एक कप दूध चियाको ८०, उसिनेको अण्डाको एक सय! (हेर्नुस् तस्बिरहरू) – Khabar 27 Media

समाचार

Sharing is caring!

युवा पुस्तामा घुम्ने संस्कृति विस्तारै विकास हुँदै गएको देखिन्छ। मैले युवामा नयाँ ठाउँ घुम्न जाने हुटहुटी देखेको छु। सबैजना फुर्सदको समयमा आफ्नो पहुँचअनुसार घुम्न चाहन्छन्। उनीहरू फुर्सदमा हाइकिङ, ट्रेकिङ र मोटर बाइक राइड नै किन नहोस्, जान रूचाउँछन्। पछिल्ला दिनहरूमा विदेशीभन्दा स्वदेशी नागरिक बढी घुम्ने गरेको समेत पाइन्छ।

घुम्न त मन लाग्छ नि तर के गर्नु! आर्थिक कुरादेखि लिएर जागिरको छुट्टी, पारिवारिक अनुमति सबै मिलाउनुपपर्ने बाध्यता। घरपरिवार आफन्तलाई जसोतसो मिलाएपछि आसेपासेले दशैंमा नि के घुम्न पठाएको? यस्तो बर्खाको बेलामा बाटो खराब छ होला किन घुम्न जान दिनुभएको नि, हिउँदको महिना छ लेक लाग्ला, चिसो लाग्ला जस्ता कुरा परिवारलाई सुनाएर हैरान पार्ने वर्ग भेटाउँछु।

मलाई घुम्न जादाँ केही होला कि भनी डराउनुभन्दा पनि सतर्क हुनुपर्छ भन्ने लाग्छ। बेला-बेलामा घर परिवार ढुक्क होऊन् भनेर अपडेट पनि दिनुपर्छ। त्यसैले कहीँ कतै टाढा घुम्न निस्किँदा डराउनुभन्दा पनि सजग भएर घुम्न निस्किनु नै उपयुक्त हुन्छ।

साउनको महिना थियो। मौसम विज्ञान विभागले आगामी पाँच दिन देशैभर लगातार वर्षा हुने आकलन गरेको थियो। हामी साथीहरूबीच प्रतिकूल मौसमका बीच गोसाइँकुण्ड जाने निर्णय गर्यौं। एक जना साथी विदेशबाट आएको थियो। ऊ नेपाल छोटो समयका लागिमात्र आएको थियो। उसको छोटो समयलाई सदुपयोग गर्न र रमाइलो गर्न पदयात्रा जाने जमर्को गर्यौं।

अघिल्लो दिन साँझ हामी तीन साथीहरू (सुजन, गोविन्द र म) ठमेल गयौं। ठमेलमा ट्रेकिङका लागि केही सामान किन्यौं। भोलिपल्ट बिहान करिब १० बजे माछापोखरीबाट रसुवाको लागि धुन्चे जाने बस चढ्यौं। हामी तीनको गोसाइँकुण्डको बर्खे यात्रा सुरू भयो। बर्खामा यात्राका लागि निस्किँदा मानिसको भिडभाड कम हुन्थ्यो। जसले गर्दा प्रकृतिको शान्त र यथार्थ चित्र समेत देख्न पाइन्थ्यो।

धादिङको गल्छीबाट विदुर हुँदै बस अघि बढिरहेको थियो। माथि माथि पुगेपछि रोडहरू साँघुरा हुँदै गए। अग्ला भिर, पहराको घाँचमा बनेको साँघुरो राजमार्ग अनि उतिबेलै ढाकिदिने र छिनभरमै हराउने तुँवालो र कुहिरोहरू छिचोल्दै बस आफ्नै गतिमा अघि बढिरहेको थियो। यात्राका क्रममा ठूला-ठूला छाँगा र झरनाहरूको मनोरम दृश्य पनि देख्न पाइन्थ्यो। करिब छ घण्टाको यात्रापछि हामी धुन्चे ओर्लियौं।

समुन्द्री सतहबाट करिब १९६६ मिटरको उचाइमा रहेको सदरमुकाम धुन्चेको मौसम चिसो थियो। बसबाट ओर्लिएपछि पुनः केही सामान किन्यौं। सोही दिन दुई-तीन घण्टा हिँडेर खेन्दी भन्ने ठाँउमा बास बस्यौं।

खेन्दीको सृजना होटलका भाइले लोकल भाले काटेर भुत्ल्याउँदै थिए। बर्खाको समय भएकाले मान्छेको चाप कम थियो। लोकल कुखुराको मासुसँग भात खाई सुत्यौं।यात्राको दोस्रो दिन सबेरै होटलबाट निस्कियौं। होटलमा हार पारेर छुर्पी देखेपछि टुक्रा पार्न लगायौं। त्यही छुर्पी मुखमा खेलाउँदै हिँडेका थियौं।

बाटोमा भेटिने पसलहरूमा खाजा खाँदै हिँडियो। अरू ठाउँभन्दा गोसाइँकुण्डको रूट निकै महंगो थियो। एक कप दूध चियाकै ८० रुपैयाँ थियो भने उसिनेको अण्डाको सय रुपैयाँ। १२ बजेतिर चन्दनबारीमा खाजा खायौं। ३३३० मिटर उचाइमा पुगेका कारण निकै चिसो महसुस भइरहेको थियो। चिसो नलाग्ला कि भनेर भातमा तातो चौरीको घिउ खाएँ। स्थानीय जंगलको च्याउको तरकारी निकै स्वादिलो थियो।

दिनभर झरी परिरहेको थियो। तै पनि खाना खाई उकालो लाग्यौं। हिँड्ने बेलामा होटलकी सानी नानीले बाई-बाई भन्दै हात हल्लाएर बिदा गरिन्। एकदमै प्रेमिल आतिथ्यता र बिदाई। सायद म बसेको सहर स्वार्थी भएका कारण त्यहाँका मानिसहरू प्रेमिल लागेको पनि हुन सक्छ। थकाई मार्न बस्दामात्र चिसो अनुभव भइरहेको थियो। पानी मस्त परिरहेको नै थियो। हामीले किनेको राम्रो रेनकोटले पानीको भार थेगिरहेको थियो। पानी पर्यो भनेर ओत लागि बसेको भए त गन्तव्यमा पुग्न मुश्किल नै हुन्थ्यो होला।

ट्रेकिङ गर्दा समूह मिल्दा जे गर्दा पनि रमाइलो लाग्ने रहेछ।हामी रूझ्दै, भिझ्दै बेलुकीपख ३९१० मिटरको उचाइमा रहेको लौरीविनायकमा बास बस्ने निधो गर्यौं। लौरीविनायक नपुग्दै हामीलाई पानीले नराम्रोसित चुटेको पनि थिपो। दिनभरिको हिँडाइले हामी तीनै जना लखतरान परेका थियौं।

हामी लौरीविनायकको मर्निङ भ्यू होटलमा बसेका थियौं। होटलकी दिदी निकै मिजासिलो स्वभावकी थिइन्। जाने बित्तिकै तातो पानी दिएर सत्कार गर्नुभयो। दुवै साथी सुजन र गोविन्द मजाले थाकेका थिए। साथीहरूले कोठामै तातो झ्याइँखट्टे रक्सी मगाई खाएर सुतेछन्।

बाहिर केही नेपाली र विदेशी पर्यटकहरू आगोलाई घेरा लगाएर तातो लिइरहेका थिए। म पनि तातो पानी पिउँदै हुलमा मिसिएर गफिन थालेँ।

चेक-रिपब्लिकबाट १९-२० वर्षका दुई केटी गोसाइँकुण्ड घुम्न आएका थिए। उनीहरूले बाटोमा भालु सामुन्ने देखेको र आफूहरू डराएको बताइरहेका थिए। म अरूको कथा सुन्दै थिएँ, बेलाबखत आफ्नो पनि अनुभव पनि सुनाउँदै थिएँ। बेलुकी साथीहरूलाई खाना खान उठाएँ र खाना खाई सुत्यौं।

तेस्रो दिन गोसाइँकुण्डसम्मको यात्रा निकै कठिन थियो। लौरीविनायकबाट लौरीविनायक पास ठाडै उकालो थियो। उक्त उकालो पास गर्न धेरै जनालाई मुश्किल पर्ने अनुमान हामीले गरेका थियौं। होटलका पदयात्रीहरू बिहानै हिँडेका थिए। तर हामीले केही खाएर मात्रै उकालो लाग्ने सल्लाह गर्यौं। बिहान च्याउको सुप, चिया बिस्कुट खाएर ८ बजेतिर उकालो लाग्यौं।

तलबाट देखिने डाँडामाथिको बुद्धको मूर्ति जति हिँडे पनि भेट्न सकस भइरहको थियो। डाँडाको टुप्पोमा पुग्नै लाग्दा सुजनले आफ्नो नाकबाट हल्का रगत बगेको कुरा सुनायो। गोविन्दले पनि टाउको दुखेर गाह्रो हुँदा बोल्नै नपरे हुन्थ्यो जस्तो गरी अघि बढिरहेको थियो। मेरो पनि टाउको दुख्दै थियो। कठिनाइका बाबजुद पनि हामी समुद्री सतहबाट ४३०० मिटरको उचाइ पार गरेका थियौं।

हामीलाई लौरीविनायक पासको किंबदन्ती अनौठो लाग्यो। आफूले टेकेर आएको लौरो त्यही गुम्बामा छोडेर अघि बढ्नुपर्ने रहेछ। तर हामीले लौरो नबोकी पदयात्रामा हिँडिरहेका थियौं। त्यसैले त्यो नियम हामीले पालन गरेनौं।

ठूल्ठूला चट्टानसहितका पहाडहरू अनि जताततै फुलिरहेका लेकाली भुइँफूलहरू देख्दा मन प्रफुल्ल भएको थियो। जति माथि जाँदै थियौं, त्यति नै गहिरा खोंचहरू देखिँदै थिए। पार गर्दै आएका पहाडहरू होचा र साना देखिन्थे। जताततै रंगीविरंगी भुइँफूलहरू देखिन्थे। सेता, पहेँला, राता, निला रंगका थरीथरी भुइँफूलहरू, पर देखिने झरनाले यात्रा झन् मनमोहक बनिरहेको थियो। ती अनुपम दृश्यहरूले थकान मेटाइदिएको थियो। आकाश खुलेको थियो। पहाड र फाँटका ती बुट्टेदार फूल र भेंडीगोठ वरिपरि चरिरहेका भेंडाहरूलाई नियाल्दै र तिनलाई क्यामेरामा कैद गरी अघि बढिरह्यौं।

सुन्दर प्रकृतिको दृश्य देखेर हामी रोमाञ्चित भएका थियौं। हामी सुन्दर प्राकृतिक दृश्यको डुब्दै अघि बढिरहेका थियौं। जाँदै गर्दा परबाट नै भैरव कुण्डबाट झरेको झरना सहितको सरस्वती कुण्ड देख्यौं। हामी कुण्ड देखेपछि फुरूंग भयौं। कुण्ड देखेपछि गन्तव्य आइपुग्यो कि भन्न लागेको थियो।

बर्खा याममा यात्रा गर्दाको सुन्दर पक्ष भनेको नै देखिने ठूला ठूला झरना हुन्। हामी झरना र कुण्ड हेर्दै अघि बढ्यौं। गोसाइँकुण्डको पानी बगेर भैरवकुण्ड बनेको रहेछ। त्यहाँको दृश्य निकै लोभलाग्दो थियो। त्रिशूल धाराको पानी झरेर गोसाइँकुण्ड र गोसाइँकुण्डको पानी झरेर भैरव कुण्ड र भैरवकुण्डको पानी झरेर सरस्वती कुण्ड बनेको रहेछ। ती कुण्डको दृश्य देख्दा मनै प्रफुल्ल हुन्छ।

केहीबेरमा हामी समुद्री सतहबाट ४३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड पुग्यौं। स्वर्गको एक टुक्रा खसेर यहाँ कतै अडिएजस्तो भान भएको थियो।

हिन्दु शास्त्रका अनुसार परापूर्वक देवता र दानव कालमा अमृत प्राप्तिका लागि समुन्द्र मन्थन गरियो। समुन्द्र मन्थन गर्दा कालकुट विष उत्पन्न हुन पुगेको रहेछ। त्यो विषले सारा ब्रह्माण्ड नै समाप्त पार्न लागेपछि सम्पूर्ण देवी-देवताले महादेव शिवलाई पुकार गरेछन्। त्यसपछि महादेवले त्यो कालकुट विषलाई सेवन गरेछन्। त्यो विष घाँटीमा गएर बसेछ।

त्यसपछि भगवान शिव निलकण्ठ नामले परिचित समेत भए। त्यसपछि निलकण्ठ महादेव विषको डाहा शान्त पार्न भनी हिमालय खण्डको काखमा गएर आफ्नो त्रिशूलले भित्तामा हिर्काए छन्। हिमालयको काखबाट जलको धारा बगाई पानी पिएर विषको डाहा शान्त पार्नुभएको रहेछ। त्यही त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंबदन्ती छ।

यो एउटा धाम पनि हो। जनैपूर्णिमा र गंगादशरा पर्वमा मेलामा आउनेको ठूलो घुइँचो पनि लाग्छ। आउँदो जनैपूर्णिमा आउने तीर्थयात्रीहरूको सुविधा र व्यवस्थापनका लागि बास बस्न टहराहरू निर्माण गर्दै गरेको ठाउँ-ठाउँमा देखिन्थ्यो। लाङटाङ राष्ट्रिय निकुञ्ज र स्थानीय निकायले समेत यस क्षेत्रमा सहयोग गरेको देखियो।

हामी तीनमध्ये एक साथी गोविन्दलाई लेक लाग्यो। उसले बान्ता गर्न थाल्यो। मलाई पनि टाउको बेस्सरी दुख्न थालेको थियो। एकछिन आराम गर्न भनि गएर सुतेँ।गोविन्दलाई भने गाह्रो भएको थियो। जसोतसो खाना खाएर सुत्यौं।

चौथो दिन बिहानै छ बजेतिर उठेर म गोसाइँकुण्डमा नुहाउन गएँ। कुण्डको पानी सोचेजस्तो चिसो थिएन। दिउँसोतिर कुण्डको पानी चिसो हुँदै जाने त्यहाँको एकजना पुजारीले भन्नुभयो। गोसाइँकुण्डमा तीनपटक डुबुल्की मारेर महादेवलाई पूजा गरेँ।

एकैछिनमा साथी सुजन आयो र हामी त्रिशूल धारा हेर्न माथि गयौं। अविरल बगिरहने त्रिशूलका जलधाराबाट पानी भरी फर्कियौं। गोविन्द पनि आयो र फोटो खिची होटल फर्कियौं। गोसाइँकुण्डलाई एक चक्कर घुम्न आउँछु भनी गएँ। केहीबेर होटल फर्किएर झोला प्याक गर्यौं र चिया रोटी खाई तल झर्यौं।

उचाइ कम हुँदै गएपछि गोविन्दलाई पनि ठिक हुँदै गयो। हिँडाइले गोडाहरू गलेर दुखेका थिए। खुट्टा दुखे पनि यात्राका दुःख सुखका पल सम्झँदै तस्बिरमा कैद भएमा प्राकृतिक चित्रहरूसित रमाउँदै पाँचौ दिन काठमाडौं फर्कियौं।



Post Views:
64

Leave a Reply

Your email address will not be published.