जेल एक सानो संसार, जहाँ देखिन्छ मानवताकाे अनुपम द‍ृश्य

जेल : एक सानो संसार, जहाँ देखिन्छ मानवताकाे अनुपम द‍ृश्य

मनोरञ्जन

Sharing is caring!

  • दीपेन आचार्य

कारागार अर्थात ‘जेल’ लाई सामान्यतया ‘अपराधी थुन्ने खोर’ को रुपमा लिने गरेको पाइन्छ । तर वास्तवमा सिक्न चाहनेहरुका लागि अथाह ज्ञान पाइने विश्वविद्यालय हो । यहाँ आउने कैदीहरु काेही पनि जन्मजातै अपराधी होइनन् । केही अपवादलाई छाडेर कसैले पनि रहरले अपराध गर्दैन ।

काेही विभिन्न कारणले अति भएपछि बाध्यताले अपराध गर्न पुग्छ । काेही अञ्जानवस भएको गल्तीको सजाय काट्न कारागार आइपुग्छ भने काेही आधुनिक जमानाका प्रविधिलाई सही तरिकाले प्रयोग गर्ने विधि थाहा नभएर कानुनको फन्दामा पर्छ भने काेही चाहिँ खराब संगतका कारण अपराधी बन्न पुग्छ । त्यसैगरी अरुद्वारा फसाइएर त्यस आपराधिक घटनाबारे जान्दै नजानेको सुन्दै नसुनेको व्यक्ति पनि कारागार पुग्ने गरेको पाइन्छ ।

एकाध अपवादलाई छाडेर प्राय कारागारमा थुनिएका व्यक्तिहरु पश्चात्तापको सागरमा डुबेका हुन्छन् । उनीहरुमा त्यतिबेला सकारात्मकताले यति बलियोसँग डेरा जमाएको हुन्छ कि त्यहाँबाट निस्कनासाथ पुराना गल्तीहरुलाई सुधारेर नया जीवनको सुरुआत गरी समाज र राष्ट्रमा दिनप्रतिदिन बढिरहेको अपराध र विसंगतिलाई हटाई एक सभ्य, सुसंस्कृत एवम समुन्नत राष्ट्र निर्माण गर्ने अपुरो सपना देख्न थाल्छ ।

समाजका एकथरी विद्वानहरु कारागारमा कैदी जीवन बिताइरहेका व्यक्तिलाई मान्छे पनि गन्न तयार हुँदैनन् । कैदीहरु समाजका कलङ्क हुन्, उनीहरुलाई सित्तैँमा खुवाएर पालेर सरकारी ढुकुटी रित्याउनुभन्दा उनीहरुलाई दैनिक काममा पेलाएर मानसिक र शारीरिक यातना दिनुपर्छ भन्ने मत राख्ने समाजका एकथरी अगुवाहरुको विचार रहेको पाइन्छ ।

उनीहरु एकचोटि पनि ‘मलाई पनि यस्तै दिन पो आउने हो कि’ भनेर कहिल्यै सोच्दैनन् । उनीहरु कैदी भन्नासाथ ऊ एकदमै ठूलो अपराधी हो, उसको जीवनमा अपराधसिवाय केही छैन भन्ने सोच राख्छन्, जुन सोच ती मानिसहरुको सोचाइको ‘निकृष्टता’ सिवाय केही होइन ।

एक अपराधी अपराधीभन्दा पहिले एक मानव हो । विवेक र बुद्धि भएको एक सामाजिक प्राणी हो । समाजमा अरु व्यक्तिको जति महत्व छ उसको पनि त्यति नै महत्व छ । उसले एउटा गल्ती गरेर जेल जीवन बिताउँदैमा उसको मानवीय गुण नष्ट भएर जाँदैन । त्यसैले उसले मानव भएको नाताले हरहालतमा मानवीय व्यवहार पाउनुपर्दछ । मानवीय गुण भएको एक प्राणीलाई मानवीय व्यवहार नगर्नु पनि एक अपराध नै हो ।

कैदी जीवन बिताइरहेको व्यक्तिलाई अनावश्यक यातना दिनाले उसमा झन ठूलो आपराधिक व्यक्तित्व जन्मन सक्छ, जुन समाज र राष्ट्रका निम्ति अत्यन्तै घातक बन्न पुग्छ । त्यसैले कैदीघरलाई यातनागृहभन्दा पनि सुधारगृहका रुपमा विकास गर्नु उचित हुन्छ ।

जेललाई सामान्यतया एक छुट्टै संसारको रुपमा लिन पनि सकिन्छ । जुन संसारमा जीवन बिताउने मौका केही व्यक्तिले मात्र पाउँछन् । यसरी जेललाई एक भित्री संसारको रुपमा लिने हो भने यो विश्व ब्रह्माण्डमा जम्मा २ ओटा संसार हुन आउछन् । यसरी जेललाई ‘सानो संसार’ अनि बाहिरी दुनियालाई ‘बाहिरी संसार’ को संज्ञा दिन सकिन्छ ।

किनभने यहाँ पनि एउटा समाज छ । सामाजिकता छ । एकआपसमा मेलमिलाप छ । ऐक्यबद्धता छ । सुखदुःखका कुरा साटासाट गर्ने दौँतरी छन्, गाह्रो साह्रो पर्दा सहयोग गर्ने सहयोगी हातहरु छन् । त्यसैकारणले जेललाई सजिलैसँग ‘सानो संसार’ अर्थात भित्री संंसारका रुपमा लिन सकिन्छ ।

यो भित्री संसार (जेल) आकारका हिसाबले ज्यादै सानो देखिए पनि मानवता र सामाजिकताका हिसाबले अत्यन्तै ठूलो र उदार हृदयको छ । यहाँ जति मानवता छ त्यति मानवता बाहिरी संसारमा कतै देख्न पाइन्न ।

बाहिरी संसारमा प्रविधिको विकास र जनतामा चेतनाको स्तर बढेको भए पनि अझै वर्गभेद, जातीय भेद, रंगभेद, धर्म भेद आदि थुप्रै कुरीतिहरु रहेको पाइन्छ । छाउपडी प्रथा, कुमारी प्रथा, दास प्रथा जस्ता सोच्दै घीनलाग्दा कुरीतिहरु पनि देख्न पाइन्छ बाहिरी संसारमा ।

समाजका ठुलाठाला र अगुवा मानिने व्यक्तिहरु पनि यस्ता कुरीतिहरुलाई गम्ल्याङ्ग अङ्गालो हालेर बसेको देख्न पाइन्छ । दिनभरी महिलाका हक हित र अधिकारका बारेमा भाषण गरेर कहिल्यै नथाक्ने समाजका अगुवाहरु घरमा श्रीमतीलाई दिनुसम्मको शारीरिक र मानसिक यातना दिइरहेका हुन्छन् । श्रीमतीहरुको इच्छाविपरीत शारिरीक सम्बन्ध राख्ने व्यक्तिहरुको अग्रपंक्तिमा समाजका अगुवाहरु नै आउँछन् ।

बालश्रमको उन्मूलनको चर्को भाषण गरेर सिधा जनतालाई भुल्याई भोट माग्ने नेताको घरम भाँडा माझ्नेदेखि लिएर लुगा धुने, ट्वाइलेट सफा गर्ने लगायतका घरायसी काम गर्ने कामदार १५ वर्षभन्दा मुनिका बालबालिका रहेका हुन्छन् । चेलिबेटी बेचबिखन विरुद्ध सशक्त अभियान चाल्ने संस्थाका हाकिमका ओछ्यानमा दिनहुंँ फरकफरक युवतीहरु सुत्न बाध्य हुन्छन् ।

भ्रष्टाचार अन्त्य गर्न मरिमेटेर लागिपरेको अभियन्ताले २ jर्षमा आलिसान बंगला खडा गर्छ । आफ्नो नोकरी छाडेर समाजसेवा गर्न तम्सिएको व्यक्ति २ वर्षमा महङ्गो कार चढ्ने हुन्छ । समाजका कुरिती मेटाउन लागिपरेका अभियन्ताकी श्रीमतीबाट धाराको पानी छोएको निहुँमा दलितहरु कुटिन्छन् । वर्ग संघर्षका कुरा गरेर कहिल्यै नथाक्ने समाजका अगुवाहरु चिल्लो कारमा चढेर बढ्दै गरेका गरिब र निमुखा जनताका सपनाहरुलाई कुल्चँदै अगाडि बढ्दछन् ।

सारा दुनियाँलाई आचारसंहिता र दर्शनका ज्ञान बाँढ्दै साकाहारी बन्न प्रेरित गर्ने अनि ‘मातृवत् परदारेषु’ भनेर सिकाउँदै हिँड्ने पण्डित बाजे बेलुकी भएपछि नजिकैको भट्टीमा कुखुराको साँप्रा र बियर खाँदै भट्टी साहुनीसँग लहसिँदै गरेका भेटिन्छन् ।

समाजका ठुलाठाला भनाउँदाहरुले गरिब र निमुखा जनतालाई आफ्नो जुत्ताको तलुवा जति पनि इज्जत गर्दैनन् । निहत्था जनता अझै पनि सम्भ्रान्त वर्गबाट शोषित र प्रताडित छन्। कानुनले कमैया प्रथा उन्मूलन गरेको वर्षौँ भए पनि ती सब कागजी व्यवस्थामा मात्र सीमित छन् । गरिब र धनीबीचको खाडल झनझन ठूलो हुँदै जाँदै छ ।

गरिबहरु झन् गरिब गरिब हुँदै जाँदै छन् भने धनी झनभन्दा झन धनी बन्दै जाँदै छन् । निमुखा जनता अझै पनि पेट भर्न ठुलाबडाकहाँ चाकरी गर्न बाध्य छन् । यसरी हेर्दा समाजका ठुलाबडाले ‘सभ्य समाज’ भनेर संज्ञा दिएको समाज यथार्थमा डङ्डङ्ती गह्नाउने काठमाडाैंको ढल मिसिएको वाग्मतीभन्दा पनि फोहोर र दुर्गन्धित छ ।

जहाँ एउटी नारीको सम्मान र इज्जत हुँदैन त्यो समाज के समाज ? जहाँ एउटा मान्छेले अर्को मान्छेको पिर मर्का बुझ्दैन त्यो समाज के समाज ?

जहाँ एउटा मान्छेले अर्को मान्छेको इज्जत गर्न जान्दैन त्यो समाज के समाज ? जहाँ मान्छे मान्छे बिचमा छुवाछुत र भेदभाव छ त्यो समाज के समाज ? जहाँ दिनभरी बडेमानको महलमा काम गरेर थकित बनेको मान्छे बेलुकी आधापेट खाएर चुहिने छानो टाल्दै रात कटाउँछ त्यो समाज के समाज ?

असली मानवीय गुणले युक्त समाज त जेलभित्र छ । यहाँ कुनै किसिमको वर्ग भेद छैन, कुनै किसिमको जातीय भेदभाव छैन, कुनै रङ्गभेद छैन, कुनै धार्मिक विभेद छैन । धनसम्पत्ति, मानसम्मान, जात धर्म लगायतको आडम्बरभन्दा धेरै पर हुन्छन् यो समाजभित्र रहेका व्यक्तिहरु ।

आपसी भाइचारा र मानवीय गुणहरुले भरिपुर्ण व्यक्तिहरु रहने ठाउंँ हो जेल । यहाँको मानिसले कुनै किसिमको अन्धविश्वास बोकेर हिँड्दैन, कुनै व्यक्तिमा सम्पत्तिको आडम्बर हुँदैन, कुनै व्यक्तिमा जातीय उच्चताको आडम्बर पाइँदैन । यहाँका प्रत्येक व्यक्तिको चेतनाको स्तर उच्च हुन्छ । बाहिरी संसारमा जस्तो यहाँ जातीय भेदभावको सानो झल्कोसमेत पाइन्न यहाँ ।

कामी दाइले पानी ओसार्छन्, दमाई दाइले खाना पकाउंँछन्, बाहुन दाइले खाना पस्कन्छन अनि सबैजना वरिपरि बसेर खाना खान्छन् । उनीहरुमा मानव जातिभन्दा अन्य कुनै जातीयताको ज्ञान छैन । हिन्दू, मुसलमान, क्रिश्चियन, बौद्ध, शिख, जैन सबै धर्मका मानिसहरुले एउटै भाँडोमा पकाएको भात एकै छानोमुनि खाएर एउटै छानोमुनि सुतेको दृष्य जेलबाहेक अन्त बिरलै देख्न पाइएला ।

फलानो मन्दिरमा फलानो ठाउँका मुसलमानले आक्रमण गरी मन्दिर ध्वस्त पारे । फलानो ठाउँका हिन्दूले फलानो चर्च भत्काई त्यहाँ मन्दिर खडा गरे । फलानो ठाउँमा हिन्दूहरुलाई पैसाको प्रलोभनमा पारेर क्रिश्चियन बनाए, फलानो ठाउँमा भएको धार्मिक युद्धमा सयौँको ज्यान गयो लगायतका बाहिरी संसारका समाचारहरु आइरहन्छन् । तर जेलमा यस्ता कुनै धार्मिक विभेदका कुराहरु देख्न सुन्न पाइन्न ।

एउटा हिन्दू साथी बिरामी हुँदा मुसलमान साथीले उपचार गर्न अस्पताल लैजान्छ, क्रिश्चियन साथीको खुट्टो भाँच्चिदा बुद्धिस्ट साथीले भित्रबाहिर गर्नका निम्ति साथ दिन्छ ।

बाहिरी समाजमा छिमेकीलाई आपत पर्दा ‘खुच्चिङ’ भनेर मजा मान्दै रमिता हेर्ने चलन देख्न पाइन्छ । उनीहरु अरुको दुःख देख्दा खुसी हुन्छन् ।  अरुको दुःखमा रमाउने आदत हुन्छ उनीहरुको । तर भित्री संसारमा (जेल) त्यसको ठीक विपरीत कसैलाई दुःख आपत आइपर्दा दुःखी बन्छ । कुनै एक जनालाई आपत परेमा सयौँ हातहरु सहयोगका निम्ति अगाडि बढ्छन् ।

जेलमा कसैको आफन्त हुंँदैनन् । नितान्त अपरिचित व्यक्तिहरु भेला भएर छुट्टै संसार बनाएका हुन्छन् । हिजो अस्तिसम्म चिन्दै नचिनेका व्यक्तिसँग यसरी मिलेर बस्न सक्नु नै कैदीहरुको उच्चतम मानवताको प्रमाण हो ।

यतिधेरै राम्रा र मानवीय गुण बोकेका व्यक्ति बस्ने ठाउँ हुँदाहुंँदै पनि जेल भनेको राम्रो ठाम भने पक्कै हुँदै होइन । प्रविधिको विकास, धन कमाउने होड र मान प्रतिष्ठाको तीव्र लडाइँले विश्व मानव जगतमै दुर्लभ बन्दै गएको मानवता, आपसी भाइचारा लगायत उच्च कोटीका गुणहरुले भरिपूर्ण भए पनि जेल भनेको आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुलाई सजाय दिनका निम्ति तयार गरिएको एक पिँजडा हो । यहाँ अपराधीहरुलाई सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गराएर चरालाई पिँजडामा थुनेझैँ थुनिएको हुन्छ । यहाँ बस्ने व्यक्तिले एउटा निश्चित क्षेत्रभित्र थुनिएर आफ्ना सम्पूर्ण सपना अनि इच्छा र चाहनाहरुलाई भुलेर जीवन बिताउनुपर्ने हुन्छ ।

एउटा चेतनशील र स्वतन्त्र प्राणी मानवलाई पिँजडाभित्र थुनिएर रहनु भनेको एकदमै पीडादायी र कष्टप्रद हुन्छ । आफ्नो परिवार, नातागोता, साथी भाइ सबैसँग टाढिएर एउटा बन्द कोठाभित्र थुनिएर पशुवत जीवन व्यतित गर्दै बस्ने कुराको कल्पना मात्र गर्दा पनि कहालीलाग्दो हुन्छ । घरमा बुढा भएका बाउआमा अनि काखे बालख छोराछोरीलाई छाडेर खोरभित्र थुनिँनुपर्दाको पीडा कल्पना बाहिरको कुरा हो ।

ससाना बालख छोराछोरीले घरमा ‘बाबा कहिले आउनुहुन्छ मामु’ भनेर सोध्दा ती कैदीकी श्रीमतीलाई हुने पीडालाई वर्णन गर्ने शब्द पनि सायदै शब्दकोशमा होलान् । ‘फलानाको छोरो त जेलमा छ अरे’ भन्दा ती बाउआमालाई पर्ने पीडाको वर्णन पनि कुन शब्दले गर्न सकिएला र खै?

कतिपय बालबालिकाका बाबुआमा नै जेल परेपछि बाबुआमा भएर पनि अनाथ बन्न पुगेका छन् भने पेटमा हुँदै बाबुआमा जेल परेपछि जेलमै जन्मिएर जन्मैदेखि जेल जीवन बिताउन बाध्य अबोध बालबालिकाको पीडा पनि कम छैन ।

जेलमै हुँदा बाबुआमा बितेपछि अन्तिम चोटी अनुहार हेर्न र अन्तिम संस्कार गर्न अनि आफन्तको सहानुभूति नपाएर आँशुका भल बगाउँदै आफ्नो भाग्यलाई धिक्कार्दै बस्ने छोराछोरीको पीडा कति हृदयविदारक र पीडादायक होला ? आफ्नै जन्म दिने बाबुआमाको मृत्युमा पनि खोरमा थुनिएर बस्नुपर्ने बाध्यताले कसको मुटु नचिरिएला र ?

जेलमा बस्ने मानिसमा प्रचुर मात्रामा मानवीय गुण र आपसी भाइचारा हुने भए पनि उनीहरुले समाजमा अपराध गरेर त्यसको फल भोग्न जेलमा आएका हुन् । उनीहरुले सानोठुलो जस्तो भए पनि अपराध गरेर समाज र राष्ट्रलाई हानी नोक्सानी पुर्‍याएका हुन्छन् । त्यसैले जेलभित्र आपसी भाइचारा र सभ्य समाजको स्थापना गरे पनि उनीहरुलाई सर्वैसर्वा भन्न मिल्दैन ।

तर जेल जीवन बिताइरहेका कैदीहरुले सुरु गरेको छुवाछूतरहित समाज, वर्गभेदरहित समाज, धार्मिक विभेदरहित समाज, रङ्गभेदरहित समाजलाई भने सारा राष्ट्रभर र सारा संसारभर फैलाउन जरुरी छ ।

जसरी जेलभित्र हिन्दू, बौद्ध, मुसलमान, क्रिश्चियन, कामी, दमाई, सार्की, बाहुन, क्षेत्री केही नभनी केवल मानव भएको नाताले अर्को मानवको सम्मान गरिन्छ त्यसरी नै सारा देशभरी व्याप्त रहेको जातीय विभेद, धार्मिक विभेद, वर्गीय विभेद, समाजमा विद्यमान कुरीति, अन्धविश्वास आदिलाई त्यागेर सम्पूर्ण मानवहरुले विश्वबन्धुत्व निर्माणको महाअभियानको कार्यमा होमिन जरुरी छ ।

जसरी जेलभित्र १ जनालाई दुःख पर्दा अरुले रमिता नहेरी तत्काल सहयोगका निम्ति हात बढाइन्छ त्यसरी नै बाहिरी संसारमा पनि कसैलाई दुख पर्दा सबैले सहयोग गर्ने हो भने विश्वमा कसैले कहिल्यै दुःखी हुनै पर्दैन ।

साथै यसरी सबैजना मिलेर हातमा हात काँधमा काँध मिलाउदै अगाडि बढ्ने हो भने स्वत: समाज सुसंस्कृत र विकसित अनि समुन्नत बन्ने छ । हुने खाने र हुँदा खानेबीचको खाडल हट्ने छ र पेट भर्नकै निम्ति अपराध गर्नुपर्ने बाध्यता हटेर जाने छ ।

बिस्तारै समाजमा अपराध गर्नेको संख्या घटेर शून्यमा आउँछ अनि अपराधरहित समाजको स्थापना भएपछि स्वतन्त्र प्राणी मानवलाई थुन्ने जेलको ढोका सदाका निम्ति बन्द हुने छन् ।

त्यसपछि कुनै छोराछोरीले बाबु हुँदाहुँदै अनाथ बन्नुपर्दैन । कुनै श्रीमतीले रुँदै जेलमा खाना लिएर श्रीमानलाई भेट्न जानुपर्ने छैन । कुनै पनि छोराछोरीले आफ्ना जन्मदिने बाबुआमाको मृत्युको पलमा खोर भित्र थुनिएर आँसु बगाउनुपर्ने छैन ।

यसरी विश्वबाट अपराधलाई निर्मूल पारेपछि ती जेलहरुलाई संग्रहालयको रुपमा परिमार्जित गरी आगामी पुस्तालाई इतिहासका रुपमा अवलोकन गर्ने स्थल बनाई जेललाई एकादेशको कथा बनाउनुपर्छ । किनकि स्वतन्त्र प्राणी मानिसलाई यसरी पशुतुल्य पिँजडामा थुनेर राख्नु मानवीय हिसाबले उचित हुँदैन । र समाजमा अपराधको संख्या बढाउनु त झनै हुँदैन ।

त्यसैले आउनुस् सबैजना हातेमालो गर्दै सभ्य र सुसंस्कृत अनि अपराधरहित समाज निर्माणको कार्यमा अहिल्यैदेखि लागौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *