मिस नेपाल निकिता विराजसँगै ‘साङ्लो’ मा

मनोरञ्जन

Sharing is caring!

सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले अभिनेता विराज भट्टद्वारा निर्देशित फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । सुरुमा उनी यो फिल्म नगर्ने सोचमा भएतापनि स्क्रिप्ट सुनेपछि उनले नकार्न सकिनन् । केही समय अभिनय सिकेपछि नयाँ फिल्म गर्ने मनस्थितिमा रहँदा उनलाई अभिनेता विराजले ‘साङ्लो’ अफर गरेका थिए ।

यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा उनको जोडी अभिनेता विराजसँग बाँधिएको छ । फिल्मको ‘चरीले काफल टिप्यो’ बोलको गीतमा उनको नृत्य, हाउभाउ र एक्सप्रेसनलाई दर्शकले मन पराएका छन् । अब, फिल्ममा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता धेरैमा छ ।

‘साङ्लो’ डेब्यू फिल्म भएका कारण यसको व्यापारले निकिताको आगामी यात्रामा ठूलो अर्थ राख्नेछ । त्यसैले पनि फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनले प्रमोशनमा अभिनेता विराजलाई राम्रो साथ दिइरहेकी छन् । अहिले देशभित्र भइरहेका विभिन्न महोत्सवहरुमा फिल्मको प्रचार गर्न उनीहरु सँगै पुग्ने गरेका छन् । हालै यी दुई कैलालीको एक महोत्सवमा पुगेका थिए ।

‘चरीले काफल’ गीत हिट भएपछि केही दिनअघि फिल्मको नयाँ गीतको छायांकन गरिएको छ । गीतमा विराज र निकिताले डान्स गरेका छन् । काठमाडौंमा खिचिएको गीतको केही अचल तस्विरहरु निर्माण टिमले सार्वजनिक गरेको हो ।

डान्सिङ नम्बरको यो गीतबाट निर्माण पक्षले ठूलो आश बोकेको छ । जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको पनि फिल्ममा अभिनय देख्न सकिन्छ । शिवम अधिकारीको लेखनमा रहेको फिल्ममा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

यो फिल्मभन्दा अगाडि निकिता ‘रानीमहल’ मा अनुबन्ध भएकी थिइन् । तर, निर्माता र निर्देशकबीच लफडा भएपछि फिल्मको आधा छायांकन पनि नसकिँदै रोकियो । अब, यो फिल्म नबन्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *