कमेडियन कपिल शर्मा आफ्नो कमेडी स्टाइलका कारण निकै चर्चित छन् । ‘द कपिल शर्मा शो’ ले उनलाई फरक पहिचान दिएको छ । अहिले उनी हालै फिल्म ‘ज्विगाटो मार्फत दर्शकसामु देखा परेका छन् । यो चलचित्र हालै रिलिज भएको हो । यो फिल्म रिलिज हुनुअघि कैयौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत प्रदर्शन गरिएको थियो ।
फिल्मले पहिलो दिन दर्शकलाई हलमा तान्न असफल भएपनि बिस्तारै बक्स अफिसमा कमाइ गर्दै आएको छ । फिल्म समीक्षक तरण आदर्शको पोस्टका अनुसार फिल्मले रिलिजको पहिलो दिन मात्रै ४३ लाख कमाएको थियो । दोस्रो दिन अर्थात हिजो फिल्मको कमाई ४४.०९ प्रतिशतले बढेको छ । फिल्मले रिलिजको दोस्रो दिन ६२ लाख रुपैयाँ कमाएको थियो ।
त्यस्तै, चलचित्रको प्रतिक्रिया पनि बढिरहेको छ । अब यो फिल्मका निर्माताले खुसीको खबर दिएका छन् । कपिल शर्मा र नन्दिता दासको फिल्मलाई ओडिशा सरकारले करमुक्त गरेको खबर छ । यो फिल्मको सुटिङ भुवनेश्वरमा भएको छ । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले बुधबार फिल्मलाई मनोरञ्जन करबाट छुट दिने प्रस्तावलाई अनुमोदन गरेका छन्। ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आफ्नो सोशल मिडिया ह्यान्डल मार्फत यो जानकारी दिएका छन्।
यति मात्र होइन, मुख्यमन्त्रीले यस प्रदेशमा चलचित्र छायांकनका लागि जनता अगाडि आउने विश्वास व्यक्त गरेका छन्, जसले रोजगारी सृजनामा टेवा पुग्ने छ । ‘फिराक’ र ‘मन्टो’ जस्ता फिल्म दिएकी नन्दिता दासले यसका लागि मुख्यमन्त्रीलाई धन्यवाद दिएकी छन् । कपिलले फिल्म ज्विगाटोमा फुड डेलिभरी ब्वाईको भूमिका निभाएका छन्। नन्दिता दासले निर्देशन गरेको यो फिल्ममा कपिल शर्मासँगै गुल पनाग, सयानी गुप्ताको पनि महत्वपूर्ण भूमिका छ ।