फेसबुकमा स्टाटस राखेर किन युवाहरु आत्महत्या गर्छन्

फेसबुकमा स्टाटस राखेर किन युवाहरु आत्महत्या गर्छन् ?

समाचार

Sharing is caring!

सिन्धुपाल्चोक बाहृबिसेका श्याम बस्नेतले साउनको सोमवार बेलुकापख सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोस्ट गरे ।

 

लेखिएको थियो :

”अब मलाई पुग्यो । तिम्रै शरणमा परेँ लैजाउ …जय शम्भो ।”

साउनको महिना, त्यो पनि सोमवार ।

उनले स्टाटसमा ‘शम्भो’  लेखेका कारण उनका साथीभाई र फेसबुक फ्रेण्डहरुले यो स्टाटसलाई सामान्य रुपमा लिए ।

किनकी परिस्थिति आत्तिहाल्नुपर्ने थिएन ।

साउन भएर उनले यो स्टाटस राखेको धेरैले अनुमान गरेका थिए ।

ओई साले के पुग्यो ? दिइस् आज ?
.
.
.

लोक्कल ठर्रा हा हा हा….(अनिल लम्घाडे नामबाट यस्तो कमेन्ट आएको थियो ।)

स्टाटसमा कमेन्ट र रिप्लाई गर्नेहरुको ओइरो लागेको थियो ।

भोलिपल्ट बिहान उनै बस्नेतले अर्को स्टाटस पोस्टिए  ।

”जीवन निराश छ, अब भेट नहुन पनि सक्छ यार गुड बाई ।”

फेरि कमेन्टको लर्को लाग्यो ।

रोएको, हा.. हा.., वा, ‘स्याडवाला’ ईमोजी र स्टिकरहरु ओईरो लागे ।

केही थान लाईक पनि पायो त्यो स्टाटसले ।

तर श्यामले कुनै लाइक कमेन्ट हेर्न पाएनन् ।

किनकी परिस्थितीले नयाँ मोड लियो अर्थात् उनले यो स्टाटस पोस्ट गरे र घर नजिकैको ‘खनायोको’ रुखमा आमाको सारीको पासोमा झुण्डिएर आत्महत्या गरे ।

पछि उनको स्टाटसमा ‘रिप’ लेख्नेहरुको लर्को लाग्यो ।

को हुन् उनी ?

श्याम विद्यार्थी हुन् ।

गाउँमैै एउटा प्लस टु मा म्यानेजमेन्ट अध्ययन गर्ने ।

१७ पुगेका वैशाखमा ।

गाउँको जनज्योति युवा क्लबका सचिव हुन्, उनी ।

गाउँको विकासमा सक्रिय रुपमा भूमिका खेल्ने ।

गाउँमा एक साता अघि उनकै नेतृत्वमा रक्तदान कार्यक्रम समेत आयोजना भएको थियो ।

उनलाई नजिकबाट चिनेकाहरु भन्छन्, ७२ साल वैशाख १२ गते महाभूकम्प आउँदा ध्वस्त भएको सिंगो गाउँको प्राण भर्न अहोरात्र खटिएका थिए श्याम ।

त्यसको तीन वर्षपछि गाउँ सम्पूर्ण रुपमा पुनर्निर्माण गरिएपछि एउटा विदेशी संस्थाले उनीहरुलाई टोकन अफ लभ सहित केही डलर पनि सम्मानस्वरुप दिएको थियो ।

प्रहरी अनुसन्धानबाट खुलेको छैन उनले आत्महत्या गर्नुको कारण ।

तर प्रहरी भन्छ, हिजोआज फेसबुकमा स्टाटस राखेर आत्महत्या गर्ने युवाहरुको संख्या बढ्दै गएको छ  ।

उनीहरु सहानुभूतिको लागि यसो गर्छन् ।

आवेशमा लिईएको खतरनाक निर्णय : आत्महत्या  

नुवाकोटकी १६ वर्षिय सानु जिरेलले एसएलसी परीक्षामा अनुतिर्ण भएपछि स्टाटस पोस्ट गरिन् ।

”ह्वाट द हेल !”

नतिजा अस्वभाविक आएपछि उनले यो स्टाटस पोस्ट गरिन् ।

घटनामा यतिमै पूर्णविराम लागेन ।

एउटा तीतो र अस्वभाविक लाग्ने ‘ट्वीस्ट’ आयो ।

उनले साँझ विष सेवन गरिन् ।

विष पिउनु केहि मिनेट अघि मात्रै उनले यस्तो स्टाटस फेसबुकमा पोस्ट गरेकी रहिछिन् ।

”मलाई बाँच्न पुग्यो ईश्वर ।”

*****
काभ्रे पालुवारीकी १६ वर्षिया रमिला जम्कटेल ८ कक्षामा अध्ययन गर्दै थिइन् ।

कुनै एउटा विदेशी संस्थाको सहयोगमा अध्ययन गरिरहेकी थिइन ।

एसईई दिएर बसेका विद्यार्थीलाई स्कुलले  बिदाई कार्यक्रम राखयो । नगरकोटमा ।

साथीहरुले उनलाई सुनाए ।

उनी पनि पिकनिकमा जान मानसिक रुपमा तयार भइन् ।

घरमा लुगा धुँदै गरेकी आमालाई पिकनिक जाने र स्कुलको बिदाई खाने कुरा सुनाइन् ।

आमाले कति पैसा लाग्छ सोधिन् ।

एक हजार रुपैयाँ  रे ।

बाफ्रे त्यत्रो पैसा कहाँ पाउनु ? आमाले यति भनेपछि सरासर बुईंगल पुगेकी उनले ‘नो मोर निड’ लेखिन् र बुर्इंगलको बीचको खाँबोमा झुण्डिइन् ।

पछि प्रहरीसँगको बयानमा मृतककी आमाले रुँदै भनेकी थिइन् ‘छोराछोरीका लागि मैले ज्यानै बेच्न परेपनि बेच्थेँ  एक हजार रुपैयाँमा जिब्रो टोक्दा आज छोरीले संसार छोडी । अब म बाँच्नुको सार छैन ।’

*****

धादिङ गजुरीका रामकृष्ण अधिकारीको पीडा पनि कम्ता दर्दनाक छैन ।

बुढेसकालको एकमात्रै सहारा छोराले आफूलाई प्रेमिकाले धोका दिएको नाममा फेसबुकमा ‘फुल स्टप’ भन्ने स्टाटस लेखेर आत्महत्या गरेपछि उनको आधा होस हराएको छ ।

उनी दिउँसै बर्बराउँछन् ।

नेपाल प्रहरीको ‘ईन्स्पेक्टर’ बन्ने सपना बोकेका अधिकारी प्रहरी निरीक्षक बन्ने ध्याउन्नमा लोक सेवाको क्लास लिन केही महिना राजधानी बसेका थिए ।

उनले चाहेबमोजिम नतिजा हात लागेको थियो ।

तर अचानक अधिकारीका छोरा राजले आत्महत्या गरे ।

किन ?

राजकी प्रेमीका सविना ११ मा पढ्ने युवती ।

सविनाको प्रवेशिका परीक्षामा राज ‘गार्ड’ बसेका थिए ।

परीक्षा चलिरहँदा सविनाको मोबाइल बजेका कारण परीक्षा सुपरिवेक्षण गर्न आएका घिमिरे सरले उनलाई गलत्याएर निकाल्न भनेका थिए ।

राजले बचाए ।

केश थामथुम पारे ।

अन्तत उनले परीक्षा दिन पाइन् ।

आफ्नो लाईफमा फिल्मी शैलीमा ‘सिंघम स्टाइलमा ईन्ट्रि’ मारेको कारण राजलाई आफ्नो मनको राजा सोच्थिन् सविना ।

उनीहरु बीचमा राम्रो प्रेम सम्बन्ध थियो ।

समाजको आईडियल जोडी ।

राज प्रहरी निरीक्षकको तयारीमा काठमाडौँ आएको बेला सविनाले साथीभाईसँग घुमघाम गर्न गएको तस्वीरहरु दिनदिनै पोस्टिन थालिन् ।

