बिवाह गरेर श्रीमती घर लैजाने तयारीमा थिए अजय, तर प्रहरीले तुरुन्तै नियन्त्रणमा लियो !

बिवाह गरेर श्रीमती घर लैजाने तयारीमा थिए अजय, तर प्रहरीले तुरुन्तै नियन्त्रणमा लियो !

मनोरञ्जन

Sharing is caring!

सिरहाको कर्जन्हा नगरपालिका–६ मा रिझन मुखियाकी १५ वर्षीया छोरी रञ्जुकुमारी मुखियाको विवाह सोमबार धनुषाको यदुकुहा नगरपालिका सिमराढीका अजय मुखियासँग हुनै लागेको थियो, त्यही बेला स्थानीय प्रहरी विवाहस्थलमा पुग्यो । विवाहस्थलमा पुगेको प्रहरी टोलीलाई देखेर सुरुमा सबै झस्किए । किन प्रहरी टोली आयो भनेर सबैमा खुल्दुली मच्चियो, त्यही कारण विवाहस्थलमा खासखुसे माहोल पनि सिर्जना भयो । प्रहरी टोलीले विवाहस्थलमा बडो सौहार्दपूर्वक ढङ्गले बेहुली र बेहुलाका पितालाई बोलायो ।

दुवैलाई बालविवाहबारे थाहा छ कि छैन भनेर सोध्यो । संयोगवश दुवैलाई बालविवाहबारे थाहा रहेनछ । प्रहरी टोलीले बेहुला र बेहुलीका पितालाई बालविवाह गर्न नहुने कानुनी र व्यावहारिक ज्ञानबारे अवगत गराए । त्यसपछि दुवैपक्ष बालविवाह गर्नु हुँदैन भन्ने कुरामा सहमत भए र बेहुला पक्ष बेहुलीबिना नै घर फक्र्यो । रञ्जुकी आमा सुनितादेवी मुखियाले आफूहरूलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएको सुनाउनुभयो । हामीलाई विवाहका लागि २० वर्ष पुग्नुपर्छ भन्ने थाहा थिएन, उहाँले भन्नुभयो, राम्रो घर पाएको र दाइजो पनि नलिने भएपछि छोरीको विवाह गर्न लागेका थियौँ । गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित यो खबर सन्तोष सुवेदीले लेखेका हुन्।

यस्तै घटना सोमबार मिर्चैया नगरपालिका–१ का श्रीराम कापैरकी छोरी सङ्गीता कापैर र कल्याणपुर नगरपालिका–१ का रामनरेश माझीकी छोरी गनिता माझीको विवाहको बेलामा पनि घट्यो । त्योभन्दा एक दिन अगाडि आइतबार पनि मिर्चैया नगरपालिकाको वडा नं। ५ मा एउटा बालविवाह प्रहरीले रोकेको थियो । स्थानीय प्रहरीले उक्त चारवटै स्थानमा भइरहेको बालविवाहलाई रोकेर स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका अगुवाको रोहवरमा गाउँका कुनै पनि बालबालिकालाई उमेर नपुगी विवाह नगराउने प्रतिबद्धता समेत व्यक्त गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

बालविवाहलाई निरुत्साहित बनाउन अहिले जिल्लाभित्रको सम्पूर्ण प्रहरी एकाइलाई क्रियाशील बनाइएको छ, प्रहरी उपरीक्षक चतुर्वेदीले भन्नुभयो, पहिलो चरणमा हामीले बालविवाह रोकथाम गर्न अभिभावकलाई निरुत्साहित बनाउने योजना बनाएका छाँै, त्यसले रोकथाम नभए मात्र कानुनी कारबाहीलाई अगाडि बढाइनेछ । जिल्लाभित्र बालविवाहलाई रोक्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले विभिन्न सामाजिक तथा गैरसरकारी संस्थासँग समन्वय गरेर एक महिना अगाडिदेखि सुरु गरेको बालविवाहविरुद्ध विद्यालयस्तरमा जनचेतना दिने अभियानले सिरहामा बालविवाह निरुत्साहित हुँदै गएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । विद्यालय विद्यालयमा गएर दिएको जनचेतना कार्यक्रममा सहभागी भएकै छात्राबाट हामीलाई बालविवाहबारे सूचना प्राप्त भइरहेको छ, प्रजिअ अधिकारीले भन्नुभयो, त्यही सूचना संयन्त्रका कारण सिरहाका चार जना बालिका बालविवाहबाट जोगिएका छन् ।

नेपालको कानुनले २० वर्षभन्दा पहिला विवाह गर्न बन्देज गरेको भए पनि विपन्न, गरिब तथा दलित समुदायभित्र यो चेतना आइपुगेको छैन, हरुवाचरुवा सशक्तीकरण अभियानमा संलग्न सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले भन्नुभयो, तर केही दिनदेखि प्रशासनिक क्षेत्रबाट देखिएको बालविवाहविरुद्धको जनचेतना र रोकथामको कार्ययोजनालाई सराहना गर्नैपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *