देउवा–प्रचण्डसँग राष्ट्रपतिको असन्तुष्टि, सम्पादकसँग गरेका गम्भीर चिन्ता यस्ता छन्, चिन्ताले चितामा देशमा

समाचार

Sharing is caring!

सरकारका कामकारबाहीमाथि राष्ट्रपति विद्यादेवी भण्डारी नै सन्तुष्ट छैनन् । देश गम्भीर संकटमा फस्दै गएको विषय राष्ट्रपतिको जानकारीमा छ । फलतः राष्ट्रपति भण्डारीले चार दर्जन सम्पादकलाई बोलाएर शीतलनिवासमा चिन्ता व्यक्त गरेकी छिन् । नेपालीमा एउटा उखान छ, ‘चिन्तै–चिन्ताले चिताको मात्रै बाटो देखाउँछ’ ।त्यसैले अनावश्यक चिन्ता कसैका लागि फाइदाजनक छैन । किनकि चिन्ता आफैमा कुनै समाधान होइन । तर चिन्तालाई हल गर्दै समाधान गर्न सकियो भनेत्यो फाइदाजनक छ ।

अहिले पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीहरुको चिन्ता देश डूब्दै गरेको विषयमा छ ।यही चिन्ता लिएर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले करिब ४० जना चल्तीका सम्पादकसँग भेटघाट गरिन् ।सेनालाई जुत्ता बोकाएर फोटो भाइरल भएको प्रसंगदेखि भूकम्पका बेला कालो चश्मा लगाएर आलोचित बनेको विषयसम्म सम्पादकसँग उजागर गरेकी भण्डारीले लेखोटरुपमै पाँच बुँदामा तयार पारेको सामाग्री पढेर देशप्रति चिन्ता जाहेर गरिन् । जसको प्रथम नम्बरमै अर्थतन्त्रमाथि गम्भीर चिन्ता गरिएको छ ।बार्षिक १७ खर्बको बजेटमा, १७ खर्बकै व्यापारघाटाले राष्ट्रपतिलाई निकै चिन्तित बनाएको छ ।

झन १९ खर्ब वरिपरिको आयात हुँदा २ खर्ब आसपासको मात्रै निर्यात भएपछि राष्ट्रपतिले चिन्ता गर्नु स्वाभाविक हो । तर यही चिन्तासरकार प्रमुख वा प्रमुख दलका नेताहरुसँग नभई राष्ट्रपतिले सम्पादकसँग गर्दा त्यसको निकासबारे प्रश्न उठेको छ ।

नेकपा विभाजन भएको विषयदेखि नयाँ गठबन्धन बनेको विषयसम्म उठाएकी राष्ट्रपति भण्डारीले आर्थिक सवाललाई बढ्ता जोड दिएकी थिइन् । तर सिंहदरबारका हात्तीहरुसँग राष्ट्रपतिको असन्तुष्टि थियो । खुट्टाले टेकेर उभिनुपर्ने, टाउकाले टेकेर हिँड्दा हुन्छ त? भन्ने प्रश्न गरेकी उनले खुट्टाले टेकाउने आफ्नो प्रयास रहेको समेत बताएकी थिइन् । तर, ठूलो हात्तीलाई सानो लगामले नसक्ला कि भन्ने चिन्ता पनि थियो ।

सिंहदरबारमा हात्ती धेरै भएको विषयसँगै सरकारका कामकारबाहीमाथि राष्ट्रपतिको गम्भीर असन्तुष्ट देखिएको छ ।तर राष्ट्रपतिले शीतलनिवासदेखि सत्तापक्षकै सांसदले संसदसम्म चिन्तामात्रै गरिरहँदा देश थप कंगाल बन्ने चरणमा छ ।

राष्ट्रपतिको काम कर्तव्य सरकारका कामकारबाहीमाथि निगरानी राख्नु र गलत गर्न नदिनु पनि हो । अहिलेको अवस्थामा राष्ट्रपतिले गरेको चिन्तालाई अस्वभाविक मान्न सकिँदैन । तर त्यही विषयमा प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका नेताहरुसँग छलफल, परामर्श नगरि समाधानमा जोड नदिनु भने अस्वभाविक हुनसक्छ ।

त्यसबाहेक एकपछि अर्काे गरि सरकार सञ्चालकहरुबाट गलत भइरहँदा पूर्व राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री र सांसदहरुले समेत गम्भीर चिन्तामात्रै गरिरहेका छन् । सत्तापक्षका सांसदहरु नेतृत्वसँग बोल्न डराउँछन्, प्रतिपक्ष मौन सहमतिको इशारा गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.