सहकारी क्षेत्र सम्पति शुद्धिकरणको निकै जोखिममा

सहकारी क्षेत्र सम्पति शुद्धिकरणको निकै जोखिममा: महानिर्देशक भट्टराई

समाचार

Sharing is caring!

काठमाडौंः सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी संस्थाहरु सम्पत्ति शुद्धीकरणका हिसाबले अत्यन्तै जोखिममा रहेको बताएका छन ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आइतबार काठमाडौंमा आयोजना गरेको सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण विषयक छलफल कार्यक्रममा महानिर्देशक भट्टराईले सहकारीमा भ्रष्टाचार, ट्याक्स छलि भएको रकम आउन सक्ने जोखिम उच्च रहेको बताए ।

सहकारी क्षेत्रमा मानिसको दवाव र बैंकिङ अपराध बढ्न सक्ने उच्च जोखिम समेत रहेकोले त्यसको सुपरिवेक्षणमा सहकारी विभागले आफ्नो सक्रियता बढाउनुपर्ने उल्लेख गरे । सहकारी क्षेत्र सम्पति शुद्धिकरणको निकै जोखिममा रहेको उनले बताए । ‘सम्पति शुद्धिकरण विभागले रिक्स एसिस्मेन्ट गर्दा सबैभन्दा बढी भ्रष्टाचार, दोस्रोमा कर छली, तेस्रोमा ह्युमन ट्राफिकिङ, चौथोमा बैंकिङ ठगी रेड लाइनमा देखिएको छ,’ महानिर्देशक भट्टराईले भने ‘यो सबै रेड लाइनमा भएको पैसा सहकारीमा छ भन्ने आएको छ ।’

यदि त्यो पैसा कालोधन हो कि हैन भन्ने विषयमा विभागले अध्ययन गर्ने र त्यो पैसा कालोधन हो भन्ने जान्दाजान्दै पनि सहकारीले निक्षेपको रुपमा लिएको खण्डमा कारबाहीमा पर्ने बताए । उनले भ्रष्टाचार, कर छली, मानव बेचविखन, बैकिङ ठगी लगायत गैरकानूनी तरिकाले आर्जन गरेको पैसा सहकारी क्षेत्रमा रहेको पाइएकोले सहकारीले त्यस्तो पैसाका बारेमा विभागलाई जानकारी गराउन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डाक्टर टोकराज पाण्डेले विभागले जारी गरेका निर्देशनहरु सहकारी संस्थाहरुले अक्षरस परिपालना गर्नुपर्नेमा जोड दिए । उनले सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा अन्तर्राष्ट्रिय दायित्व भएकोले पनि यो विषयमा जानकारी भएन भनेर छुट नहुने बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धी कानून पालना गर्न सबै तयार हुनुपर्ने बताए । पछिल्लो समयमा सहकारी संस्थाहरु पनि यसमा निकै सचेत भएको उनको भनाई छ ।

केहीलाई उक्त ऐन कार्यान्वयनमा समस्या भएकाले त्यस्ता सहकारीलाई तालिम आवश्यक पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *