बुबा उम्मेदवार बन्न नपाएपछि चुनावी मैदानमा वीर अस्पतालकी नर्स मधुमाला

बुबा उम्मेदवार बन्न नपाएपछि चुनावी मैदानमा वीर अस्पतालकी नर्स मधुमाला

समाचार

Sharing is caring!

परिस्थिति आफू अनुकूल हुन्थ्यो भने सर्लाहीको रामनगर गाउँपालिका ५ विर्ताटोलका शिवपुजन रायले चुनावी पोस्टरमा छोरी मधुमालाको तस्बिर राख्ने थिएनन्। महेन्द्र राजमार्गदेखि ४२ किलोमिटर दक्षिणमा भारतसँग सीमा जोडिएको सर्लाही–४ का गाउँ–गाउँमा टाँगिएका ब्यानर र पोस्टरहरुमा यतिबेला उनको मात्रै तस्बिर हुन्थे। तर, परिस्थिति उनले सोचे जसरी अघि बढेन।

०६४ सालमा संविधान सभा सदस्य भएको बेला रातो पासपोर्ट दुरुपयोग गरेको अभियोग रायमाथि लाग्यो। रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गर्दै उनलाई उम्मेदवार बन्न नपाउने फैसला गरिदियो। ०७४ मा उनले सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यमा दिएको उम्मेदवारी नै निर्वाचन आयोगले खारेज गर्यो।

आफैँ जनप्रतिनिधि बनेर सर्लाही ४ को राजनीतिलाई आफू अनुकूलको बनाइराख्ने उदेश्य पुरा हुने अवस्था नदेखेपछि उनी नयाँ उपायको खोजीमा लागे। शिवपुजनले राजनीतिमा कुनै चासो नभएकी छोरीलाई चुनावमा उम्मेदवार बन्न प्रेरित गरे। वीर अस्पतालकी स्टाफ नर्स २७ वर्षीया मधुमाला पनि सर्लाही ४ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्न राजी भइन्।

सर्लाही ४ की स्वतन्त्र उम्मेदवार मधुमाला र उनका बुबा शिवपुजन राय यादवको पोस्टर
सर्लाही ४ की स्वतन्त्र उम्मेदवार मधुमाला र उनका बुबा शिवपुजन राय यादवको पोस्टर
यतिबेला भारतको बिहार र उत्तर प्रदेशको सिको गर्दै सर्लाही ४ का गाउँ, टोल, चोक जताततै टाँगिएका पोस्टर र ब्यानरमा छोरी मधुमालासँगै शिवपुजनको पनि तस्बिर देख्न सकिन्छ। छोरीको मात्रै नामले निर्वाचन जित्न नसकिने बुझेका शिवपुजनले छोरीको चुनावी पोस्टरमा आफ्नो पनि तस्बिर राखेर मतदातासँग भोट मागिरहेका छन्।

४ मंसिरमा हुने चुनावमा शिवपुजन छोरीलाई माओवादी केन्द्रबाट उम्मेदवार बनाउन चाहन्थे। तर, पाँच दलीय गठबन्धनबीच निर्वाचन क्षेत्र बाँडफाँट हुँदा सर्लाही ४ माओवादीको भागमा परेन। केन्द्रमा धेरै जोडबल गर्दा पनि माओवादीबाट टिकट नपाएपछि शिवपुजनले छोरीलाई प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बनाए।

आफ्ना बुबाको राजतीतिक विरासतको बलमा छोरी मधुमाला यतिबेला सर्लाही ४ मा आफ्ना बुबा र हजुरबा उमेरका राजनीतिका माहिर खेलाडीहरुसँग प्रतिस्पर्धा गर्दैछिन्। सांसद, मन्त्री, गाउँपालिका अध्यक्ष र तीन पटक कांग्रेसको जिल्ला सभापति बनिसकेका नागेन्द्रकुमार राय, कांग्रेसकै बागी यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद अमरेशकुमार सिंह र एमाले–जसपा गठबन्धनका राकेशकुमार मिश्रसँग मधुमालाको यहाँ कडा प्रतिस्पर्धा हुँदै छ।

बुधबार नेपालखबरकर्मी रामनगर गाउँपालिका ५ बिर्ताटोलस्थित शिवपुजनको घरमा पुग्दा कार्यकर्ताले भरिभराउ उनी घरदैलो कार्यक्रममा जान हतारिँदै थिए। छोरी मधुमाला पनि साथमै थिइन्। गाउँपालिका अध्यक्ष रहेका शिवपुजनका छोरा राजाबाबु त्यहाँ थिएनन्। हाम्रो जिज्ञासामा शिवपुजन बोले– ‘ऊ गाउँपालिका गैसक्यो। हाम्रो चुनाव प्रचारमा जाँदैन।’ नेपालखबरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *