‘सरकार आयो, घर भत्कायो, गायव भयो’

‘सरकार आयो, घर भत्कायो, गायव भयो’

समाचार

Sharing is caring!

२८ माघ, बर्दिवास । महोत्तरीको बर्दिवासबाट २२ किलोमिटर दक्षिणमा छ, औरही नगरपालिका । कतै धुलाम्य त कतै हिलाम्य सडकमा एक घन्टा गुडेपछि पुगिने यो सानो बजारको आकार बढिरहेको जनाउ धमाधम बनिरहेका पक्की घरहरुले दिन्छन् । फराकिलो कच्ची सडकले पनि लगानीको आशामा धुलो उडाइरहेझैं लाग्छ ।

माघको अन्त्य हुन लाग्दा घाम देखिने क्रम बाक्लिँदैछ । हिउँदभर शीतलहर खेपेका मानिसहरु घाममा बसेर तात्तातो चिया खान मजा मानिरहेका छन् । धुले सडकमा मोटरसाइकल र रिक्साको चाप बढेको छ । ट्रयाक्टरहरुमा समेत खचाखच मानिस देखिन्छन् । मिठाइ पसल, माछा रेस्टुरेन्ट, इँटा भट्टा, चामल उद्योग आदि पूर्ण क्षमतामा चल्न थालेका छन् ।

औरही बजार बीचमा रहेको नगरपालिका भवनलाई दाहिने पार्दै फेरि देब्रे लागेपछि धेरैजसो टायलको छाना देखिने ठूलै बस्ती आइपुग्छ । त्यो बस्ती काटेर केही मिनेट अगाडि बढेपछि ठूलो कम्पाउण्डवाला भवन देखिन्छ । पूर्वमन्त्री शरदसिंह भण्डारीको यो घर नजिकै ६५ परिवार मुसहरको बस्ती छ ।

दलित बस्तीमा छिरेपछि तीन धुरमा जग्गामा बन्दै गरेको घरमा कुचो लिएर उभिएकी जोगी सदा भेटिइन् । ३५-३६ वर्षकी जस्तै देखिने उनलाई आफ्नो खास उमेर थाहा छैन ।यीमध्ये पनि फुसको छाना भएको घर हुने २० परिवार मात्र छन् । बाँकी सबै गोठ पनि भन्न नमिल्ले वासमा छन् । बस्तीमा छिर्ने सानो डोरो बाटो छ ।

भत्किएको घरमा जोगी सदा । स-साना तीन कोठा निकाल्न लागिएको घरमा पर्खाल उठिसकेको छैन । चार सदस्यीय सदा परिवारले त्रिपालको ओतमुनि पराल छरेर ओछ्यान र भान्सा बनाएको छ । उनीहरुको सर्वस्व नै यही तीन धुर घडेरी हो ।

यो बस्तीमा ६ महिनाअघि सरकारको जनता आवास कार्यक्रम आयो । कार्यक्रमले सित्तैमा नयाँ घर बनाइदिने भन्दै सदा परिवारलाई फुसको घर भत्काउन लगायो र अलिकति गाह्रो उठाएर गायब भयो । सदा परिवार हिउँदभर खुला हावामा बसेर शीतलहर काट्न वाध्य भयो ।

काम गर्न भारतको पञ्जाव पसेका जोगी सदाका श्रीमानले मासिक ८-१० हजार रुपैयाँ पठाउँछन् । यति पैसाले दुईछोरा सहितको परिवार चलाउन जोगीलाई निकै गाह्रो परिरहेको छ ।

उनको छिमेकी रविता सदाको हालत पनि उस्तै छ । तीन महिनाको छोरीलाई यो हिउँदमा जोगाउन सकेकोमा उनी चकित छिन् । उनका अरु दुई छोरी अलकत्राको ड्रमभित्र खेलिरहेका छन् । उनीहरु खेल्दाखेल्दै त्यही निदाउँछन् । किनकी बाहिरभन्दा त्यहाँ न्यानो छ ।

जनता आवास कार्यक्रमले बनाइदिन खोजेको रविता र जोगी सदाको घरको हालत समान छ ।

निर्माणाधीन घरमा त्रिपालमुनि छिरेर परालमा बस्न पर्छ । रविताका श्रीमान अरुको खेतमा काम गर्छन् । ‘काम भए दिन पाँस सय रुपैयाँ आउँछ, काम नपाएको दिन भोकै बस्न पर्छ’, रविता भन्छिन् ।

जाडोबाट बचेको काखे बालिका खेलाउँदै रविता । उनीहरुलाई जाडोको एक दिन एक वर्षजस्तै लाग्छ । अस्ति रातभर पानी पर्दा बुढाबुढीले त्रिपालबाट पालैपालो पानी फाल्दै रात कटाएको रविताले बताइन् । त्यसबेला उनी सुत्केरी अवस्थामा थिइन् । उनले जुम्ल्याहा छोराछोरी पाएकी थिइन् ।

एक बिहान छोराछोरीलाई दूध खुवाएर खाना पकाउने सुर गर्दै थिइन् रविता । त्यहीबेला जाडोले कक्रेर छोराको मृत्यु भयो । ‘हामीसँग एक रुपैयाँ थिएन’, रसिलो आँखा पार्दै उनले भनिन्, ‘न न्यानो पार्न सकियो, न त अस्पताल लैजान ।’सरकारले तोकेको आधारभूत मानवीय सुविधाबाट कोषौं टाढा छ यो मुसहर बस्ती । छेवैको सार्वजनिक पोखरीको पानीले प्यास मेटाउन विवश यो बस्ती बिजुलीको उज्यालोको कल्पना समेत गर्न नसक्ने अवस्थामा छ ।

रविताको परिवार सुत्ने कोठा । रविताको घरबाट तीन घर परका ६२ वर्षीय राम एकवाल सदा पनि जनता आवासमै बसिरहेका छन् । त्यो पनि रविताको घरको जस्तै हालतमा छ ।

अरुका खेतका मुसा खाएर हुर्किएका राम एकवालले १०-१५ वर्षयता मुसा पनि मासिएको अनुभव सुनाए । ‘हामीलाई दुःखले कहिल्यै छाडेन’, उनले भने, ‘अर्काको खेतमा काम नगरेको दिन परिवार भोकै बस्छ ।’

६ सदस्यीय उनको परिवारबाट तीनजना दैनिक काममा जान्छन् । र पनि दुईछाक खान धौधौ परेको उनले सुनाए । ‘भरपेट खाने र न्यानोमा सुत्ने मन कसलाई हुँदैन र !’, राम एकवाल भन्छन्, ‘तर, न्यानोमा सुताउने भनेर हामीलाई सरकारले पनि ठग्यो ।’

सरकारले हेरी छाडेको औरहीको मुसहर बस्तीमा रहेकै बेला अनलाइन न्युज पोर्टलहरुमा समाचार आए- ‘सप्तरीको राजगढ गाउँपालिका- ४, वेल्ही चपेनाका १२ मुसहर परिवारको घरमा डोजर चल्यो । जाडोमा खुला आकासमुनि बास । न्याय माग्दै राजविराजमा आएका उनीहरुले प्रशाससनसँग सुरक्षित बासका लागि आग्रह गरेका छन् । आदि आदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *