नेपालमा ८० प्रतिशत नागरिकलाई ग्यास्टिकको समस्या

नेपालमा ८० प्रतिशत नागरिकलाई ग्यास्टिकको समस्या : ग्यास्ट्राइटिस कसरी थाहा पाउन सकिन्छ ?

स्वास्थ्य-जीवनशैली

Sharing is caring!

काठमाडौं । मेडिकल भाषा ग्यास्ट्राइटिस भनिने स्वास्थ्य समस्यालाई नेपाली समाजमा ग्यास्टिक भनेर चिन्ने गरिन्छ । स्वास्थ्यसँग सम्बन्धित सरकारी तथा गैरसरकारी क्षेत्रबाट ठोस अनुसन्धान नभए पनि चिकित्सकहरुले ८० प्रतिशत नेपालीमा ग्यास्टिकको समस्या रहेको बताएका छन् ।

पेटरोग विशेषज्ञ डा. दिनेश श्रेष्ठले नेपालका ८० प्रतिशत नागरिकमा कुनै न कुनै प्रकारको ग्यास्टिकको समस्या रहेको बताए । यो रोग सबै प्रकारका नागरिकलाई लागेको छ । धनी गरिब, शिक्षित अशिक्षित सबैलाई यो रोग लागेको पाइन्छ ।

हाम्रो समाजमा ग्यास्टिक खाना समयमा नखाएपछि लाग्छ भन्ने मान्यता रहेको छ । तर यो भोको पेट बस्दा मात्र लाग्ने स्वास्थ्य समस्या होइन । यसका पछि धेरै कारणहरु हुन्छन् ।

खानपानसँगै वंशाणुगत गुण, रोग प्रतिरोधात्मक क्षमता, वातावरण, शारीरिक व्यायामको अवस्था, हाम्रो बानीव्यहोरालगायतका कारणले यो रोग लाग्ने वा नलाग्ने भन्ने कुराको निर्धारण हुन्छ ।

के हो ग्यास्ट्राइटिस

हामीले खाएका खाना पचाउनका लागि शरीरले पेटमा विभिन्न प्रकारका पाचन रसहरु उत्पादन गर्छ । त्यसमध्ये एउटा हाइडोक्लोरिक एसिड पनि हो । यो एक प्रकारको अम्ल हो । यसको उत्पादन हाम्रो आमाशयले गरेको हुन्छ ।

हाम्रो शरीरमा मुखबाट पेटमा पुग्ने खाना पचाउन यहीँ हाइडोक्लोरिक एसिड अर्थात अम्लले सहयोग गर्छ । यसले आमाशयमा रहेका किटाणुसमेत मार्छ । आमाशयमा हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणु हुन्छन् । यहीँ हेलिकोब्याक्टर पाइलोरी र अम्लबीचको तालमेल नमिलेको अवस्थामा ग्यास्ट्राइटिस हुन्छ ।

आमाशयमा उत्पादन हुने अम्लबाट आमाशयलाई बचाउन शरीरले विभिन्न प्रतिक्रिया दिन सुरु गर्छ । आमाशयको भित्री कोषहरुले बाक्ला जेल्ली अर्थात अर्धतरल पदार्थ म्युकस निकालिरहेको हुन्छ । यसले आमाशयलाई बचाउने काम गर्छ ।

अम्लको असरलाई कम गर्नका लागि बाइकारबोनेट भनिने एक प्रकारको छार पनि उत्पादन हुन्छ । यी ग्यास्ट्राइटिस गराउने र ग्यास्ट्राइटिसबाट बचाउनेबीचको असन्तुलन भएमा ग्यास्टिक हुन्छ ।

नेपालमा हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणुको संक्रमणले धेरैलाई ग्यास्टिक लाग्छ । धुमपान, मानसिक तनाव, अनावश्यक औषधिको सेवन, ब्यायाम नगर्नेलगायतका कारणले असन्तुलन कायम हुन्छ । यी कारणले ग्यास्टिक लाग्न सहयोग गर्छ ।

ग्यास्टिक लाग्नुको कारणमा हामीले दैनिक जसो खाने दुखाइ कमगर्ने औषधि, एन्टिवायोटिकलगायतका औषधि, बढी अमिलो, पीरो र चिल्लो खानेकुराले पनि ग्यास्टिक बनाउन सहयोग गर्छ ।

ग्यास्ट्राइटिस भएपछि के हुन्छ ?

