गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाड गर्नुपर्छ : सोमप्रसाद पाण्डे

समाचार

Sharing is caring!





नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाड गर्नुपर्ने बताएका छन् । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।

उनले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा कतै काँग्रेसको भन्दा समाजवादी र कतै माओवादीको पल्लाभारी भएर मिश्रित नतिजा आएकाले सिट बाँडफाँडमा समस्या नहुने बताए । नेता पाण्डेले स्थानीय तहको निर्वाचनमा समाजवादीको हैसियत छैन भनेर काँग्रेस र माओवादीले सिट दिन हिच्किचाए पनि आगामी निर्वाचनको लागि हैसियत बनाएको बताए ।

उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालको भूमिका र स्थानीय तहमा समाजवादीले ल्याएको मतको आधारलाई हेरेर आगामी निर्वाचनमा सिट बाँडफाँड हुने दाबी गरे ।

उनले भने, ‘स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा कतै काँग्रेसको भन्दा समाजवादी र कतै माओवादीको पल्लाभारी भएको मिश्रित नतिजा देखिएको छ । त्यसैले संघीय तथा प्रदेशको निर्वाचनमा गठबन्धनले खुला र ठूलो मन गर्नुपर्छ । अब आउने निर्वाचनको उम्मेद्वारी छनोटमा समस्या पर्ला जस्तो लाग्दैन । त्यो सम्मानजनक नै हुन्छ । अहिले मतले पनि देखाएको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादी सिट दिन हिचकिचाउनु भएको थियो हैसियत के छ भनेर अहिले हैसियत के देखियो भन्दा ९ लाख भोट समाजवादीको पक्षमा देखियो ।’

उनले थपे, ‘गठबन्धन भएको पोखरा, हेटौंडासमेत जित्न सफल भयो । आगामी निर्वाचनमा सबैको मूल्याङ्कन हुन्छ । गठबन्धनमा छलफल गरेर सिट बाँडफाडमा सम्मानजनक रुपमा ध्यान पु¥याउने विश्वास छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्न माधव नेपाल नभएको भए हुनसक्ने थिएनन् । त्यो पनि एउटा आधार हो । त्यसरी स्थानीय तहमा ल्याएको मतको आधारलाई हेरेर पनि आगामी निर्वाचनमा सिट बाँडफाँड हुन्छ ।’




Leave a Reply

Your email address will not be published.