बैशाख १ मा ‘नाईं नभन्नू ल ६’, ‘भगवत् गीता’सँग भिडन्त निश्चित

बैशाख १ मा ‘नाईं नभन्नू ल ६’, ‘भगवत् गीता’सँग भिडन्त निश्चित

मनोरञ्जन

Sharing is caring!

आगामी नयाँ वर्षमा नेपाली फिल्मबीच ठूलो भिडन्त हुने देखिएको छ । झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’ले आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति तोकिसकेको अवस्थामा अब यो मितिमा छायांकनरत फिल्म ‘नाईं नभन्नू ल ६’ पनि प्रदर्शन हुने निश्चित भएको छ । निर्देशक तथा निर्माता विकासराज आचार्यले बैशाख १ गतेदेखि फिल्म रिलिज हुने जानकारी दिए ।

फिल्मको छायांकनका लागि यतिबेला विर्तामोडमा रहेका आचार्यले भने- ‘मंसिरभित्र फिल्मको छायांकन सकिनेछ । त्यसपछि पोष्ट प्रोडक्सनको काम सुरु हुन्छ । पोष्ट प्रोडक्सन र प्रचारलाई चाहिने समय हेरेर नै बैशाख १ गतेबाट फिल्म प्रदर्शन गर्न लागेका हौं ।’ चाँडै प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक गर्ने उनको तयारी छ । अबको १५ दिन पूर्वका विभिन्न ठाउँमा फिल्म छायांकन हुनेछ ।

बाल प्रेमकथामा निर्माण हुँदै आएको ‘नाईं नभन्नू ल’का अघिल्ला पाँचवटै श्रृंखला बक्सअफिसमा सफल छन् । छैठौं श्रृंखलाले पनि व्यवसायिक सफलता हासिल गर्नेमा दुईमत छैन । यो अवस्थामा ‘भगवत् गीता’लाई ‘नाईं नभन्नू ल ६’सँगको भिडन्त सहज हुने देखिन्न । बैशाख १ गते अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत फिल्म ‘जारी’ पनि प्रदर्शनमा आउने चर्चा छ ।

आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेको ‘नाईं नभन्नू ल ६’मा आँचल शर्मा, आर्शिवाद क्षेत्री, योगिशा खत्री, अर्थव उप्रेतीलगायतको अभिनय छ । अर्थव, निखिल उप्रेती र सञ्चिता लुईटेलका छोरा हुन् । उनले यही फिल्मबाट कलाकारको रुपमा डेब्यू गरेका हुन् । उनका कारण पनि यो फिल्म प्रतिक्षीत छ । फिल्ममा अनुभव रेग्मी केमियो भूमिकामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *