कान्छो फ्रन्टलाइनर : फोहोरदेखि शवसम्म उठाउँछन्

कान्छो फ्रन्टलाइनर : फोहोरदेखि शवसम्म उठाउँछन्

मनोरञ्जन

Sharing is caring!

कान्छो फ्रन्टलाइनर : फोहोरदेखि शवसम्म उठाउँछन्

१० कात्तिक, विराटनगर । जम्मा १८ वर्षका भए, विराटगर महानगरपालिका–२ का चन्दन पोद्दार । उनको दिन भने विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस विरुद्धको युद्वमा बितिरहेको छ ।

यो वर्ष कक्षा १० मा पुगेका उनले काम गर्ने कोशी अस्ताल कोभिड–१९ उपचार केन्द्र र उनको परिवार बस्ने घर करिब चार किलोमिटर दुरीमा छ । बाबुआमासँग घरमा बस्न नपाएको सात महिना भयो । सारै न्यास्रो लागेका बेला गएर घरबाहिरै सबैलाई हेरेर फर्कन्छन् ।

कोभिड अस्पतालले आफ्ना सफाइ कर्मचारीलाई बस्ने व्यवस्था मिलाएको छ । चन्दन सहकर्मीहरुसँग त्यहीँ बस्छन् । उनीहरुको दसैं पनि त्यहीँ बित्नेछ ।

कोरोना महामारीका कारण उनी पढ्ने जनता नमुना मावि र पार्टटाइम काम गर्ने ‘सेन्ट्रल मल्टिप्लेक्स’ लगभग एकै समयमा बन्द भयो । त्यही बेला अस्पतालमा काम गर्ने प्रस्ताव आयो । ‘काम गर्दा जहाँ पनि जोखिम हुन्छ, हलखुल्ने टुंगो थिएन’, चन्दन भन्छन्, ‘परिवारको अवस्था सम्झिएपछि कोभिड–१९ अस्पतालमा काम गर्न आए ।’

सरसफाइ कर्मचारीको रुपमा भर्ना उनी औषधि पुर्‍याउने र अक्सिजन जोड्नेदेखि मृत्यु भएका संक्रमितको शव उठाउने सम्मका काम गर्छन् ।

विपन्न परिवारका जेठो छोरा चन्दनले अरु बालबलिकाले जसरी पढ्न पाएनन् । कक्षा ६ मा पुगेदेखि नै पार्टटाइम काम गर्न पर्‍यो । अपरान्ह चारबजेसम्म विद्यालयमा हुने उनी दौडेर पाँचबजे कार्यथलो पुग्थे ।

सरसफाइको काममा जोतिएर विराटनगर–२ दुर्गा चोकमा रहेको पुग्दा कहिलेकाहीँ मध्यरात हुन्थ्यो ।

कोभिड अस्पतालमा काम गर्न थालेपछि भने अपवादबाहेक धेरै रात मज्जाले सुत्न पाएको चन्दन बताउँछन् ।

 

‘सुरुमा संक्रमण हुने डर धेरै लाग्यो’, चन्दन भन्छन्, ‘सुरुमा बाहिर सरसफाइको काम गरेँ । पछि त पीपीई लगाएर अस्पतालको अरु काम पनि गर्न थालेँ । किन गर्न थालेँ भने, मैले नगर्दा त्यो काम रोकिने अवस्था हुन्थ्यो ।’

खासमा, अस्पताल सरसफाइ गर्ने, डस्टबिनमा खन्याउने र सबै खालका फोहर खाल्डोमा बिर्सजन गर्ने चन्दनको काम हो । यसका लागि चन्दन, राकेश राजवंशी र महेन्द्र माझीको टिम छ । यी तीन जना सँगै पढ्ने साथी पनि हुन् ।

उपचारका क्रममा संक्रमितको मृत्यु भए शव बाहिर निकाल्ने काम पनि त्यही टिमको हो । ‘पहिले कहिल्यै लास छोएको थिइन । सुरुमा निकै धेरै डर लाग्यो’, चन्दन भन्छन्, ‘विस्तारै बानी पर्‍यो । यहीँ दश जनाको शव उठाइसक्यौं ।’

चन्दनका बुबा लक्ष्मण र आमा सरस्वती अरुको घरमा सरसफाइको काम गर्थे । लकडाउनपछि खाली बनेका उनीहरु अझै कामविहीन छन् । बुबाआमाले चन्दनलाई कोभिड अस्पतालमा काम गर्न दिएका थिएनन् । उनी भन्छन्, ‘मैले यहाँ काम नगरेको भए अहिले मेरो परिवारको हालत खराब हुने थियो ।’

चन्दन प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय र लायन्स क्लबद्वारा सञ्चालित ३० बेडको आइसोलेसन सेन्टरमा खटेको टिममा पनि छन् । उनी दुईजना स्वास्थ्यकर्मीसँगै परिचालित हुन्छन् । आइसोलेसन वार्डको सरसफाइ उनी एक्लै गर्छन् ।

स्वास्थ्यकर्मी दिलिप सिंहको नजरमा चन्दन एकदमै मेहनेती र इमान्दार छन् ।

यही मेहनेत र इमानको कमाइबाट उनले आमाबुबा, तीनजना भाइबहिनी र हजुरआमासहितको परिवार धानेका छन् ।

उनीहरुको घर छैन, भाडामा बसेका छन् ।

जीवनको लक्ष्य : गर्दै जाउँ, हेर्दै जाऊँ

चन्दनले यो पटक एसईई परीक्षा दिनुपर्नेछ । तर कसरी दिने उनी अन्योलमा छन् । काम छाडौं, परिवारको चिन्ता छ । तीनजना भाइबहीनी सानै छन् ।

‘नौ कक्षा पढ्दै गर्दा कोरोना सुरु भयो । अहिले १० कक्षामा पुगे तर स्कुल टेक्न पाएको छैन’, उनले भने ‘स्कुल खुले पनि जाने–नजाने टुंगो छैन, किन भने बुबाआमाले काम पाउने टुगो छैन ।’

पढाइ र मजदुरीलाई सँगसँगै अघि बढाएका चन्दनले भविष्यको योजना बनाउन सकेका छैनन् । भविष्यमा के बन्ने त भन्ने प्रश्नमा उनले भने, ‘काम गर्दै सरकारी स्कुलमा पढेकाले ठूलो लक्ष्य केही राखेको छैन । काम गर्दै, पढ्दै, हेर्दै जाने हो । कहाँसम्म पुगिन्छ, त्यसैमा चित्त बुझाउने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *