सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमणः घाइते असईलाई उपचारका लागि काठमाडौं ल्याइयो

सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमणः घाइते असईलाई उपचारका लागि काठमाडौं ल्याइयो

समाचार

Sharing is caring!

मध्यराति आएको समूहकोे आक्रमणबाट घाइते भएका सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीका इन्चार्ज असई सन्तोषकुमार झालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनले स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि असई झालाई काठमाडौं पठाइएको जानकारी दिए।

‘अवस्था त्यस्तो क्रिटिकल त होइन, तैपनि हामीले असईलाई उपचारका लागि काठमाडौं पठाएका छौं,’ घटनास्थलमा खटिएका एसपी महर्जनले नेपालखबरलाई टेलिफोनमा भने, ‘अर्का घाइते हवलदारको भने यतै उपचार भइरहेको छ।’

शुक्रबार राति मोटरसाइकलमा आएका १२/१५ जनाले सिन्धुपाल्चोकको मेलम्ची पाँचपोखरीथाङपाल गाउँपालिका वडा नम्बर ८, तिपेनी खाल्डेमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका हुन्।

आक्रमणबाट चाैकीका इन्चार्ज असई झासहित प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएकाे एसपी महर्जनले जानकारी दिए।

असई झालाई काठमाडौंको कुन अस्पताल ल्याइएको भन्नेबारे भने आफूलाई जानकारी नआएको एसपी महर्जनले बताए।

हवल्दार मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।

मोटरसाइकलमा आएको समूहले एक्कासि प्रहरी चौकीमा हुलदंगा गर्न खोजेको र प्रहरीले सम्झाईबुझाई गर्दा उल्टै आक्रमणमा उत्रिएको एसपी महर्जनको भनाइ छ।

त्यो समूह कस्तो हो, के कारण आक्रमण गरेको हो भन्ने विषयमा अहिलेसम्म थाहा हुन नसकेको उनको भनाइ छ। ‘हामी त्यही बुझ्ने प्रयासमा छौं, अहिलेसम्म खुल्न सकेको छैन,’ उनले भने।

आक्रमणकारीको खोजी जारी, जंगलभरि प्रहरी
प्रहरी चौकी आक्रमणमा संलग्न समूहका एक सदस्य पक्राउ परे पनि अन्यको खोजी भइरहेको छ।

एसपी महर्जनका अनुसार अहिले तिपेनी प्रहरी चौकीनजिकको गाउँ तथा जंगलमा प्रहरी तैनाथ भएका छन्।

‘अहिलेसम्म घटनामा संलग्न १ जना र तिनले प्रयोग गरेका चार मोटरसाइकल नियन्त्रणमा लिएका छौं,’ एसपी महर्जनले भने, ‘समूहका अन्य व्यक्ति फेला परेका छैनन्, व्यापक रूपमा खोजी जारी छ।’

सदरमुकामबाट आफ्नो (एसपी प्रज्वल महर्जन) नेतृत्वको टोलीसहित मेलम्ची चौकीलगायतबाट गरी तीन प्रहरी टोली आक्रमणकारीको खोजीमा जुटेको उनले बताए।

‘गाउँमा, जंगलमा तथा सम्भावित नाकामा हामीले खोजी व्यापक पारेका छौं,’ उनले भने।

घटनाको अनुसन्धान जारी नै रहेकाले पक्राउ परेका व्यक्तिको नाम पनि अहिले खुलाउन नमिल्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *