हराउनैपर्ने नेताहरु,पाँच शीर्ष नेतालाई हराउन चल्दैछ अभियान, टक्कर दिन को आउँला ?

समाचार

Sharing is caring!





सत्ता, शक्ति र भक्तिकै बलमा बर्षाैदेखि राज गर्दै आएका नेताहरुलाई हराउन अभियान नै चलेको छ । तर उनीहरुलाई हराउँदैमा देश बन्छ त ? भन्ने प्रश्न अहम् बनेको छ । प्रधानमन्त्री भईटोपलेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई अनि प्रधानमन्त्री नै रहेका शेरबहादुर देउवा जस्ता पाका नेताहरुलाई आगामी निर्वाचनमार्फत विदावारी गर्न ‘हराउ अभियान’ चलेको छ ।सामाजिक सञ्जालमार्फत चलिरहेको ‘नो नट अगेन’ अभियानले ‘जे जति ग¥या,ैं धन्यवाद । अब पालो अरु कसैको’ भन्दैउनीहरुलाई ससम्मान विदा गर्न खोजेको छ । र यसै खालका अभिव्यक्ति राजनीतिज्ञहरुबाट पनि आईनै रहेका छन् । केहीसमय अघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै अघि उभिएर नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले जोरजुलमसँग साहस जुटाए र भने, यो देश अब तपाईँहरुबाट चल्दैन । यो मुलुक बनाउनका लागि तपाईँहरुले विदा लिनु पर्छ ।

तर प्रश्न छ, पूर्वप्रधानमन्त्री र पार्टीको नेतृत्वमा रहेका नेताहरुलाई हराएर देश बन्छ ?सबैलाई थाहा छ, देश र पार्टीको पटकपटक नेतृत्व गरेका यीनै नेताहरु नै अहिलेका समस्या हुन् ।किनकि उनीहरुकै नेतृत्वमा देशको व्यवस्था फेरियो । तर अवस्था उस्तै रहेपछि न देशको उभो लाग्यो न नागरिकको जीवनस्तर फेरियो । झनपछि झन देश कुशासनमा फसिरहेको छ । देशमाथि गद्दार गर्ने फटाहहरुलेसत्तापक्ष र प्रतिपक्षकै मिलिभगतमा सफाई पाइरहेका छन् । तर टाउकेहरुलाई टक्कर दिएर विकल्प बन्न सक्ने टाउकाहरु मुलधारमा नदेखिएपछि पुराना गएर आउने नयाँबाटसमेत आश गर्ने ठाउँ हुँदैन कि भन्ने अर्काे प्रश्न छ ।

देउवा, ओली, प्रचण्ड, माधव या झलनाथ, बाबुराम । उनीहरु सबै देशको नेतृत्व गरेर अनुतिर्ण भएका छन् । पूराना अयोग्य नेताको मूल्यांकन भइसक्दा पनि नागरिकले तिनैलाई अनुमोदन गर्नुपर्ने कारण अब देखिँदैन ।तर उनीहरुले हार्छन भन्नेमै विश्वास गर्न सकिँदैन । किनकि आफु जित्नका लागि जुनसुकै अस्त्रको प्रयोग गर्नेसक्ने उनीहरुलाई हराउनु मामुली कुरा होइन । चुनाव आउन पाँच महिना बाँकी रहेकै बेला एमाले अध्यक्ष ओली निर्वाचन क्षेत्र केन्द्रित बनिसकेका छन् । राप्रपालाई च्यापेर भएपनि जित्नुपर्ने बाध्यता ओलीलाई छ । मुख्यतः ओली–लिङ्देन मिलेर काँग्रेस सखाप पार्ने वा सिटौला–विश्वप्रकाश र लिङ्देनमिलेर एमाले सखाप पार्ने दुई प्रश्न पेचिलो छन् ।

यता प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा असुरक्षित महसुस गरेपछि कैलाली झर्ने चर्चा छ । चितवनमा प्रचण्डले आफै ढुक्क नभएपछि धनुषा जानेसम्मको चर्चा छ । इलाममा झलनाथ खनाल एमालेसहितको वाम एकता गरेरै चुनाव जित्ने दाउमा छन् ।माधव नेपाल रौतहटमा लखेटिदा बाबुराम भट्टराईले गोरखामा विज्ञहरुको समूहलाई अघि सार्न चाहेको बताएका छन् । तर यी पात्रहरुलाई निर्वाचनमै रोक्न सके देशको नेतृत्वबाट समेत रोक्न सकिने भएपछि पार्टीभित्रकै एउटा शक्ति पनि पूर्वहरुको विरुद्धमा लाग्ने निश्चित जस्तैछ ।तर उनीहरुलाई हराउँदैमै सबै समस्या हल हुन्छ त ? यो नै मूख्य प्रश्न बन्नेछ ।

आजभन्दा एक दशक जति अघि पनि ठूला नेताहरुलाई हराउने अभियान चलेको थियो । त्यतिबेला केही समूहले अभियान चलाएर पार्टी कार्यालयहरु घेराउ गर्दा नेताहरुको मनमा ढ्याङग्रो ठोकिएको थियो । तर विस्तारै अभियान कमजोर बन्दै गएपछि औचित्यहिन बन्यो ।अहिलेको चरम निराशाले पनि यसखाले माग गरेको छ । तर सत्ता, शक्ति र भक्ति खर्चिएर बर्षाेदेखि राज गर्दै आएका र गरिरहन चाहने पात्रहरुलाई लगाम लगाउन हदैसम्मको होसियार आवश्यक देखिन्छ ।




Leave a Reply

Your email address will not be published.