मुम्बई, साउथ अभिनेत्री सामन्था रुथ प्रभु हालका दिनमा अस्वस्थताका कारण अभिनयमा धेरै सक्रिय छैनन् । मायोसिटिस नामक रोगबाट पीडित उनी अब चाँडै नै लामो ब्रेक लिने तयारीमा छिन् । अस्वस्थताकै कारण उनले हालै रिलिज आफ्नो फिल्म ‘यशोदा’को पनि प्रचारप्रसार गर्न पाइनन् ।
सामन्था पूर्ण रुपमा स्वस्थ नभएसम्म अभिनयबाट ब्रेक लिने योजना बनाइरहेकी छन् । हिन्दी डब डेब्यू फिल्म ‘द फेमिली मेन २’को सफलता पछि उनले धेरै बलिउड फिल्ममा हस्ताक्षर गरेकी थिइन् । तर स्वास्थ्यका कारण सामन्थाले समय नदिने भएपछि निर्माताले सामन्थाको विकल्प खोज्न थालेका छन् ।
सामन्था अहिले विजय देवरकोण्डा अभिनित फिल्म ‘कुशी’को सुटिङ पुरा गर्ने तयारीमा छिन् । यो फिल्मको काम पूरा गरेपछि उनी केही समयका लागि फिल्मबाट टाढिने छिन् । यो फिल्मबाहेक अन्य फिल्मका लागि भने उनले तत्काल असम्भव भनेपछि निर्माताले विकल्प खोज्न थालिसकेका छन् ।
गत अक्टोबरमा सामन्थाले आफ्नो रोगको बारेमा जानकारी दिँदै केही समयदेखि रोगको उपचार गरिरहेको खुलासा गरेकी थिइन् । उनले उपचार जारी भए पनि रिकभरीको समय निकै कम रहेको बताएकी थिइन् । उनी उपचारमा आयुर्वेद पद्धति अपनाइरहेकी छिन् ।
साथै, ओरमेक्स स्टार इन्डिया लभ्सले सन् २०२२ को मे महिनासम्म गरेको अध्ययनमा समान्था भारतको लोकप्रिय अभिनेत्री बनेकी हुन् । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी हुन् ।
उनले कैटरिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा पारेकी हुन् ।