‘द कश्मीर फाइल्स’पछि प्रधानमन्त्री मोदी यसरी फिल्मको प्रशंसामा उत्रिएका हुन् । सुन्दर तथा द्वन्द्वग्रस्त कश्मीरको राजधानी श्रीनगरमा दशकौंपछि फिल्म हलहरु हाउसफुल भएको मिडिया विवरण आएका थिए ।
पठानको कथावस्तु पनि मोदीले भारतीय संविधानको धारा ३७० खारेज गरेको कथावस्तुबाट सुरु हुन्छ । यो धारा खारेज भएपछि पाकिस्तानले भारतीय अधिनस्थ भूमि कश्मीरलाई फिर्ता ल्याउन चाल्ने बदलाको कथा भन्छ । प्रधानमन्त्री मोदीले चाहिं उक्त धारा खारेज गरेपछि कश्मीरमा शान्ति बहाली हुने बताएका थिए ।
यशराज ब्यानर अन्तर्गत आदित्य चोपडाले निर्माण गरेको पठानमा शाहरुखले प्रमुख भूमिका निर्वाह गरेका छन् । दीपिका पादुकोणले महिला चरित्रतर्फ मुख्य भूमिका गरेकी छन् । उनी डा. रुबिना मोहसिनको भूमिकामा थिइन् । जोन अब्राहम खलपात्र जिमको रूपमा देखिए ।
निर्देशक सिद्धार्थ आनन्द र शाहरुखले पहिले नै निकट भविष्यमा पठानको सिक्वेल बनाउने बताएका थिए । फिल्मको सफलताको लागि निर्देशक सिद्धार्थ र निर्माता आदित्य चोपडालाई श्रेय दिएका किङ खानले जरुरी परेको बेला आफू सिक्वेलका लागि उपस्थित हुने बताएका छन् ।
उनले ‘पठान २’ सबै पक्षमा ठूलो र उत्कृष्ट हुने बताइसकेका छन् । पठानले भारत र पाकिस्तानबीचको दुस्मनीको कथा भन्छ । नेपालमा फिल्मले पहिलो साता ६ करोड ग्रस कलेक्सन गरेको थियो ।