शाहरुख खानले चार वर्षपछि फिल्म ‘पठान’ मार्फत कमब्याक गर्दै आफ्ना फ्यानहरूलाई ठूलो उपहार दिएका छन् । यो फिल्मले पनि बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको थियो । अहिले किंग खानका फ्यानहरु उनको अर्को फिल्म जवान को प्रतिक्षामा छन् । यसैबीच, शाहरुख खानको आगामी फिल्म ‘जवान’ को सेटबाट केही भिडियो क्लिप र तस्बिरहरू अनलाइन लिक भएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल भएको छ।
यसपछि रेड चिलीज इन्टरटेनमेन्टले दिल्ली हाई कोर्ट पुगेको छ । शाहरुख खान र गौरी खानको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्ट प्रालिले प्रतिलिपि अधिकार उल्लङ्घनको मुद्दा दायर गरेपछि न्यायमूर्ति सी हरि शंकरले उक्त आदेश दिएका हुन्। अदालतले केबल टिभी प्लेटफर्महरू, डायरेक्ट टु होम, वेबसाइटहरू र जॉन डो प्रतिवादीहरूलाई जवानको प्रतिलिपि अधिकार उल्लङ्घन गर्नबाट रोक लगाए।
साथै, सामाजिक प्लेटफर्महरूलाई जवानको प्रतिलिपि अधिकार सामग्रीको प्रसारण रोक्न कडा कदम चाल्न र पहुँच रोक्न भनिएको छ।केही दिन अघि सुटिङका क्रममा ‘जवान’का केही भिडियो सामाजिक सञ्जालमा लिक भएका थिए । एउटा क्लिपमा शाहरुखको फाइटको सिन रहेको थियो । दोस्रो क्लिपमा उनी फिल्मकी मुख्य अभिनेत्री नयनतारासँग देखिएका थिए ।
अदालतको आदेशपछि अहिले शाहरुख खान र उनको टिमलाई राहत मिलेको छ । एट्ली निर्देशित फिल्म ‘जवान’ मा शाहरुख खानसँगै नयनतारा र विजय सेतुपति देखिनेछन् । फिल्ममा थालापथी विजय र अल्लु अर्जुन क्यामियो रोलमा देखिनेछन् ।