काठमाडौँ । माघ १६ गते अर्थात् सहिद दिवसको अवसरमा हरेक वर्ष नेसनल युनाइटेड स्कूलले खेलकुद कार्यक्रमको आयोजना गर्ने गर्दछ । सोही कुराको निरन्तरता स्वरूप सोमबारदेखि यस वर्षको खेलकुद कार्यक्रमको आयोजना गरेको छ । आज दोस्रो दिन पनि महत्त्वपूर्ण खेल भएका छन् ।
“सँगै उत्कृष्टता हासिल गरौँ” भन्ने मूल नाराका साथ सुरु भएको वार्षिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०२३ दोस्रो दिन पनि अध्ययनरत विद्यार्थीहरू विभिन्न खेलहरूमा सहभागी भएका छन् ।
दोस्रो दिन अर्थात् आज फुटसल, ब्याडमिन्टन, बुद्धिचाल, कराँते, टग अफ वार, क्यारम बोर्ड लगायत १८ वटा खेल विधामा प्रतिस्पर्धा भएको थियो ।
फुटसल तर्फको सिनियर ब्वाइजको फाइनलमा ग्रिन हाउस तथा सिनियर गल्र्सतर्फ ब्लू हाउस आ–आफ्ना प्रतिस्पर्धीमाथि समान २–० को जित निकाल्दै विजेता बने । त्यसै गरी जुनियर ब्वाइज तर्फ यल्लो हाउस तथा जुनियर गल्र्स तर्फ ब्लू हाउसको टिम विजेता बन्न सफल भएका छन् ।
खेलकुद कार्यक्रममा रोड रेस लगायत बाँकी रहेका प्रतिस्पर्धाहरू यही माघ १८ गते बुधवार सम्पन्न हुने छन् । जसमा विजेताहरूलाई प्रमाण–पत्र, मेडल तथा ट्रफीद्धारा पुरस्कृत गरिने विद्यालय प्रशासनले जनाएको छ ।
तस्विरः नेसनल युनाइटेड स्कूल