नेपालगन्जमा दादुरा संक्रमितको संख्या ७६ पुग्यो, जिल्लाभर फैलिँदै – Satyapati

नेपालगन्जमा दादुरा संक्रमितको संख्या ७६ पुग्यो, जिल्लाभर फैलिँदै – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

बाँकेको नेपालगन्जमा फैलिएको दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या ७६ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये ११ वटा वडामा दादुरा फैलिसकेको स्वास्थ्य शाखाले जनाएको छ ।

पुस १२ गतेबाट देखिएको दादुरा संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १, २, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी ७६ जनामा संक्रमण देखिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

दादुराबाट ५ नम्बर वडाका ३१ महिने एक बालकको मृत्यु भएको छ । हाल संक्रमित बालबालिकालाई होम आइसोलेसनमा राखेर उपचार भइरहेको छ । बढी संक्रमित तीनवटा वडामा दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ ।

संक्रमित हुनेमा अधिकांश पूर्ण खोप नलगाएका बालबालिका रहेकाले संक्रमण फैलिएका सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिने चन्दले बताए । नेपालले सन् २०२३ को अन्त्यसम्म दादुरा निवारण गर्ने लक्ष्य लिएको छ ।

बाँकेमा दादुरा रोगबाट नेपालगन्ज–५ का एक बालकको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । त्यसो त नेपालगन्ज उपमहानगरपालिकामा फैलिएको दादुरा महामारी अब जिल्लाका अन्य पालिकामा पनि फैलिन थालेको छ ।

नेपालगन्जपछि खजुरा गाउँपालिकाका बालबालिकामा दादुरा देखापरेको छ । एक साताअघि नेपालगन्ज–७ का चार जना बालबालिकामा देखिएको दादुरा अहिले नेपालगन्ज उपमहानगरपालिकाका साथै जिल्लाका अन्य पालिकामा पनि देखा पर्न थालेको छ ।

नेपालगन्ज, खजुरा र कोहलपुर लगायतका क्षेत्रमा धेरै बालबालिकालाई ज्वरो आउने तथा शरीरमा बिमिरा निस्कने लक्षण देखिएकाले दादुरा प्रभावितको सङ्ख्या बढ्ने आशङ्का गरिएको स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले बताए ।

दादुरा तीव्र गतिमा फैलिरहेको पाइएको जनाउँदै उनले नियन्त्रणका लागि रोकथाम अभियानलाई पनि तीव्र पारिएको बताए । खोप फोकल पर्सनसमेत रहेका अधिकृत श्रेष्ठले दादुरा फैलिएपछि खोप अभियानलाई तीव्र पारिएको जानकारी दिए ।

दादुरा देखिएका स्थानका ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाको पहिचान गरी खोप लगाउने कार्यलाई तीव्रता दिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दादुरा देखिएका बालबालिकालाई स्वास्थ्यकर्मीकै निगरानीमा घरमै राखेर उपचार भइरहेको छ । तीमध्ये अधिकांशको स्वास्थ्यमा सुधार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *