीकृत रहेको छ ।
यो साता बजार पूँजीकरण घट्ने सात कम्पनीहरु मध्य नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक घटेको छ । सातामा यस कम्पनीको कुल शेयरको मूल्य १ अर्ब ४० करोड रुपैयाँले घटेको हो । गत साताको अन्तिम कारोबार दिन ८६ अर्ब ८० करोड रुपैयाँरहेको नेपाल पुनर्बीमा कम्पनीको कुल शेयरको मूल्य यो साताको अन्तिम कारोबार दिन ८५ अर्ब ४० करोड रुपैयाँमा झरेको हो । यस कम्पनीको अन्तिम शेयरमूल्य बिहीवार प्रतिकित्ता ८५४ रुपैयाँ कायम भएको छ । यस कम्पनीको शेयर बजारमा १० करोड कित्ता शेयर सूचीकृत रहेको छ ।