नेपालगन्जमा भेटिए खोप नलगाएका बालबालिका – Satyapati

नेपालगन्जमा भेटिए खोप नलगाएका बालबालिका – Satyapati

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

नेपालगन्जमा कुनै पनि खोप नलगाएका १७७ जना बालबालिका भेटिएका छन् । उपमहानगरले यहाँ केही समयअघि सुरु गरेको खोप नलगाएका बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान अन्तर्गत १७७ जना कुनै पनि खोप नलगाएका बालबालिका भेटिएका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगन्जमा १७७ जना कुनै खोप नलगाएका बालबालिका भेटिएका छन् भने ६९२ जना बालबालिकाले बिचैमा खोप लगाउन छोडेर खोपको मात्रा पूरा नगरेको पाइएको छ ।

नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले घर घरमा स्वास्थ्यकर्मीलाई पठाएर सर्वेक्षण गरी खोप नलगाएका र बिचमै छोडेकाको खोजी गरेको जनाउँदै अब ती सबैलाई आइतबार खोप लगाउने योजना रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख कमरुद्दिन राईले खोप लगाउन छुटेका बालबालिकाबाट बेलाबेलामा महामारी देखा पर्ने गरेको जनाउँदै कोही पनि नछुट्ने गरी खोप लगाइने बताए ।

बालबालिकालाई विभिन्न रोगबाट जोगाउन नेपाल सरकारले दादुरा रुबेला, बिसिजी, जेई, टाइफाइड, पिसिभी, पोलियो, टिडी, डिपिटी हेब्बी हिवलगायतका खोप दिइने गरिन्छ । जन्मेदेखि १५ महिनाभित्र यी खोप लगाइन्छन् ।

स्वास्थ्य महाशाखाका अनुसार नेपालगन्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्ममा खोप दिने गरिन्छ। यो अभियानमा बालबालिकालाई १३ वटा रोगविरुद्ध नौ प्रकारका खोप लगाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *