राजा जनकको दरबारमा भयो राम-सीता विवाह

समाचार

Sharing is caring!

जनकपुरधाम: राजा जनकको दरबारमा सीता स्वयम्बरसहित रामसीता विवाह आइतबार सम्पन्न भएको छ। त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो। त्यसकै स्मरणमा यस वर्ष पनि वैवाहिक समारोह मनाइएको हो।

अयोध्याबाट सीता र रामको डोला ल्याई आएका जन्तीको उपस्थिति र श्रद्धालुको सहभागितामा स्थानीय रंगभूमि मैदानमा स्वयम्बर समारोह गरिएको थियो। ढोल पिपही, सहनाई, बैन्डबाजासहित रंगभूमि मैदान पुगेको रामसीताको डोलाबीच मालाफेर हुँदा नेपाली सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गरेको थियो।

स्वयम्बर समारोह सम्पन्न गरी राम र सीताको डोला जानकी मन्दिरमा फर्काइएको थियो। साँझ जानकी मन्दिर प्रांगणमा बनाइएको भव्य मण्डपमा मिथिला परम्पराअनुसार सीतारामको विवाह भएको हो। मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णव सीताका अभिभावक र राम मन्दिरका महन्थ रामगिरी रामका अभिभावक बनी सहभागी भए।

विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउन प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिएको थियो। राष्ट्रिय बिदा घोषणाको माग जनकपुरवासीले गर्दै आए पनि सुनुवाइ भएको छैन।

देश–विदेशबाट आएका लाखौं पाहुनाले जनकपुर भरिभराउ बनेको छ। भारतको टिकमगढ राज्यकी रानी वृषभानु कुँवरले १९१० सालमा नौलखा मन्दिर बनाएकी थिइन्। मुगल शैलीमा बनेको यस मन्दिरको ६० वटा कक्ष अतिथिले भरिभराउ छन्।

कतिपय कोठा उपहारले भरिएका छन् भने कतिपयमा पकवान र खानेकुरा छन्। २ सयभन्दा बढी भान्से पकवान बनाउन व्यस्त छन्। जन्ती बिदाइका लागि जोहो गरिएका उपहारले चार कोठा भरिएका छन्। मन्दिरका कुना–कुना रंगीबिरंगी फूलले सजाइएको छ। बिजुलीले मन्दिर झकिझकाउ पारिएको छ।

सीता र रामको विवाह यहीं विवाह भएको मानिन्छ। छोरीको विवाहका लागि जनकले शिवको धनुषमा ताँदो चढाउने प्रतिस्पर्धासहितको स्वयम्बर आयोजना गरेका थिए। अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको उल्लेख पाइन्छ। रामले विवाहको सर्त जितेको हुनाले उनलाई सीताले वरमाला लगाइदिएकी थिइन्।

‘पाँच सय वर्ष पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौं’, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने। उनका अनुसार पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रूपमा आउनेलाई जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे। ‘तर २०६१ सालदेखि अयोध्याबाट जन्ती आउन थालेका हुन्’, उनले भने।

रामायणमा जुन बाटोबाट जन्ती गएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुर पुर्‍याइएको थियो। त्यसयता हरेक पाँच वर्षमा औपचारिक रुपमा जन्ती ल्याउने गरिएको छ।

राम मन्दिरका महन्थ राम गिरीका अनुसार ५० वर्षअघि महोत्वस भव्य हुन्थ्यो। जनकपुरका पहडिया गाछी, तिरहुतिया गाछी, रामगाछीमा खुसियाली छाउँथ्यो। पछि राजनीतिक संक्रमण र देशमा भएका विभिन्न परिवर्तनले महोत्सवलाई प्रभावित पारेको उनको भनाइ छ।

जानकी मन्दिरमा उल्लास भए पनि बाह्रबिघालगायत मठमन्दिर, पाटीपौवा तथा सडक, अखडामा साधुको विजोग छ। विवाह पञ्चमीमा आएका साधुसन्त बस्न तथा खान नपाएर बिजोग भएको अयोध्याबाट आएका रामस्वरुप दास वैष्णवले बताए। ‘पिउने पानीकै अभाव छ, खानाको त कुरै छोडौं’, उनले भने, ‘हामी साधुसन्त जहाँ मन लाग्यो त्यहीं खाँदैनौं। हामीलाई पवित्र चाहिन्छ तर यहाँ त्यस्तो कुनै व्यवस्था छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *