Sharing is caring!
काठमाडौं । शौचालयलाई सफा र सुन्दर राख्ने कुरामा धेरैले त्यति जाँगर चलाएको देखिंदैन । शौचालयबाट कीटाणु फैलिने जोखिम उच्च हुने चिकित्सकहरूले बताउँदै आएका छन् ।
शौचालयको बनावट आकर्षक छ तर दुर्गन्धित छ भने त त्यसले राम्रो प्रभाव पर्दैन । त्यसैले शौचालयको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
शौचालयको स्वच्छता अति महत्त्वपूर्ण भएको जनरल फिजिसियन डा. लोचन कार्की बताउँछन् । ‘शौचालयलाई सफा राखिएन भने विभिन्न माध्यमबाट पानी र खानामा शौच मिसिएर सरुवा रोग फैलिन्छन्,’ उनी भन्छन्, ‘त्यसैले सरुवा रोग फैलिने माध्यम शौचालय नबनोस् भन्नका लागि यसको स्वच्छता महत्त्वपूर्ण छ ।’
शौचालयबाट झाडापखाला, हैजा, हेपाटाइटिस ए र ई, जन्डिस, आउँ, टाइफाइडजस्ता सरुवा रोग फैलिन सक्छन् ।
कसरी सफा गर्ने शौचालय ?
शौचालय सफा गर्दा सफाइ गर्ने सामग्री छान्दा ध्यान दिनुपर्छ । कोमोड र प्यान मात्र होइन, पूरै शौचालयलाई कीटनाशक झोलले सफा गर्नुपर्छ । फल्स ट्यांकीमा पनि कीटनाशक झोल हाल्नुपर्छ ।
यस्तै शौचालयको बाहिरी भाग सफा गर्न बिर्सनु हुँदैन । कम्तीमा पनि दुई दिनमा एकपटक शौचालय सफा गर्नैपर्ने डा. कार्की बताउँछन् । शौचालय सफा गर्ने ब्रसलाई पनि कीटाणुरहित बनाउनुपर्छ, त्यसैले ब्रसलाई पनि बेलाबेलामा सफा गर्नुपर्छ ।
शौचालय सफा गर्न बजारमा ब्रस, हार्पिक, फिनेल, ओडोनिल, ह्याण्डवास, साबुन, लाइजोल, डेटोल झोललगायत सामान पाइन्छ । नाम फरक भए पनि यिनीहरूको काम भनेको शौचालयको दुर्गन्धलाई हटाउने र कीटाणुरहित बनाउने हो ।
शौचालयमा के के हुनुपर्छ ?
शौचालयमा बेसिन, रुमाल झुण्डाउने ह्याङ्गर, ट्वाइलेट पेपर ह्याङ्गर, नुहाएपछि फेर्ने लुगा राख्ने सानो दराज वा ह्याङ्गरको सुविधा हुनुपर्छ । त्यसैगरी ऐना र बेसिन पनि महत्वपूर्ण छन् ।
शौचालय किन आकर्षक देखाउने ?
भनिन्छ, बाथरुम अर्थात् शौचालय हेरेर त्यस घरका सदस्यहरुको जीवनशैली अनुमान लगाउन सकिन्छ । बाथरुमको सरसफाइमा ध्यान दिनु निकै जरुरी छ, किनकि फोहोर बाथरुमबाट धेरै रोग फैलिन सक्छन् । सरसफाइका साथै बाथरुमलाई यसरी सजाउन सकिन्छ कि बाथरुम आकर्षक देखियोस् । शौचालयलाई आकर्षक बनाउन त्यहाँ इन्डोर प्लान्ट, विभिन्न आकर्षक पेन्टिङ, सुगन्धित फूलहरू भासमा राख्न सकिन्छ । शौचालय आकर्षक हुँदा सकारात्मक ऊर्जा मिल्नुको साथै मन चंगा हुन्छ ।
शौचालयमा इन्डोर प्लान्ट राख्दा ताजा महसुस गर्न सकिन्छ । यसले हावालाई स्वच्छ पार्नुका साथै सुगन्ध फैलाउन मद्दत गर्छ । शौचालयको भित्तामा राम्रो पेन्टिङ राख्दा शौचालयको सजावट झन् राम्रो हुन्छ । शौचालयमा प्राकृतिक सौन्दर्यको पेन्टिङ राख्दा सकारात्मक ऊर्जा मिल्छ ।
कसरी सुरक्षित बनाउने ?
शौचालयको टायलमा चिप्लिएर दुर्घटना हुने गरेका घटना निकै सुनिन्छ । त्यसैले टायल राख्दा चिप्लो भन्दा पनि खस्रो खालको म्याट टायल प्रयोग गर्नु राम्रो हुन्छ । आजभोलि शौचालयमा चिप्लो टायल धेरै प्रयोग हुँदैन । म्याट टायल राखियो भने सफा राख्न पनि सजिलो हुन्छ र चिप्लिएर लड्ने जोखिम पनि हुँदैन ।