व्यावसायिक बन्दै सुँगुरपालन ; के–के पाइन्छ वडाबाट सेवा सुविधा ?

समाचार

Sharing is caring!

काठमाडौं ।  माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उहाँले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आउनुभएको छ । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् ।

एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । “पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको थिएन तर अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु”, उहाँले भन्नुभयो, “व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।”

सुँगुरका पाठापाठीलाई स्थानीयवासीले ‘भुनी’ र ‘वीरे’ भनी सम्बोधन गर्छन् । भुनी तीन महिनामा गर्भवती हुन्छे र छ महिनामा ब्याउँछे । भुनीले एक बेतमा १५ वटासम्म पाठापाठी पाउँछे । अर्जमे कालो सुँगुरको एक बर्षमा ६० केजी तौल पुग्छ । पैँतालिस दिनमा पाठापाठी र माउ छुट्याउनुपर्छ, नत्र आमाले पाठापाठी मार्छे । सुँगुरको मासु प्रतिकेजी रु आठ सयमा बिक्री हुन्छ ।

सुँगुर पाल्न नगरपालिकाको पशु शाखा र वडा कार्यालयले खोर निर्माण तथा पाठापाठी खरिद गर्न अनुदान दिएको छ । मासुको मुख्य बजार बागलुङ र बेनी हो । जिल्लामा सुँगुर पाल्ने बेनी–१ को रत्नेचौर र अर्जममा मात्र गरिएको छ ।

होटल, रेष्टुराँमा सुँगुरको मासुको माग बढेसँगै पछिल्लो समय जिल्लाभर व्यावसायिक रूपमा बङ्गुरसँग जोडेर कालो सुँगुर पाल्न थालिएको अर्जमका कृषक नरबहादुर थापाले बताउनुभयो । रत्नेचौर र अर्जममा पाँच सयभन्दा बढी मगर घरमा दुई–चार वटा लोकल कालो सँुगुर अनिवार्य पाल्ने गरिन्छ । केही दलित र नेवारले पनि सुँगुर पालेका छन् ।

थापामगरको घरमा मान्छे मर्दा पिण्डदान गर्ने बेला सुँगुर नभई हुँदैन । पितृलाई पिण्ड चढाउँदा जाँड, रोटी, सुँगुरको मासु चढाउने चलन छ । कुलपूजा, पितृपूजा, दशैँमा देवी मन्दिरमा पञ्चबलि दिँदा होस् वा विवाह, व्रतबन्धलगायत सामाजिक कार्यक्रममा सुँगुर काट्ने गरिन्छ ।

परम्परागत शैलीमा पालिँदै आएको कालो सुँगुरपालनलाई व्यावसायिक बनाउन बेनी–१ वडा कार्यालयले खोर निर्माण, व्यावसायिक फर्म स्थापना गर्नेलाई प्रोत्साहन गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । रासस


Leave a Reply

Your email address will not be published.