रुसको कब्जामा रहेको क्षेत्रमा आक्रमणमा परि ५० जनाभन्दा बढी युक्रेनी युद्धबन्दीको ज्यान गएको घटनाको अनुसन्धान गर्न रुसले संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ ।
युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक नजिक रहेको सोधपुछ तथा हिरासत केन्द्रमा रकेट प्रणालीबाट शुक्रवार बिहान भएको आक्रमणमा परि ५३ जना युक्रेनी युद्धबन्दीको ज्यान गएको थियो । आक्रमणमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन् ।
यो आक्रमणलाई लिएर रुस र युक्रेनले एक अर्कालाई दोष लगाइरहेको बेला रुसले अनुसन्धानका लागि संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको एएनआईले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर आक्रमणको वस्तुनिष्ठ अनुसन्धान गर्न रुसले औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका अन्तर्राष्ट्रिय समितिका विशेषज्ञलाई आमन्त्रण गरेको जनाएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो ।