बीबीसी- “आमा, मैले भर्खरै ओस्कर जितेँ! उनीहरू भन्छन् कि यस्तो कथा चलचित्रमा मात्रै हुने गर्छ। म विश्वास गर्न सकिरहेको छैन् कि यो मेरो हकमा भइरहेको छ।”भावुक भएका की ह्वुई क्वानले लस एन्जलसमा भएको ९५औँ ओस्कर समारोहमा गहभरि आँसु पार्दै यी धारणा राखेका हुन्।
आफ्नी आमा र परिवारका बाँकी सदस्यलाई धन्यवाद दिँदै भियतनामी मूलका अमेरिकी अभिनेताले उक्त सम्मान आफ्नी श्रीमतीलाई समर्पित गरे।“म सबैथोक मेरो जीवनकी मायालु, मेरी श्रीमती एको, जसले मलाई २० वर्षसम्म प्रत्येक महिना र वर्ष एक दिन मेरो समय आउँछ भनेर निरन्तर भनिरहिन्, तिनलाई समर्पित गर्न चाहन्छु,” उनले भने।आफूलाई स्वागत गर्नेहरूलाई धन्यवाद दिँदै उनले सबैलाई सपना देखिरहन पनि आग्रह गरे।
यो वर्षको ओस्कर दौडमा रहेका कलाकारमध्ये क्वानको कथा सबैभन्दा चाखलाग्दोमध्येमा पर्छ। खचाखच भरिएको डुङ्गा चढेर सन् १९७० को अन्त्यतिर आफ्नो परिवारसहित भियतनाम छाड्दा उनी सात वर्षका थिए।उनी आफ्ना पितासहित हङकङ पुगे भने उनकी आमा र परिवारका अन्य सदस्य मलेशिया गए।सन् १९७९ मा परिवार अमेरिकामा बसाइँ सरेपछि परिवारमा पुनर्मिलन सम्भव भयो।उक्त कदम ‘आघात पुर्याउने खालको’ रहेको उनले बताएका छन्।“हामी शरणार्थी बन्न पुगेका थियौँ,” क्वानले अघिल्लो वर्ष गार्डियन पत्रिकालाई भनेका थिए।
“कसैले पनि हामीलाई रुचाउँदैन थिए। उनीहरूले हामीलाई ‘भर्खरै डुङ्गाबाट झरेका मानिस भन्थे।’ विद्यालयमा हुँदा हामीलाई मजाक बनाइन्थ्यो। त्यसले एउटा बालकको मस्तिष्कमा कस्तो प्रभाव पार्छ तपाईँ कल्पना गर्न सक्नुहुन्छ।”
तर उनको जीवनमा केही समयपछि नै बदलाव आयो। १२ वर्षको हुँदा उनी आफूभन्दा कान्छा भाइलाई इन्डियाना जोन्सको अडिसनमा समर्थन गर्न गएका थिए। क्वानले अडिसनमा सहभागी हुने लक्ष्य पालेका थिएनन्। तर कास्टिङ निर्देशकले प्रयास गर्न उनलाई पनि सुझाव दिए।
बालअभिनेताका रूपमा स्टिभन स्पीलबर्गले उनलाई इन्डियाना जोन्स दोस्रो चलचित्रमा खेलाए।सन् १९८४ मा बनाइएको उक्त चलचित्र थियो, इन्डियाना जोन्स एन्ड द टेम्पल अफ डुम।