बेइजिङ: कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म मृतकको संख्या २ हजार ४ पुगेको छ ।
नयाँ अपडेट अनुसार मंगलबार थप १३६ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण अहिलेसम्म ७४ हजार १८५ जना संक्रमित भएका छन् ।
चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले दिएको जानकारीअनुसार अहिलेसम्म १४ हजार ३७६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ६१ हजार ६८२ जनालाई कोराना भाइरस सङ्क्रमण भएको जनाइएको छ । हुबेइमा मात्र अहिलेसम्म १९ सय २१ जनाको मृत्यु भएको छ ।
चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट यहाँको विभिन्न क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ । वैज्ञानिकहरूले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन खर्च विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका थिए ।
यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट सात जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।