ठ्याक्कै यही बिन्दुबाट शुरु भयो सम्बन्धमा दरारका रेखाहरु ।

दिनदिनै भनाभन गर्नु, एकले अर्कोको पासवर्ड चेन्ज गरिदिनु, हप्तौँ फोन अफ गर्नु, विलौना गरेका तस्वीर एक अर्कालाई पठाउनु उनीहरुको दैनिकी बन्यो ।

एक हप्ता फोन अफ गरेकी सविनासँग भेट्न आतुर थियो राज ।

कलंकीबाट बस चढ्यो ।

मनमा अनेक तर्क वितर्कको हुण्डरी चलेको थियो ।

घर पुगेर दौडदै सविनाको घर हिँडेको राजले बाटैमा थाहा पायो । सविना बैरेनीतिरको टिपर चालकसँग भागिन् ।

‘राज कसैसँग नबोली घर लम्केको थियो’ देख्नेहरु भन्छन् ।

‘दुई हातले कपालमाथितिर फर्काउँदै लम्केको थियो ।’ राजका छिमेकी सुनाउँछन् ।

अहिले पनि राजको फेसबुक प्रोफाइल चेक गर्दा ‘ईन अ रिलेसनसिप विद सविना कुँवर’ छ ।

अनि स्टाटस उही पुरानै, ”फुल स्टप ।”

‘स्क्रोलडाउन’ गर्दा आत्महत्या भएको अघिल्लो दिन राति ११ः३० मा एउटा स्टाटस देखियो

”मलाई यो जिन्दगीले चोट दियो घरी घरी” ।

*****

यी प्रतिनिधि घटनाहरुले पछिल्लो समय युवाहरु आफूमा आएको सबैखाले परिवर्तनहरु सामाजिक सञ्जालमा छताछुल्ल पार्न चाहन्छन् भन्ने संकेत गर्दछ । आफू संसार  नै  छोडेर जाँदैछु भन्ने कुरा साथीभाई माझ राखेर जाउँ भन्ने अन्तरद्वन्द्का बीच नै उसले यस्ता हर्कत गर्छ र अन्तिममा आत्महत्या गर्छ ।

अनुसन्धानबाट के देखिएको छ भने कुनै ठूलै अपराध गरेर अव जुनकुनै हालतमा प्रहरीको फन्दामा पर्छु भन्ने निश्चित भएकाहरु पनि आत्महत्याको बाटो रोज्छन् ।

प्रहरी अधिकारी भन्छन् : आत्महत्या एक किसिमको अपराध हो । हरेक मान्छे कुनै न कुनै बेला आत्महत्याको कोसिस गर्छ ।  खासगरी प्रेममा धोका पाउनु, पारिवारिक कलह, आफूले सोचेका कुराहरु पुरा नहुनु कमजोर आर्थिक हैसियत, मानसिक रोग, मादकपदार्थ सेवन, हितैसी मित्रसँगको खटपट, दीर्घरोगले सताउनु  लगायतका कारण पनि मानिसले आत्महत्या गर्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।अनुसन्धानबाट के देखिएको छ भने आत्महत्या गर्ने व्यक्तिको माग प्रायगरी पूरा गर्न नसकिने किसिमका हुन्छन् किनकी आत्महत्या गर्ने व्यक्ति अडिग भएर बस्छ । कुनै ठूलै अपराध गरेर अव जुनकुनै हालतमा प्रहरीको फन्दामा पर्छु भन्ने निश्चित भएकाहरु पनि आत्महत्याको बाटो रोज्छन् ।

*****

समाजशास्त्री सविता प्रसाईं भन्छिन् : मानिस धेरैजसो समय सामाजिक कारणले आत्महत्या गर्दछ । कसैले केही भन्छ कि भन्ने डरले उसले आत्महत्या गर्छ ।

*****
मनोविद् भन्छन्  : हरेक मानिस सहानुभूतिको भोको हुन्छ । मानसिक रुपमा विक्षिप्त मानिस अझ बढी सहानुभूति चाहन्छ । संसारमा अब मेरा लागि केही पनि बाँकी छैन भन्ने मानसिकताले त्यो अन्तिम समयका मानिसलाई यसरी गाँजेको हुन्छ कि म सबैलाई जानकारी गराउँ अथवा बिदा मागुँ भन्ने सोच हावी हुन्छ । त्यसकारण पनि सामाजिक सञ्जालमा पोखिन्छन् युवाहरु ।

*****

समाजमा जहिलेदेखि हामी आत्महत्याको घटना सुन्दै आएका छौं, त्यो समयदेखि नै मानिसले केही न केही क्लु ‘हिन्ट्सहरु’ छोडेर गएका हुन्छन् । सुसाईड नोट, भित्ते लेखन, कसैलाई प्रेषित गरेको चिठी, ऋणधनको जानकारी, हिसाबकिताब, मेलमिलाप गर्ने आदि ।

जीवनको अन्तिम घडीमा घुमिरहँदा अर्थात् आफ्ना ईच्छा आकांक्षा, सोच, सपना, उपलब्धिहरुलाई तिलाञ्जली दिइरहँदा उनीहरुको मनमा पश्चाताप, के गरुँ ? कसो गरुँ ? को आगो दन्किएको हुन्छ । आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक, धार्मिक रुपमा वा हुनसक्छ मानसिक सन्तुलन गुमाईसकेको व्यक्ति अन्तिम भावना सार्वजनिक गरुँ भन्ने सोच बनाउँछ । समाजमा जहिलेदेखि हामी आत्महत्याको घटना सुन्दै आएका छौं, त्यो समयदेखि नै मानिसले केही न केही क्लु ‘हिन्ट्सहरु’ छोडेर गएका हुन्छन् । सुसाईड नोट, भित्ते लेखन, कसैलाई प्रेषित गरेको चिठी, ऋणधनको जानकारी, हिसाबकिताब, मेलमिलाप गर्ने आदि ।

मनोविद् बासु आचार्य थप्छन्,  ”यतिसम्म कि कोही व्यक्ति आत्महत्या गर्ने समय नजिक हुँदा गल्तीको प्रयाश्चित स्वरुप माफीसमेत माग्छन् । आफ्ना महत्वपूर्ण सामग्रीहरु अरुलाई बाँड्छन् ।”

यस्तो हुनसक्छ, समाधान 
मनोविद्, प्रहरी, समाजशास्त्री, ‘काउन्सलर’ र विज्ञहरुको भनाइ यस्तो छ ।

आत्महत्यालाई नियन्त्रण गर्न सकिन्न । तर न्युनीकरण गर्न सकिन्छ ।

  • रिस वा आवेगको व्यवस्थापन गर्ने ।
  • पारिवारिक, सामाजिक, आर्थिक, शारीरिक र मानसिक, राजनीतिक आदि कारणहरुले व्यक्तिले आत्महत्याको बाटो रोज्छ । यसतर्फ सजग हुनैपर्छ ।
  • मानसिक स्वास्थ्यमा ध्यान दिने । डिप्रेसन, मानसिक असन्तुलन, लागुपद्धार्थ दुव्र्यसनी, धुम्रपान तथा मद्यपानको कुलत, केही दीर्घकालीन रोगहरु । जसको पहिचान गरेर उपचार गर्न सकेमा पनि धेरै हदसम्म आत्महत्या रोक्न सकिन्छ ।
  •  गर्भ बस्न लागेको समयमा वा भर्खरै गर्भावस्था भएमा ध्यान पुर्याउने ।
  • हिजोआज विभिन्न केन्द्रले ध्यान तथा साधना गर्ने सेवाहरु दिइरहेका छन् । ती सेवाहरु लिने व्यक्तिमा पनि नकारात्मक भावना आउँदैनन् ।
  • आत्महत्या न्युनीकरण गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
  • परिवारमा कोही सदस्यले नयाँ तथा फरक लाग्ने अस्वभाविक लाग्ने सामान्य व्यवहार देखाएमा तत्काल मनोपरामर्शदाता वा ‘काउन्सिलर’ सँग सम्पर्क राख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *