काठमाडौं – बलिउड अभिनेता रणवीर कपूर र श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ बलिउडमा यो वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म बन्न सफल भएको छ । यसअघि शाहरूख खानको फिल्म ‘पठान’ ले दुई दिनमा सय करोड कमाएको थियो। ‘तु झुठी मैं मक्कार’ ले १० दिनमा १०१ करोड ९८ लाख भारू कमाएको हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शले जनाएका छन् ।
उनले ट्विट गर्दै फिल्म सय करोड क्लबमा समावेश भएको जानकारी दिएका हुन्। फिल्ममा एक झुठी प्रेमिका र चलाख प्रेमीको प्रेमद्वन्द्वको कथा देखाइएको छ। उनीहरू एकअर्कालाई जालमा फसाउन संघर्षरत छन्। फिल्ममा रणवीर र श्रद्धासँगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई लभ रन्जनले निर्देशन गरेका हुन् ।
रोमान्टिक कमेडी जनराको फिल्म लभ फिल्म्स ब्यानर र टी-सिरिजको सहकार्यमा बनेको हो। यो फिल्मपछि रणवीर सन्दिप रेड्डी वांगाको फिल्म ‘एनिमल’ मा देखिनेछन्। फिल्ममा उनीसँगै रश्मिका मन्दनाको मुख्य भूमिका रहनेछ।