अल्का अस्पतालमा ६ वर्षदेखि मालिक कुरेर बसिरहेकी काली – Satyapati

अल्का अस्पतालमा ६ वर्षदेखि मालिक कुरेर बसिरहेकी काली – Satyapati

समाचार

Sharing is caring!

तपाईंहरूले ‘हाची’ फिल्म हेर्नुभएको छ ? कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्ममा हाची नामको कुकुर आफ्नो मृत मालिक कुर्दै वर्षौंसम्म रेल–वे स्टेसनमा बिताउँछ । यो जापानको वास्तविक घटनामा आधारित फिल्म हो ।

यस्तै घटना पाटनको अल्का अस्पतालमा दोहोरिएको छ । जावलाखेलबाट एकान्तकुना जाँदा ओरालोमा दाहिनेतर्फ अल्का अस्पतालको दुई नम्बर गेट छ । यहाँ पछिल्लो ६ वर्षदेखि एउटी पोथी कुकुर आफ्नो मालिक कुरेर बसिरहेकी छे ।

जीउभरि फुस्रा काला रौं, घाँटी वरपर खैरो । हेर्दा फूर्तिलो देखिने यो कुकुरको नाम ‘काली’ हो । कालो वर्णको भएरै उसको नाम काली राखिएको अस्पतालका कर्मचारी बताउँछन् । काली अस्पतालसम्म कसरी आइपुगी त ?

अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार छ वर्षअघि एक युवक बिरामी भएर आएका थिए । उनलाई पहिले क्याबिनमा राखिएको थियो, पछि आइसियुमा सारियो । उनी आइसियुबाट निको भएर घर फर्किएनन् । अस्पतालमै उनको निधन भयो र यहीँबाट अन्तिम संस्कार निम्ति लगियो ।

‘बिरामी मालिकलाई क्याबिनमा राख्दा यो कुकुर त्यहाँ वरपर बस्थ्यो,’ केसीले भने, ‘अहिले पनि ऊ आफ्नो मालिक पर्खेझैं क्याबिन वरपर नै बसिरहेको छ ।’ अस्पतालका अन्य कर्मचारीका अनुसार पहिलोचोटि आउँदा काली सानै थिई । रौं चिल्ला र सुकिला थिए ।

बिरामी युवकको निधनपछि परिवारका सदस्यले कालीलाई घर फर्काउने कोसिस गरेका थिए । तर काली मान्दै मानिन । ऊ मालिक फर्किने आसमा अस्पतालमै बसिरही । कालीको त्यो पर्खाइ आजसम्म सकिएको छैन । ऊ आज पनि आफ्नो मालिकले अन्तिमपटक छाडेको बाटोमा यताउति दगुरिरहन्छे ।

छ वर्षको अन्तरालमा अस्पतालको रङ फेरियो । कालीको शरीरको रौं फुस्रो हुँदै गयो । तर उसको आनीबानी फेरिएको छैन । हामी मंगलबार अल्का अस्पताल पुग्दा काली गेटमै टुक्रुक्क बसिरहेकी थिई । नयाँ मान्छेसँग एकैछिनमा झ्याम्मिने काली हामीलाई नजिक देखेर पुच्छर हल्लाउन थाली । हामीले हातले सुम्सुम्याएपछि ऊ झनै नजिक आई ।

अस्पतालका सुरक्षाकर्मी कुमार लामा अल्कामा काम गर्न थालेको दुई वर्ष भयो । उनले आफू आएदेखि कालीलाई यहाँ देखिरहेका छन् । ‘कालीका बारेमा बुझ्दा ऊ आफ्नो मालिक कुरेर बसेको भन्ने सुनेको हुँ,’ उनले भने, ‘कुनै जनावरमा आफ्नो मालिकप्रति यति धेरै माया हुन्छ भन्ने पहिलोपटक देखेँ ।’

कहिलेकाहीँ काली कुनै व्यक्तिलाई पछ्याउँदै परसम्म जान्छे । सायद उसलाई त्यो व्यक्ति आफ्नै मालिक हो कि भन्ने लाग्छ । पर पुगेपछि झस्किएर फर्किने गरेको कुमार बताउँछन् । ‘अस्पतालमा जचाउन आएका व्यक्तिले माया गर्दा एकछिन पछि लाग्छ, पछि अस्पतालमै फर्किन्छ,’ उनले भने ।

हामी पुग्दा पनि काली एक बिरामी कुरूवाको नजिक बसेकी थिई । हामीले अस्पतालका अर्का कर्मचारी ज्ञानीमाया महर्जनलाई पनि सोध्यौं । उनी कुमारभन्दा धेरै पहिलेदेखि यहाँ काम गर्ने थालेकी हुन् । उनले आफू आएदेखि कालीलाई अस्पतालमै देखिरहेकी छन् ।

उनका अनुसार काली दिनभर क्याबिन बाहिर बस्छे । बेलुकी ७ बजेपछि क्याबिनमा जान्छे र त्यहीँ सुत्छे । ‘बाहिरी कुकुर र जनावरलाई अस्पतालभित्र आउन दिइँदैन,’ ज्ञानीमायाले भनिन्, ‘यो छुट कालीलाई मात्र छ ।’ अर्की कर्मचारी सरिताले कालीको हेरचाह गर्न थालेको तीन वर्ष भयो ।

अस्पताल नजिकै उनको खाजाघर छ । काली दिउँसो सरिताकै खाजाघर अगाडि बस्छिन् । उनी सधैं कालीका लागि भनेर खाना–खाजा छुट्याइदिन्छिन् । सुरूमा कालीले आफूलाई भोक लाग्दा सरितालाई हातले कोट्याएकी थिई । सरितालाई मात्र होइन, भोक लाग्दा ऊ आफूलाई माया गर्ने सबैलाई हातले कोट्याउँछे ।

त्यतिबेला उसले किन यस्तो गरेको भन्ने सरिताले बुझेकी थिइनन् । पछि खानेकुरा दिएपछि कोट्याउन छाडी । अहिले कालीले कोट्याउने बित्तिकै उसलाई भोक लाग्यो भनेर बुझ्नुपर्छ । ललितपुर महानगरपालिकाले कालीको स्थायी बन्ध्याकरण गरिदिएको छ । त्यसअघि उसले एकपटक बच्चा जन्माइसकेकी छे ।

बच्चा पनि पोथी नै हो । छिरबिरे सेतो रङको छ । अस्पतालबाहिर निस्किँदा काली आफ्नै बच्चासँग खेल्छे । हामी पुग्दा पनि आफ्नो बच्चानजिकै बसिराखेकी थिई । बच्चा कालीजस्तै ठूली भइसकेकी छे । अस्पतालले बच्चालाई भित्र आउन दिँदैन । कालीलाई अस्पतालका कर्मचारी मात्र होइन, क्यान्टिनका मान्छेले पनि माया गर्छन् ।

हरेक साँझ उसका लागि खाना छुट्टाइदिन्छन् । ‘काली अरू कुकुरजस्तो छैन । सबैलाई माया गर्छ, जिस्क्याउँदा पनि टोक्न जाँदैन,’ सरिताले भनिन् । उनले अगाडि भनिन्, ‘कालीले मालिकलाई अहिलेसम्म कुरेर बसेको देख्दा जनावरमा पनि मान्छेप्रति यति धेरै लगाव र प्रेम हुँदो रहेछ भन्ने थाहा भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *