आर्यनको एक्सन र रोमान्टिक अवतार

आर्यनको एक्सन र रोमान्टिक अवतार

मनोरञ्जन

Sharing is caring!

पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । बिहीवार यूट्युब रिलिज भएको १ मिनेट १५ सेकेन्डको टिजर ‘पावरफुल’ छ । लभ, एक्सन, सस्पेन्स र थ्रिलर पक्षको समिश्रण रहेको टिजरमा अभिनेता आर्यन सिग्देल बदला भावमा प्रस्तुत छन् । उनको एक्सनले साउथ शैलीको झल्को दिन्छ । उनलाई रोमान्टिक मूडमा पनि देख्न सकिन्छ ।

त्यस्तै, नर्सको भूमिकामा रहेकी अभिनेत्री उपासना सिंह ठकुरीको चरित्रले सस्पेन्स पैदा गर्छ । फिल्मको मूल कथा उनमै केन्द्रित रहेको टिजरबाट आँकलन गर्न सकिन्छ । एक्सन र लभस्टोरीका पारखीलाई ‘डिसेम्बर फल्स’ले आकर्षित गर्न सक्ने छनक टिजरले देखाएको छ । फर्स्टलुक पोस्टरले नै आशा जगाएको यो फिल्ममा आर्यन र उपासनाले पहिलो पटक एकसाथ काम गरेका हुन् ।

भारतीय मुलका प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो । यस फिल्ममा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतको पनि अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको दृश्य सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *