काठमाडौँ -नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ । सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी गराइन् ।
जोएलका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही वैशाख १५ देखि १७ (अप्रिल २८–३०) सम्म चल्नेछ । महेन्द्रनगरपश्चात् दोस्रो चरणमा फेस्टिभल वैशाख २०, २१ र २२ गते (मे ३–५) मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ ।फेस्टिभलको अन्तिम प्रर्दशनी काठमाडौंको चावहिलमा रहेको चलचित्र विकास बोर्डको हलमा वैखाख २९ देखि जेठ १ (१२–१५ मे) सम्म आयोजना हुनेछ ।
फेस्टिभलको यस संस्करणको मूल विषयवस्तु सबैका लागि मानव अधिकार उत्सव रहेको छ ।‘यो वर्ष मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ बर्ष भएको छ । यसै सन्दर्भमा हामीले चलचित्र महोत्सवको लागि ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने मूल बिषय छानेका छौं । यसको उद्देश्य आममानिसमा उनीहरुको अधिकारको बारेमा सचेतना अभिबृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने रहेको छ,’ नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले बताइन ।
सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौंमा आयोजना हुने महोत्सवमा युरोपका ख्यातिप्राप्त निर्देशकहरुले निर्देशन गरेका आठ वटा फिल्मका साथसाथै नेपालका युवा फिल्म उत्पादकहरुले निर्माण गरेका छोटा फिल्महरु प्रदर्शन गरिनेछन् ।महोत्सवकै दौरानमा युरोपियन युनियन नेपालले ‘मानवअधिकार प्रबद्र्धनमा फिल्मको भूमिका’ विषयक छलफल पनि आयोजना गर्नेछ । छलफलको सञ्चालन सञ्चार तथा मानवअधिकार विज्ञ प्रतिष्ठा कोइरालाले गर्नेछिन् । यस छलफलमा युरोपबाट चलचित्रकै विषयमा लेख्दै आएका स्टनिस्ल्यास इड सहभागी हुनेछन् । छलफलमा नेपालका चलचित्र निर्माता तथा निर्देशक अरुणदेव जोशी र फिल्म अध्ययनमा लामो अनुभव भएका डा. सचिन घिमिरे पनि सहभागी हुनेछन् । छलफल कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको हलमा बैशाख ३० गते दिउँसो ३ देखि ४.३० सम्म सञ्चालन हुनेछ ।
अर्को छलफल ‘चलचित्रलाई कसरी बुझ्ने ?’ भन्ने विषयमा हुनेछ । यसको सञ्चालन चर्चित चलचित्र निर्माता तथा निर्देशक राजेश गोगजुले गर्नेछन् । गोगजु सन् २००० देखि चलचित्र निर्माण र शिक्षण पेशामा आवद्ध छन् र थुप्रै अवार्ड समेत प्राप्त गरेका छन् । यो छलफल सोही दिन अर्थात बैशाख १७ गते सुदूरपश्चिम विश्वविद्यालयको हलमा दिउँसो ११ देखि १२ बजेसम्म आयोजना हुनेछ ।
गोंगजुले यही विषय मध्यपश्चिम विश्वविद्यालयको हलमा वैशाख २० गते दिउँसो ३.४५ देखि ४.४५ सम्म पढाउनेछन् ।सुदुरपश्चिम, मध्यपश्चिम र काठमाडौं तीनवटै ठाउँहरुको महोत्सवको सुरुमा ह्यामी रामेजनद्धारा निर्देशित ‘एनी डे नाउ’ भन्ने चलचित्रको प्रदर्शनीबाट हुनेछ । यो फिल्मले आप्रवासनको कथालाई प्रस्तुत गरेको छ र यो समकालीन समयको एउटा मुख्य मानवअधिकारको सवाल हो ।
महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरुमा अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशन गरेका इनभिजिबल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्याण्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्याण्डस्) रहेका छन् ।
यसैगरी महोत्सवमा टोनी ह्यागेन फाउण्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरु प्रदर्शन गरिनेछन् । जसमा अंकित खड्गीको निर्देशनमा बनेको आई वान्टेड टु बी लाइक माधुरी दिक्षित, विशाल रोक्का मगरको गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिंक रहेका छन् ।
नेपाली युवा फिल्म निर्माताहरुका अन्य फिल्महरुमा मिन्शो लिम्बुको जुनको, सुनिल पाण्डेको बागथान, पुनम पौडेलको लिभिङ्ग विथ डिग्नीटी, दीपक रौनियारको फोर नाइटस् र दीपा श्रेष्ठको ड्रिफ्टििङ्ग क्लाउडस् रहेका छन् ।महोत्सवको क्रममा देखाईने तिनवटा युरोपियन फिल्महरु एनीडे नाउ, मित्र र इमादज चाईल्डहुडमा नेपाली उपशीर्षक पनि हुनेछन् ।