राप्रपाद्वारा एकैदिन साना ठूला १६५ सभा सम्पन्न

समाचार

Sharing is caring!





राप्रपाले आज देशका सबै १६५  निर्वाचन क्षेत्रमा साना ठूला प्रदर्शन र सभाहरू सम्पन्न गरेको छ । गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्षको कार्यक्रम गरेको राप्रपा अहिले दोश्रो चरणको आन्दोलनमा होमिएको छ । दोश्रो चरणको दोश्रो कार्यक्रमको रुपमा आज देशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कोणसभा गरिएको हो ।

राप्रपाले किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, महारोगको रुपमा फैलिएको भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ०४७ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने लगायत जनजीविकासंग सम्बन्धित विविध माग राखेको छ ।

यसको अलावा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्रप्रमुखको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित बनाउन निष्पक्ष चुनावी सरकारको गठन लगायतका विभिन्न २२ बुँदे माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

राप्रपाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको छ । राप्रपाले आगामी साउन १८ गते सबै जिल्लामा भ्रष्टाचार नियन्त्रणको मुद्दालाई प्रखर रुपमा उठाउने भएको छ, यसका लागि पार्टीका सबै भातृ संगठनले कालोपट्टी बाँधेर वा कालो पोशाक लगाएर सडकमा प्रदर्शन र कोणसभा गर्ने भएको छ ।




Leave a Reply

Your email address will not be published.