महिनावारी भएको कति दिनमा गर्भ बस्छ

महिनावारी भएको कति दिनमा गर्भ बस्छ ?

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

म ३० वर्षीय व्यक्ति हुँ । विवाह गरेको आठ महिना भयो, तर आजसम्म श्रीमतीसँग कुनै अस्थायी साधन प्रयोग नगरी सम्पर्क गरिरहेको छु । जहिले पनि स्खलन हुने बेलामा लिंग बाहिर निकाल्छु, तर निकाल्दा एकदम गार्हो हुन्छ, निकाल्न मनै लाग्दैन । श्रीमतीलाई कुनै औषधि प्रयोग गरूँभन्दा असर हुन्छ, पछि बच्चा नरहन सक्छ भनेर मान्दिनन् । त्यसैले तपाईंसँग सल्लाह लिन चाहन्छु । कुन औषधि प्रयोग गर्दा राम्रो होला ? अनि महिनावारी भएको कति–कति दिनमा गर्भ रहन सक्छ ? महिनावारी भएदेखि कुन–कुन दिनमा चाहिँ ढुक्कसाथ सम्पर्क गर्न सकिन्छ ? कृपया स्पष्ट पारिदिनुहोला ।

डी.के. –३७८४

बाह्य स्खलन 

तपाईंलाई थाहै होला, महिलामा महिनामा एकपल्ट मात्र डिम्ब निष्कासन हुन्छ । गर्भ रहन पुरुषबाट आएको शुक्रकीट र डिम्बको मिलन जरुरी हुन्छ । त्यसैले वीर्य स्खलन योनिभित्रै भएको स्थितिमा पनि डिम्ब निष्कासनको समयसँग मिल्नु आवश्यक छ ।

गर्भ नरहोस् भनेर लिंग झिक्ने अर्थात् बाह्य स्खलन विधि विशेष गरेर किशोर–किशोरी तथा युवा–युवतीमाझ प्रायः अपनाइने उपायमध्ये एक हो । वीर्य स्खलन हुनु ठीक अघि लिंग योनिबाट झिक्ने यो विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि प्रभावकारी तरिकाले अवलम्बन गर्न भने गार्हो हुन्छ । अब वीर्य स्खलन हुनै लाग्यो भनेर (Point of No Return) पुगेको राम्ररी थाहा नपाउँदा लिंग झिक्न ढिलो भइनिस्केको वीर्य योनिभित्रै वा योनिक्षेत्रमा लाग्न सक्छ । यसले प्रभावकारिता कम त हुने नै भयो, फेरि तपाईंले भन्नुभएजस्तै वीर्य स्खलनको त्यो बेलामा लिंगलाई सक्दो योनिमै राख्न मन लाग्ने हुनाले यसलाई निकाल्न एक हदसम्म असजिलो नै हुन्छ । यस्तो क्रियालाई अंग्रेजीमा Coitus Interruptus भनिन्छ । ग्रिक भाषामा Coitus को अर्थ यौनसम्पर्क र Interruptus को अर्थ रोक्नु भन्ने हुन्छ । यौनसम्पर्कको त्यो उत्कर्षमा पुग्ने बेलामा रोक्न मन नलाग्नुमा स्वाभाविकता छ ।

विभिन्न अध्ययनले १५ देखि २५ प्रतिशतसम्म गर्भ रोक्न नसकेको Failure Rate अवस्था देखाएको छ । यसले गर्भ रहने सम्भावना केही कम गरे पनि यौनरोग तथा एचआईभी सर्न भने सक्छ । गर्भ तथा यौनरोग तथा एचआईभी दुवैबाट बच्न कन्डमका साथै अरू प्रभावकारी गर्भनिरोधका उपायको प्रयोग पनि आवश्यक छ ।

गर्भनिरोधको कुरा 

विवाहित जीवनमा यौनसम्पर्क पर्याप्त मात्रामा गरिने भएकाले गर्भ नरहोस् भन्नाका लागि भरपर्दो गर्भनिरोधको उपाय अपनाउनु नै श्रेयष्कर हुन्छ । छोटो समयका लागि गर्भनिरोध चाहिएमा कन्डम, खाने चक्की तथा तीन महिने सुई निकै प्रभावकारी उपायहरू हुन् । कपर–टी र नरप्लान्ट केही लामो समयका लागि उपयुक्त साधन हुन् । यी साधनको प्रयोग सुरु गर्नुअघि परिवार नियोजन सेवा केन्द्र, प्रजनन स्वास्थ्यका सेवा केन्द्र वा अस्पतालबाट यी साधनको प्रयोगका बारेमा राम्रोसँग परामर्श लिनु राम्रो हुन्छ । सो गर्दा साधनहरूका बारेमा विस्तृत रूपमा थाहा हुने मात्र होइन, कुन साधन आफूलाई सबैभन्दा उपयुक्त हुन्छ, आफैंले रोज्न पाइन्छ । अरूले तपाईंका लागि यो साधन प्रयोग गर्नुहोस् भनेर सल्लाह दिनु उपयुक्त मानिँदैन, किनकि यो कुरा प्रयोग गर्ने व्यक्तिको रोजाइमा भर पर्ने गर्छ ।

गर्भनिरोधका प्रत्येक साधनका केही असर हुने भए पनि ती सामान्य किसिमका हुन्छन् र बिस्तारै कम भएर जान्छन् । प्रयोगमा अभ्यस्त भएपछि सो चासोको विषय पनि बन्दैनन् । यहाँ तपाईंले निर्धक्क यौनआनन्द प्राप्त गर्न जुन सहयोग पाउनुहुन्छ त्यसको महत्व धेरै नै छ । अर्को कुरा, गर्भनिरोधका अस्थायी साधनको प्रयोग गर्न बन्द गरेपछि फेरि गर्भ नरहने भन्ने कुरामा कुनै सत्यता छैन । तपाईंले परामर्श लिन जाँदा थाहा पाउनु हुनेछ कि यी साधन सही तरिकाले प्रयोग गरिएको हुनुपर्छ, नत्र गर्भ रहन सक्नेबारेमा सचेत गराउँछौं । स्थायी बन्ध्याकरणको हकमा मात्रै हामी पुनः गर्भ नरहने कुरा गर्छाैं ।

गर्भ नरहने सुरक्षित समय कुन होला ? 

सामान्यः रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्केको बेलामा हुनु जरुरी छ । डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुने गर्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।

यसै सन्दर्भमा महत्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्केको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । डिम्ब निस्केको यस्तै २४ घण्टा वा सोभन्दा केही बढीसम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिले असुरक्षित काल मानिन्छ । महिनावारी ठीक २८ दिनमा नभई ढिलो–चाँडो हुन्छ भने ६ महिनासम्मको महिनावारीका दिनहरूलाई विचार गर्नुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने २४–१८= ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१–११= २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा हुन्छ । माथिको हिसाबबाट तपाईंले पक्कै पनि के जवाफ पाइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *