पूर्व मुख्यमन्त्रीको उम्मेदवारीले कांग्रेसलाई कति सहज ?

पूर्व मुख्यमन्त्रीको उम्मेदवारीले कांग्रेसलाई कति सहज ?

समाचार

Sharing is caring!

सुनसरी – सुनसरी क्षेत्र नम्बर २ का मतदाताले प्रतिनिधि सभामा यसपटक पनि ‘टेस्ट’ भइसकेका व्यक्तिलाई पुनः उम्मेदवारका रूपमा पाएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सीताराम मेहता चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, नेकपा एमालेले भीम आचार्यलाई चुनावी मैदानमा अगाडि सारेको छ ।

२०७० र ०७४ सालको चुनावमा निर्वाचित भएका कांग्रेसका सीताराम मेहता पूर्व राज्यमन्त्री समेत हुनुहुन्छ । ०७४ को चुनावमा मेहताले वाम गठबन्धनका हिमाल सुवेदीलाई पराजित गर्नुभएको थियो । मेहताले ४१ हजार ४९५ मत ल्याउँदा पराजित सुवेदीको ३५ हजार ३४९ मत आएको थियो । मेहता अहिले आफूलाई पार्टीले विश्वास गरेर पुनः टिकट दिएको र नागरिकको हितमा काम गर्ने भन्दै आश्वासन बाँडिरहनुभएको छ । आफू यसअघि पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएको र नागरिकका प्रायजसाे माग पूरा गरेकाले यसपटक पनि निर्वाचित हुने उहाँको दाबी छ ।

‘नागरिकको मौलिक हक अधिकार सुनिश्चित गर्नका लागि पनि मेरो उम्मेदवारी हो,’ मेहताले भन्नुभयो, ‘यसअघि निर्वाचित भइसकेपछि ठाउँठाउँमा नागरिकले चाहे अनुसार बजेट विनियोजन गरेको छु, केहीकेही कामहरू बाँकी छन्, त्यो काम छिट्टै पूरा हुन्छ ।’ उहाँले कृषि, स्वास्थ्य, शिक्षा, सडक निर्माणसँगै नागरिकको जीवनस्तर उकास्नका निम्ति आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले एमालेबाट उम्मेदवार बनेका भीम आचार्यप्रति कटाक्ष व्यक्त गर्दै आउनुभएको छ ।

‘भीम आचार्य जी ले पालिका चुनावमा टिकट वितरण गर्दा उहाँकै पार्टीका कार्यकर्ताले लगाएका आरोपको अहिलेसम्म खण्डन भएको छैन, टिकट वितरणमा पैसा लिएका कुराहरू छन्,’ उहाँले भन्नुभयो, ‘उहाँ एउटा निर्वाचन क्षेत्रमा चुनाव लडेपछि त्यही क्षेत्रमा चुनावमा होमिन फेरि कहिल्यै जानुहुन्न, उहाँ सुनसरी निवासी भए पनि टुरिष्ट उम्मेदवारजस्तै हो ।’

०७४ को चुनावमा ‘गरिबको नेता, सीताराम मेहता’ नाराले उहाँलाई चुनावमा जित निकाल्न सहज भएको थियो । तर, यसपटक भने उहाँ ‘गरीबको नेता’ भनेर छुट हुने अवस्थामा हुनुहुन्न । कतिपय युवा कार्यकर्ताहरूले प्रायजसाे कार्यक्रममा उहाँलाई शिक्षा, स्वास्थ्य, खानेपानी, बेरोजगारी निरुत्साहन तथा भौतिक निर्माणसँगै अन्य विकास निर्माणका कामबारे पनि प्रश्न गर्न थालेका छन् । यस कारणले गर्दा पनि यसपटक अघिल्लो चुनाव जस्तो सहज जित निकाल्न मेहतालाई चुनौती छ ।

लगातार दुई पटक निर्वाचित सांसद भएको तथा यातायात तथा भौतिक पूर्वाधार राज्यमन्त्री भइसकेका उहाँ गठबन्धनको बलका कारण चुनाव जित्ने कसरत गरिरहनुभएको छ । एमाले स्थायी कमिटी सदस्य आचार्यले यसअघि प्रदेश-१ का मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । एमालेको १० बुँदे पक्षधरका आचार्य पार्टीभित्र यसअघि माधवकुमार नेपालसँग नजिक हुनुहुन्थ्यो । तर, प्रदेश-१ को मुख्यमन्त्री पाउने लोभमा उहाँ पार्टीभित्रै रहनुभयो । ६७ दिन प्रदेश-१ को मुख्यमन्त्री भएका आचार्यको कार्यकालमा प्रदेश-१ को नामकरणको विषयले संसदमा प्रवेश नपाउँदा उहाँ आलोचित समेत हुनुभएको थियो ।

आफ्ना मान्छेलाई मात्रै च्याप्ने गरेको र १० बुँदे पक्षधर रहेका कारण आचार्यलाई ओली समूहले त्यति रुचाउँदैनन् । ०७४ को चुनावमा वाम गठबन्धन हुँदा सुनसरी-२ मा रेवती भण्डारीलाई टिकट नदिएको भन्दै उहाँमाथि आरोप समेत लगाइएको थियो । तर, ओली निकटका भण्डारीलाई यसपटक सुनसरी २ (क) बाट प्रदेश सभा सदस्यमा टिकट दिएपछि अहिले दुवैजना एक अर्कालाई मत मागिरहेका छन् ।

आचार्य २०६४ सालको चुनावमा सुनसरी क्षेत्र नं. ६ बाट विजयी भएर पहिलो संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यस्तै, २०७० सालको चुनावमा पनि त्यही क्षेत्रबाट जितेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका आचार्य २०७४ को चुनावमा भने सुनसरी क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा विजयी हुनुभयो । पार्टीभित्र लामो रस्साकस्सी र नेकपा फुटका कारण उहाँले मुख्यमन्त्री हुने अवसर पाउनुभएको थियो । उहाँले यसअघि पार्टीभित्र प्रभाव देखाए पनि विकास निर्माणका काममा भने उदासीनता देखाएको कतिपयको आरोप छ।

पटकपटक चुनाव लड्दा पनि पराजित नभएका आचार्यले यसपटकको चुनावमा कांग्रेसका मेहतालाई पराजित गरी शक्तिमा पुग्ने कसरत गरिरहनुभएको छ । पार्टी राजनीतिसँगै पटकपटकको आम चुनावमा विजयी भएका आचार्य मुख्यमन्त्री समेत भइसकेकाले आउँदाे चुनाव उहाँका लागि प्रतिष्ठाको सवाल बनेको छ।

यसअघि सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्यमा उहाँको चर्चा थियो । तर, एमाले–जसपाको गठबन्धनले निर्वाचन क्षेत्र १ मा जसपाका अशोक राईलाई अगाडि सारेसँगै आचार्य सुनसरी-२ बाट उम्मेदवार बन्नुभएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *