बालबालिकालाई विद्यालय जान-आउन ४ घन्टा पैदल

शिक्षा

Sharing is caring!

अन्नपूर्ण गाउँपालिका–१, दोवा औल माराकाका ५ बर्षिय बादल पूर्जा बिहान उठ्ने वित्तिकै हतारहतार लुगा लगाएर विहान साँढे सात बजे विद्यालय जान्छन् ।घरबाट विद्यालय पुग्न पूर्जासँगै ५ बर्षिय मेञ्जु पुन, खुसी सुनारलाई कैशाल माविमा पुग्न करिब दुईघन्टा लाग्छ ।

गाउँमा विद्यालय नभएपछि पढ्नका लागि बारजरा र सल्लेरी सामुदायिक बन, फाँट हुदै जोखिम मोलेर केही अभिभावकसँगै र कोही माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीको सहयोगमा हतार–हतार गरी विद्यालयमा पुग्ने गरेका छन्। गाउँ नजिक रहेको सुनारी आधारभुत विद्यालयमा पुग्न खोलाको बाटो र बालबालिकाको ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यताले विद्यार्थीले दोबा गाउँमा अवस्थित विद्यालयमै जानुपर्ने अवस्था रहेको स्थानीय यूवा अमृत गर्बुजाले बताए।

‘कलिला बालबालिका थकानका कारण कक्षा कोठामै सुत्छन्,‘कठिन पैदल हिँडेर स्कुल ओहोर–दोहोर गर्न बाध्य छन’्वडा सदस्य समेत रहेका गर्बुजाले भने। उनका अनुसार उकालो बाटो र जंगलका कारण बालबालिकालाई जंगली जनावरको समेत खतरा रहेको बताए। गाउँ आसपासबाट दैनिक करिव ४० जना विद्यार्थी विहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता भएको गर्बुजाको भनाई छ।

केही अभिभावकले मोटरसाइकलमा आवतजावत गर्ने गरेपनि अधिकांस विद्यार्थी पैदलमार्ग हुदै विद्यालयमा पुग्ने गरेका छन्। ‘उकालो बाटोमा निकै थकानका साथ पुग्नु पर्दा पठनपाठनमा समेत असर परेको छ,‘विहानमा किताव हेर्ने पाइदैन’ कक्षा ६ मा अध्ययनरत बिमल पूर्जाले भने। उनले गाउँबाट विद्यालयसम्म पुग्ने सवारीसाधनको ब्यवस्था भएरमा सहज हुने बताए। कलिला बालबालिका हिड्न नसक्ने भएकाले माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीले बोकेर लैजाने गरेको विद्यार्थीको भनाई छ।

बर्खाको समयमा चिप्लो बाटोमा दुर्घटनाको जोखिम, हावाहुरी र वर्षा हुँदाको दिन पहिरोको डरले विद्यार्थी घरमै बस्नुपर्ने बाध्यता रहेको स्थानीय तमबहादुर विकले बताए। ‘तीन छोराछोरी विहानै विद्यालय जान्छन्,‘बेलुकी थाकेर आउँछन्, पढ्ने समयमै पाउँदैनन्’ विकले भने । उनले गाउँ नजिकै नयाँ विद्यालयका लागि पटक–पटक माग गरिएपनि सुनुवाई नभएको गुनासो गरे। यता विद्यालयका प्रधानाध्यापक सिर बहादुर गर्बुजाले विद्यार्थी दैनिक लामो हिडाइले आजित भएको बताए ।

त्यस ठाउँका बालबाकिालाई पठनपाठन गर्न अतिनै असजिलो भएको बताए।‘दिनैपिच्छे चारघन्टा पदैल हिँडेपछि विद्यार्थी थाक्छन्,‘आवासीय सुविधाको पहल भएमा विद्यार्थीलाई धेरै राहत हुने थियो’ प्रअ गर्बुजाले भने। छात्रा विद्यार्थीले घरमा काम समेत गर्नुपर्ने अवस्थामा पढाइलाई प्रयाप्त समय दिन नसकेको विद्यालयले जनाएको छ । थकित अवस्थामा विद्यार्थीले सजिलै पाठ्यक्रममा ध्यान दिन नसक्ने भएकाले विद्यालयबाट करिव आधा घन्टाभन्दा टाढाका विद्यार्थीलाई अनिवार्य आवासीय सुविधा वा पायक पर्ने स्थानमा विद्यालयको हुनुपर्नेमा सरोकारवाला निकायको जोड रहेको छ ।

जिल्लाभरी अवस्था उस्तै
जिल्लाको रघुगंगा गाउँपालिका–६ अमर माविमा कक्षा ९ मा अध्ययनरत ठाडाखानीका कमल छन्त्याल दैनिक दुई घन्टा हिडेर विद्यालयमा पुग्छन्् छन्त्यालजस्तै रायखोरकी सुस्मा शेरपुञ्जाको समस्या पनि उस्तै छ । ‘घर आयो थकाई लागेको हुन्छ। होमवर्क गर्दा गर्दै निन्द्रा लाग्छ’ छन्त्यालले भने । उनले चाहेर पनि राम्रोसंग पढ्ने समय नै नहुने गुनासो गरे। विद्यालयमा करिव ३५–४० जना विद्यार्थीले दैनिक पैदलयात्रा गरी विद्यालयमा आउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक यूकुमार गर्बुजाले बताए।‘विद्यार्थीले पढ्ने समय नै पाएका छैनन्,‘दैनिक चारघन्टाको आवतजावतको प्रत्यक्ष असर पढाईमा देखिन्छ’ प्रअ गर्बुजाले भने।

त्यस्तै मंगला गाउँपालिको मंगला मावि, मालिका गाउँपालिकाको जनप्रिय माविमा समेत करिव डेढघन्टासम्म पैदलयात्रा गरी विद्यार्थी पढ्न आउने गरेको विद्यालयले जनाएको छ ।‘टाढाबाट आउने विद्यार्थी कहिले काहि त कक्षा कोठामै सुत्छन्,‘हामीले समस्यालाई बुझ्ने प्रयास गछौ’जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुबेदीले भने।उनका अनुसार ‘बिहान हतार हतार खाना खाएर स्कुल आउने विद्यार्थीले बेलुकी पढाईमा प्रयाप्त समय दिन नसक्ने बताए ।

सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घन्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्डका साथै संविधानको मौलिक हकको धारा ३१ को उपधारा १ र २ मा प्रत्येक नागरिकलाई आधारभुत शिक्षाको पहुँच हुनेछ र प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *