१० वर्षपछि अष्ट्रेलिया तताउँदै मंगोलियन हार्ट, आज डार्विनमा प्रस्तुति दिँदै • OSNepal

१० वर्षपछि अष्ट्रेलिया तताउँदै मंगोलियन हार्ट, आज डार्विनमा प्रस्तुति दिँदै • OSNepal

मनोरञ्जन

Sharing is caring!

अष्ट्रेलिया ।१० वर्षपछि अष्ट्रेलियाको सांगितिक यात्रामा हिँडेको नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले चार स्थानमा कन्सर्ट सकेको छ । ब्यान्डले पूर्व निर्धारित तालिकाअनुसार अप्रिल १० तारिखमा मेल्बर्नबाट यात्रा सुरु गरेर १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी र  १६ मा केन्बेरा कन्सर्ट सकेको हो । चारै स्थानमा दर्शकको ठूलो ‘क्राउड’ थियो ।

ब्यान्डका फ्रन्ट म्यान राजु लामाले चर्चित गीत ‘मेरो नेपाल’बाट प्रस्तुति सुरु गर्दै ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु गाउँदा माहोल तातेको थियो । ‘चारवटै स्थानमा दर्शक प्रस्तुतिमा झुम्मिएका थिए, १० वर्षपछि फर्कदा पनि अष्ट्रेलियामा माया घटेको रहेनछ, झन् बढेको पाइयो,’ ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले बताए ।

लामाका अनुसार अब चार स्थानमा कन्सर्ट बाँकी छ । आज २१ तारिख डार्विन शहरमा प्रस्तुति दिने तालिका छ । त्यसपछि २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर यात्रा टुंगिनेछ । टुर व्यवस्थापक नेपाली टच अष्ट्रेलियाका सिइओ दिपेश पुनका अनुसार ब्यान्डको पहिलो सांगितिक प्रस्तुत १० तारिखमा मेल्बर्न शहरमा हुने छ । त्यसपछि १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर सांगितिक यात्रा सकिनेछ ।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अष्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित छन्, ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामा । ‘‘१० वर्षपछि ‘ज्यो ज्यो’ मंगोलियन हार्टसहित आउँदा अष्ट्रेलियाबाट पाएको प्रेमले म दंग छु । धेरैको आग्रह छ, अब अर्को टुर यति लामो ग्यापमा गर्नु हुँदैन,’ गायक लामाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *