काठमाडौं । अभिनेता पल शाह निर्दोष भएसँगै अभियान्ता एवं राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बधाई दिएका छन् । उनका बधाईका शब्दमा केही घण्टामा नै हज्जारौ लाईकको ओइरो लागेको छ । ज्ञानेन्द्रले लेखेका छन्- आज पल शाहलाई तनहुँ जिल्ला अदालतले निर्दोष साबित गरेको छ । आज अत्यन्तै खुशी भएको छु। एउटा न्यायको लडाई जित्नु भएको छ । हार्दिक बधाई तथा शुभकामना !
अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ- नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । बालिका बालात्कर अभियोगमा निर्दोष साबित भएका हुन् ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
“तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ”, उहाँले भन्नुभयो, “फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।” अभिनेता शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा पटकपटक तोकिएर स्थगित हुँदै आएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइमा आज वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गर्नुभएको थियो ।