ग्यास्ट्राइटिस भएपछि पेटको माथिल्लो भागमा दुख्ने, पोल्ने, भोमिट होला जस्तो हुने, खाना खान मन नलाग्ने, पेट ढुस्स फुलेको जस्तो हुने, घाँटीसम्म खाना जम्मा भएजस्तो हुनेलगायतका समस्या देखिन थाल्छ । अम्ल धेरै बढेको समयमा सहन गाह्रो हुनेगरी पेट दुख्छ ।

कालो दिसा हुनेसम्मको समस्या देखिएमा भने तत्काल उपचारका लागि अस्पताल गइहाल्नुपर्छ । कालो दिसा पेटमा रक्तश्राव भएको समयमा हुने समस्या हो । ग्यास्टिकको असर अल्सर हुँदै, क्यान्सरसम्म हुनसक्छ । कहिले काहीँ आमासाय र आन्द्रामासमेत प्वाल पर्नसक्छ । यसले मानिसलाई मृत्युको मुखमा धकेल्छ ।

ग्यास्ट्राइटिस कसरी थाहा पाउन सकिन्छ ?

सामान्य लक्षणले पनि यो रोग लागेको अनुमान लगाउन सकिन्छ । तर इन्डोस्कोपी गरेमा यसलाई सजिलै पत्ता लगाउन सकिन्छ ।

पेटको माथिल्लो भागमा दुख्ने, पोल्ने, भोमिट होला जस्तो हुने, खाना खान मन नलाग्ने, पेट ढुस्स फुलेको जस्तो हुने, घाँटीसम्म खाना जम्मा भएजस्तो भएमा ग्यास्टिक भएको हुनसक्छ ।

ग्यास्टिकका लक्षणहरु कहिले काहीँ मुटुरोगका लक्षणसँग पनि मिल्ने भएकाले ग्यास्टिक पत्ता लगाउन इन्डोस्कोपी गर्नुपर्छ । पेटकै पनि प्यान्क्रियाटिटिस , एपेन्डेसाइटिस, कोलेसिस्टाइटिस र पित्तथैलीको संक्रमणका लक्षण पनि ग्यास्टिकसँग मिल्न सक्छ ।

ग्यास्ट्राइटिसबाट कसरी बच्ने ?

ग्यास्ट्राइटिसको उपचार यसको गम्भीरतालाई हेरेर मात्र गर्न सकिन्छ । धेरै समस्या निम्तिएको छ भने औषधि सेवन गर्नु नै उत्तम हुन्छ । बच्नका लागि भने खाना समयमा नै खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने गर्दा यो रोगबाट बच्न सकिन्छ ।

सकभर धुमपान र रक्सी सेवन नगर्ने, मानसिक चिन्ता नलिने र शारीरिक ब्यायाम गर्दा पनि यस रोगबाट बच्न सकिन्छ ।

औषधि सेवन गर्दा दुखाइ कम गर्ने औषधि अनावश्यक र अत्यधिक सेवन गर्नु हुँदैन । यसको गम्भीरता हेरेर तत्काल उपचार थाल्नुपर्छ । यसको असर अल्सर हुँदै क्यान्सरसम्म पुग्छ । धेरै नेपाली ग्यास्टिकको समस्यामा भएकाले यसबारेमा जनचेतना जगाउन पनि जरुरी छ ।

(चिकित्सकसँगको कुराकानीका आधारमा तयार सामाग्री नागरिक खबरबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *