पारसलाई बकस, आस्थालाई दकस

मनोरञ्जन

Sharing is caring!

काठमान्डौ , भदौ २ गते पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हा’तपात गरे। पूर्व बडामहारानी कोमल नातिनातिनासहित थाइल्यान्ड जाने तयारी गर्दैरहँदा पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक ईश्वर खत्रीमाथि हातपात गरेका थिए। उनले खत्रीलाई धकेलाधकेल मात्र गरेनन्, बारम्बार कुट्न झम्टिएका पनि थिए। यो दृश्य तत्कालै सामाजिक सञ्जालमा छताछुल्ल भयो। पारसको भनाइ थियो, छोरा र भाञ्जामाथि ‘अपमान’ गर्ने ?सामाजिक सञ्जालमा भाइरल भएपछि पारसमाथि प्रहरी कार्बाही अघि बढाउनुपर्ने, प्रक्राउ पुर्जी जारी गर्नुपर्ने आवाज उठ्न थाल्यो तर विमानस्थल प्रशासन तथा प्रहरीका उच्च अधिकारीले पारसविरुद्ध उजुरी गर्नेतर्फ कुनै चासो दिएनन्।

सामाजिक सञ्जालमा विरोधको पारो बढ्दै गएपछि पारसले जवाफ दिँदै भनेका थिए, आफ्नो छोरा र भाञ्जामाथि प्रहरीले डण्डा बर्साएकाले सहन नसकी जाई लागेको हुँ।’पारसले सार्वजनिक रुपमा यसरी स्वीकार गर्दा पनि उनीमाथि कार्बाहीको प्रक्रिया अघि बढेन, कसैको हिम्मत उनलाई पक्राउ पुर्जी जारी गर्ने भएन।ठीक यही प्रकृतिको घटना यतिबेला सर्वत्र चर्चा छ। गएको बिहीबार भारतको सिक्किममा कन्सर्टका लागि भद्रपुर उड्न लागेकी आस्था राउतले ड्युटीमा रहेकी प्रहरी महिला रमिता श्रेष्ठलाई औँला ठड्याएको र अभद्र व्यवहार गरेको आरोपमा प्रहरी यति सक्रिय भयो कि उनीविरुद्ध पक्राउ पुर्जी जारी ग-यो। कुरा यत्तिमै सीमित भएन। प्रहरीले उनलाई फरार कोटीमा पनि राख्यो । सामाजिक सञ्जालमा सक्रिय रहेकी उनले तत्कालै ट्वीटरमार्फत् आफूले सो घटनामा अपशब्द बोलेकामा माफीसमेत मागिसकेकी छन् । यस प्रकरणले एक साथ प्रहरी र सेलिब्रिटी दुवैका कमजोरीहरु छताछुल्ल भएका छन् ।

प्रहरीको मुस्कानसहितको सेवा नारामा सीमित भएको देखाएको छ भने सेलिब्रिटीहरु पनि शुरुमा प्रतिक्रिया जनाइहाल्ने र त्यसपछि गुनासो–माफीका शृंखला चलाएर अज्ञानता प्रदर्शन गर्ने गरेका छन्। विमानस्थलमा रहेको सिसिटिभी भिडियो फुटेज हेर्दा आस्था सरासर आएकी देखिन्छिन्। उनले एक्स–रेमा झोला राख्छिन्। उनको हातमा कफी देखिन्छ। उनी हातमा कफी बोकेर गेटबाट भित्र पस्न खोज्छिन्। महिला प्रहरीले तिनलाई रोक्न खोज्छिन्। उनले कफी लिएर भित्र छिर्न अनुमति नदिएझैँ देखिन्छ। यहाँनेर प्रहरीले उनको हातबाट कफी लिएर छेउमा राखिदिन्छिन्। बाक्लो ज्याकेट लगाएकी आस्थालाई प्रहरीले ज्याकेट खोल्न अनुरोध गरेको देखिन्छ। उनी ज्योकट खोलेर पुनः भित्र आउँछिन्। ज्याकेटलाई जाँच गर्न राखेपछि प्रहरीले उनलाई कुनामा लैजान्छिन्।त्यहाँ जाँच गरेपछि आस्था जान खोज्छिन् तर आस्थाले बोकेर ल्याएको कफी ती महिला प्रहरीले उनैलाई थमाउन खोज्छिन् आस्था लिन मान्दिनन्। कफीलाई प्रहरीले टेबलमा राखिदिन्छिन्। त्यही बेलामा दुई जनाबीच भनाभन भएको देखिन्छ। आस्थाले कफी पर सार्न खोजेको देखिन्छ। महिला प्रहरीले उनीतिर कफी सार्छिन्। यसरी दुईबीचको दोहोरीले कफी पोखिन्छ।

यहीँनेर आस्थाको भनाइ छ, ‘ममाथि दुर्व्यवहार भयो। उनले मलाई तँ सम्बोधन गरिन्।’ यस घटनामा वादविवाद देख्ने प्रत्यक्षदर्शी सुमन देउजाले गायिका आस्थाको धैर्यता र शालिनता नदेखिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत देउजाले सो घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएपछि यसबारे बोल्न आफूमाथि दबाब आएको बताएका छन्। देउजाले आस्थाले नियम मान्नुपर्ने तर नमानेको बताएका छन्। उनले लेखेका छन्, ‘महिला प्रहरी रमिताले आस्थालाई ज्याकेट चेक गर्नुपर्छ खोल्नुस् भनेर आग्रह गरेपछि आस्थाले आफ्नो फ्लाइट छुट्न लागेको भन्दै हतारो देखाइन्।’ हतार हुने भए चाँडै आउनु पर्ने महिला प्रहरीले बताएकी हुन्। त्यसपछि आस्थाले ज्याकेट खोलेर चेक गर्ने मेसिनमा राखिन्। ज्याकेट चेक गरेर फर्केकी आस्थालाई उनको कफी महिला प्रहरीले दिइन्। उनले लिन नमान्दा टेबुलमा कफी पोखियो। तत्पश्चात् टेबुलमा पोखिएको कफी पुछ्न र डस्टबिनमा फ्याल्न महिला प्रहरीले आस्थालाई भनिन्, आस्थाले मानिनन्।’खासमा आस्थालाई शुरुमै प्रहरी महिलाले तँ सम्बोधन गरेको कुरामा रिस उठिरहेको थियो। त्यसैले उनले पोखिएको कफी सफा गर्न र डस्टबिनमा हाल्न तयार भइनन्। उनले यो रिस प्लेनबाट ओर्लनेबित्तिकै पोखिन्।

उनले जारी गरेको पहिलो भिडियोमा प्रहरीको व्यवहार ठीक नभएको आक्रोश पोखिन्।आस्थाले यस घटनामा आफ्नो कुनै गल्ती नभएको स्पष्ट पारेकी छन्। उनले प्रहरीको व्यवहार असहनीय भएकाले लाइभ गरेर आफ्नो तुष पोखेको बताएकी छन्।तुष पोख्दा बढी बोलेकोमा भने उनलाई पछुतो लागेको छ। उनले पछिल्लो पटक जारी गरेको भिडियोमा आफ्नो आशय सबैलाई आक्षेप लगाउनु नभई प्रवृत्तिविरुद्ध बोलेको बताएकी छन्।उनले यस कार्यबाट कसैको चित्त दुखेको भए आफूले माफीसमेत माग्ने बताएकी छन्।सामान्यतः परिस्थितिलाई कसरी सम्हाल्ने भन्ने विषयमा नेपालका सेलिब्रिटीहरुलाई ज्ञान नहुँदा शुरुमा बोल्ने र पछि पछुताउने एउटा रोग नै छ। मिस नेपाल शृंखला खतिवडाले नेपाल लिटरेचर फेस्टिभलमा आफूमाथि बाल्यकालमा यौन दुर्व्यवहार भएको बताएकी थिइन्। सो समाचार प्रकाशन भइसकेपछि आफूले सो कुरा नबताएको भन्दै समाचारको खण्डन गरेकी थिइन्।सार्वजनिक रुपमा बोल्दा ख्याल नगर्ने र सोही कुरा समाचारका रुपमा आएपछि सामाजिक सञ्जालमा मिडियामाथि नै खेदो खनेकी थिइन्। श्रृंखला मात्र होइन, यस्तो काम मिडियामा प्रायः भइरहेकै हुन्छन् र पछिल्लो उदाहरण आस्था बन्न पुगेकी छन्। सुक्रबार बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *