‘बन्धन मुक्त’ ओस्कर अवार्ड

‘बन्धन मुक्त’ ओस्कर अवार्ड

मनोरञ्जन

Sharing is caring!

नरेश फुयाँल

सन् सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार जब अमेरिकी गीतकार–गायक बब डिलनलाई दिने घोषणा भयो, तब विश्व एकसाथ चकित भयो । चकित हुनु स्वाभाविक थियो, किनकि साहित्यिक लेखनीलाई मात्र दिइँदै आएको अवार्ड गीतलाई दिइयो । र, त्यो पनि नोबेल पुरस्कारको इतिहासमा पहिलो पटक !

गीतलाई अवार्ड दिने उक्त निर्णयको यतिसम्म आलोचना भयो कि, शिक्षाविद् पेर वास्टबेर्गले यस्ता अफबाहलाई सीधै नकारिदिनुपर्ने कडा टिप्पणी गरे । भलै, नोबेल पुरस्कार कमिटीले बबले अमेरिकी गीति परम्परामा नयाँ युग आविष्कार गरेको र उनका गीत अमेरिकासँगै विश्वमा युद्धविरोधी र मानव अधिकारको गीत बन्न सफल भएको जिकिर गर्दै पुरस्कारकका लागि योग्य ठहर्‍यायो ।

ठीक त्यही आश्चर्य यो पटकको ओस्कर अवार्डले सिर्जना गरिदियो । कारण, हरेक वर्ष हलिउड फिल्मले पाउँदै आएको ओस्करमा यो वर्ष कोरियन चलचित्रले बाजी मार्‍यो । दक्षिण कोरियाली निर्देशक बोङ जो हुको चलचित्र ‘प्यारासाइट’ले ओस्करमा उत्कृष्ट चलचित्र, निर्देशक, अन्तरराष्ट्रिय चलचित्र र पटकथाजस्ता महत्वपूर्ण विधामा पुरस्कार हात पारेर इतिहास रच्यो । अङ्ग्रेजीदेखि निकै परको भाषामा निर्माण भएर पनि उत्कृष्ट पुरस्कार जित्ने ‘प्यारासाइट’ले ओस्करको ९२ वर्षको इतिहासमा पहिलो चलचित्र बन्ने सौभाग्य पायो । विदेशी भाषा र उत्कृष्ट चलचित्र दुवैमा ओस्कर जित्ने पहिलो चलचित्रको इतिहास पनि ‘प्यारासाइट’कै नाममा लेखिन पुग्यो ।

‘प्यारासाइट’ले ओस्कर अवार्ड हात पार्नु दक्षिण कोरियाका लागि त ठूलो उपलब्धि हो नै । कतिपयले यसलाई दक्षिण कोरियाको मात्रै सफलताका रुपमा नलिएर ‘सबटाइटल मुभी’कै सफलताको क्षण माने । ओस्कर अब अङ्ग्रेजी भाषाको घेराबाट मुक्त हुन पुगेको छ । यसले संसारकै चलचित्र सम्बद्ध मानिसलाई खुसी दिएको छ । विश्वमा हलिउड मात्रै होइन त्यसदेखि बाहिर पनि चलचित्रको संसार छ । र, त्यो अस्तित्व रक्षाको सङ्कटपूर्ण घडीबाट गुज्रिरहेको मात्रै छैन, हलिउडसँग टक्कर गर्ने बलियो अवस्थामा समेत पुगिसकेको छ भन्ने अर्थपूर्ण सन्देश यस पटक प्रवाह भएको छ । यो वर्ष ओस्कर हलिउडबाट बाहिरमात्रै निस्किएन, फड्को मारेर एसियामै आइपुग्यो !

के त्यसो भए एसियाकै अर्को मुलुक नेपालको कलिउडका लागि पनि ओस्करको ढोका खुलेको हो त ? प्रश्न गर्न सकियो । तर मथिङ्गलमा यो प्रश्न खेलिरहँदा दक्षिण कोरियाको चलचित्र इतिहास धेर–थोर बुझ्नु आवश्यक पर्न जान्छ ।

० ० ०

कोरियाले फिल्म एकेडेमी खोलेर युवालाई फिल्म पढायो । आफ्नै लगानीमा फिल्म फेस्टिभलको आयोजना ग¥यो । आफ्ना चलचित्रकर्मीलाई देशी–विदेशी चलचित्र हेरायो । त्यही सरकारी फिल्म एकेडेमीबाट १९९० मा ग्राजुएसन गरेका विद्यार्थी हुन्, बोङ । उनले ग्राजुएसन गरेको ३० वर्षमा ओस्कर अवार्डको स्वाद चाखे ।

जब अवार्डको स्वाद चाख्न निर्देशक बोङ ओस्करको स्टेजमा उक्लिए, तब उनले मन्तव्यका क्रममा हलिउड निर्देशक मार्टिन स्कोरसेजी र क्विन्टन टेरन्टिनो आफ्नो आदर्श भएको बताए । तर बोङले आफ्नो दुवै आदर्शलाई पछि पारेर ओस्कर अवार्ड चुमेका थिए ।

बोङले ओस्करलाई आफ्नो पोल्टामा पारेपछि फिल्म एकेडेमीमा पढेको पनि सम्झिए– जो सबैभन्दा वैयक्तिक हुन्छ, त्यो नै सबैभन्दा सिर्जनशील हुन्छ ।

उनले सायद भन्न खोजेका थिए, चलचित्र कला हो । कला सिर्जना हो । र, सिर्जना त्यसै जन्मिँदैन । यसका लागि त घोत्लिनुपर्छ । एकाग्र भएर अध्ययन गर्नुपर्छ । कडा मेहनत चाहिन्छ, अनि मात्रै स्तरीय सिर्जना जन्मिन्छ ।

तर नेपालमा चलचित्रलाई यसरी नै लिइन्छ त ? चलचित्र उद्योगलाई कतिले चमकदमक र रङ्गरौसको क्षेत्र सम्झिएको स्वयम् चलचित्रकर्मीहरु नै बताउँछन् । कतिपय त युरोप–अमेरिका जाने माध्यमका रुपमा १०/१२ जनाको लगानीमा चलचित्र बनाउने अनि भिसा लगाउने दाउतिर लागेका पाइन्छ । कति विदेशमा बसेर पैसा कमाएपछि नामका लागि मात्रै चलचित्र बनाउने पनि छन् । अनि अधिकांशचाहिँ चलचित्र भनेको विशुद्ध कला हो भन्ने यथार्थ नै नबुझी फगत् नाफाका लागि यो क्षेत्रमा पसेका छन् ।

अनि कसरी बन्छ राम्रो चलचित्र र खुल्छ ओस्करको ढोका ?

निश्चय नै ओस्करले आफूले बुझ्नेबाहेकको भाषामा बनिरहेका चलचित्रको अस्तित्व पनि स्वीकार गर्‍यो । सबटाइटल हेरेर बुझ्ने चलचित्रलाई पनि आत्मसात गर्‍यो । चलचित्र अडियोभन्दा पनि भिजुअल माध्यम हो भन्ने यथार्थलाई थप प्रमाणित गर्‍यो । त्यस अर्थमा नेपाली चलचित्रका लागि ओस्करको ढोका बन्द नभएको निर्देशक नरेशकुमार केसी बताउँछन् । “फरेन ल्याङ्ग्वेजका चलचित्रले इतिहासमा पहिलोपटक ओस्कर अवार्ड जित्यो, त्यो अर्थमा नेपाली चलचित्र पनि ओस्करको दाबेदार हो,” नरेश भन्छन्, “तर हाम्रा चलचित्रको क्वालिटी हेर्दा त्यति टाढाको सपना आजै देख्नु मुर्खतासिवाय केही होइन ।”

अरु अन्तरराष्ट्रिय फिल्म फेस्टिभलहरु कान्स, भेनिस, बर्लिनलगायतमा पुग्नु पनि अहिले नेपाली चलचित्र उद्योगका लागि ठूलो उपलब्धि भएको उनी बताउँछन् । “अहिले हामी कान्स, भेनिस, बर्लिनजस्ता फेस्टिभलमै पुुग्न सकेका छैनौं । यी फेस्टिभलमा पुग्नु नै हाम्रा लागि ठूलो चुनौती हो,” उनी भन्छन्, “यी फेस्टिभलमा पुगेर जित्न सके हामी सन्तुष्ट भए हुन्छ । ओस्कर त अहिले नेपाली चलचित्रका लागि लामो रेसको कुरा हो ।”

ओस्करको फरेन ल्याङ्ग्वेज अन्तर्गत टप ४० सम्म पनि पुग्न नसकेको अवस्थामा नेपाली चलचित्रले ओस्कर अवार्डकै सपना नदेख्नु व्यावहारिक हुने उनको धारणा छ । ओस्करका लागि सिफारिस भएका नेपाली चलचित्र फरेन ल्याङ्ग्वेजको नोमिनेसनमा पनि पर्न सकेका छैनन् ।

० ० ०

चलचित्र ‘प्यारासाइट’ कोरियाका धनी र गरिबबीचको खाडल र त्यसले सिर्जना अवस्थाबारेको कथा हो । यो कोरियाको मात्रै होइन, विश्वका सातवटै महादेशको कथा हो । नेपाल चलचित्रको कथा र लोकेसनका लागि ‘भर्जिन ल्यान्ड’ हो । यहाँ पाइला–पाइलामा विश्वलाई चकित पार्ने कथा रहेको, तर त्यसलाई पर्दामा देखाउन नसकिएको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् ।

“नेपाली कलाकारमा कामप्रतिको डेडिकेसन नै छैन । त्योभन्दा पनि महत्वपूर्ण पक्ष त प्रोडक्सन भ्याल्यु छैन । यहाँ बजेट अभावका कारण आफूलाई चित्त नबुझेको सट रि–सुट गर्न त सकिँदैन ! ओस्कर त परको कुरा हो नि,” दीपेन्द्र भन्छन्, “प्रोडक्सन डिजाइन नै कमजोर भएपछि कसरी बन्छ राम्रो चलचित्र ? यहाँ झुक्याएर, मागेर सुटिङ गर्नुपर्छ अनि कसरी आउँछ सट र सिनमा क्वालिटी ? स्टुडियो छैन । बजेटका कारण लामो सुटिङ डेज छैन । कसरी बन्छ नेपालमा प्यारासाइट जस्तो चलचित्र ?”

कलाकारमा डेडिकेसन, निर्देशकमा क्षमता, लोभलाग्दो युनिभर्सल कथा भए पनि ‘नोटिस’ गराउने चलचित्र बजेटकै कारण बनाउन नसकिने उनको भनाइ छ । “मैले बनाउँछु भनेको हिँडेर अमेरिका जाने चलचित्र पैसाको अभावमा बनाउन सकेको छैन । यो युनिभर्सल विषय हो, राम्रो चलचित्र बनाउन सके कसले मन पराउँदैन होला ?” उनी भन्छन्, “देशको सम्पन्नता र सरकारले चलचित्र क्षेत्रलाई गर्ने व्यवहार तथा सहयोगले पनि यसमा अर्थ राख्छ । कोरियाले त्यहाँको चलचित्रमा अथाह लगानी गरेको छ । फिल्म एकेडेमी खोलेको छ । फिल्म फेस्टिभल आयोजना गरेको छ । तर नेपालमा खोइ त्यो वातावरण ?”

ओस्करमा पुग्ने क्वालिटीका चलचित्र नेपालमा बनेका छैनन् । यद्यपि, राम्रो चलचित्र बने पनि ‘नोटिस’ गराउन सहज नरहेको दीपेन्द्र बताउँछन् । ओस्करका भोटर र जुरीसामु नोटिस गराउन क्याम्पेनका लागि खर्चिनु पर्ने महँगो रकम धेरैले तिर्न सक्तैनन् । ओस्करका लागि भोटरसामु चलचित्र नोटिस गराउन विदेशी लगानीकर्ता नै चाहिने दीपेन्द्रको भनाइ छ । सम्पन्न राष्ट्र र ठूलो प्रोडक्सन भ्याल्यु नभएसम्म ओस्कर अथवा भेनिस, बर्लिन, कान्सजस्ता फेस्टिभलमा पनि ‘नोटिस’ गराउन कठिन हुने उनी बताउँछन् ।

छेउमै बलिउड सम्पन्न र शक्तिशाली भइसक्दा पनि नेपाली चलचित्र भने एसियामै कमजोर छ । नेपाल भाषा, संस्कृति, भूगोल, कला, साहित्य अथवा कथामा धनी भए पनि प्रोडक्सन भ्याल्युका कारण कमजोर अवस्था छ ।

० ० ०

ओस्कर अवार्ड सन् १९२७ मा स्थापना भएर दुईवर्षपछि १९२९ देखि वितरण सुरु गरिएको थियो । एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्सले यो अवार्ड हरेक वर्ष दिँदै आएको छ । चलचित्र जगत्मा सर्वोच्च मानिने यो अवार्ड हरेक वर्ष उत्कृष्ट चलचित्र, निर्देशक, निर्माता, कथा, पटकथा, नायक, नायिकालगायत २४ विधामा प्रदान गरिन्छ ।

ओस्करमा हलिउडबाहेक बाँकी देशका लागि ‘बेस्ट फरेन ल्याङ्ग्वेज’ विधा छुट्याइएको हुन्छ । गैरअङ्ग्रेजी भाषी विदेशी चलचित्रमा अङ्ग्रेजी सबटाइटलसहित कम्तीमा सात दिन अमेरिकाको कुनै व्यावसायिक हलमा चलेको हुनुपर्छ । उक्त चलचित्रलाई मुख्य विधामा पनि समावेश गरिन्छ । यो वर्ष कोरियाली चलचित्र ‘प्यारासाइट’लाई राखिएको थियो । ओस्करको बेस्ट फरेन ल्याङ्ग्वेज क्याटगोरीमा एउटा देशबाट एउटामात्र चलचित्रले सहभागिता जनाउन पाउँछ ।

ओस्कर मनोरञ्जन क्षेत्रका पुराना चार अवार्डमध्येको एक हो । टेलिभिजनका लागि एमी अवार्ड, थिएटरका लागि टोनी अवार्ड र सङ्गीतका लागि ग्रामी अवार्ड अन्य ठूला अवार्ड हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *