सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत : सांसद दूर्गा पौडेल

समाचार

Sharing is caring!





राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडेलले सरकारले मिनी पाल्र्यामेण्टको अवहेलना गरेको आरोप लगाएकी छन् । बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले सरकारले संसदीय समितिले माग गरेका एसपीपी सम्बन्धी डकुमेण्ट उपलब्ध नगराउनु मिनी पाल्र्यामेण्टको दुरुपयोग भएको जिकिर गरिन् । सांसद पौडेलले समितिले निर्देशन गरेका कुरा बिना अर्थ नै बंग्याउनु नहुने भन्दै सरकारले एसपीपी सम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने भनेर बोलिसक्दा पनि सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत भएको बताइन् ।

उनले भनिन्, ‘हामीले एसपीपी सम्बन्धी अहिलेसम्मको के के डकुमेण्ट छ त्यो मागेका थियौँ । एउटा सांसदले देशमा के भइरहेको छ त्यो सबै जानकारी पाउने अधिकार राख्छ । त्यो माग गरेपनि सामग्री आएन । कतिपय जवाफ सुन्दा त्यसले पूरा गर्दैनन् । हाम्रो अधिकारको कुरा हो । हामीले माग गरेका कुरा सरकारले दिनुपर्छ ।’

उनले थप भनेकी छन्, ‘मिनी पाल्र्यामेण्टलाई अवहेलना गर्नुहुँदैन । यो समितिले निर्देशन गरेका कुरा बिना अर्थ नै बंग्याउनु हुँदैन । सरकारले एसपीपी सम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने भनेर बोलिसक्दा पनि सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत हो । यसमा स्पष्ट हुनुपर्छ ।’

सांसद पौडेलले सरकार एसपीपीमा स्पष्ट हुनु आवश्यक रहेको बताइन् ।




Leave a Reply

Your email address will not be published.