» त्यो जमाना : रातभर ढिकी–जाँतो, दिनभर मेलापात

» त्यो जमाना : रातभर ढिकी–जाँतो, दिनभर मेलापात

समाचार

Sharing is caring!

लमजुङ – गाउँमा बिजुली थिएन । कुटानी–पिसानीका लागि मिल थिएनन् । अन्न पिस्ने माध्यम नै ढिकी, जाँतो थियो । धान निफनेर निद्राको बेवास्ता गरी रातभरि ढिकीमा धान कुटेको दुःखदायी पल आज पनि स्मरण गर्नुहुन्छ, लमजुङ दोर्दी गाउँपालिका–२, अर्चलबोटकी ज्येष्ठ नागरिक मायादेवी मरेटा ।

‘बत्ती थिएन । मिल थिएन । १० पाथी धान एकै रातमा ढिकीमा कुटिन्थ्यो । रातभर धान कुटेर उज्यालो भएपछि घाँस काट्न गई, घर आइ खाना पकाएर दिउँसो मेलापात गइन्थ्यो । सारै दुःखको थियो त्यो बेला,’ उहाँले विगत सम्झिनुभयो ।

केही दशक अघि गाउँका प्राय: सबै घरमा ढिकी, जाँतो हुन्थे । अन्न पिसानीका लागि ढिकी, जाँतो चल्थे । ढिकी जाँतोको आवाज सुनिन्थ्यो गाउँघरमा । तर आजकाल त्यो चलन हराइ नै सकेको छ ।

‘अहिलेका मान्छे खासै दुःख गर्न चाहदैँनन् । ढिकी जाँतोको चलन त हराइसक्यो नि’, मायादेवीले भन्नुभयो । तर आफूले अझै पनि घरमा ढिकी, जाँतो राखेको भन्दै उहाँ भन्नुहुन्छ, ‘झरी बादल लागेको बेला, बिजुली नभएका बेला थोरथोरै अन्न त ढिकी जाँतोकै पिस्न सकिन्छ । त्यसैले अहिले पनि घरमा ढिकी, जाँतो राखेको छु ।’

उहाँका अनुसार ढिकीमा कुटेको चामलको भातको स्वाद निकै मिठो हुन्छ । ढिकी, जाँतोमा अन्न पिस्न सके पैसा पनि जोगिन्छ । स्वस्थकर र स्वादिलो खाना पनि पाइन्छ । उहाँ भन्नुहुन्छ, ‘तर अहिलेका मान्छेलाई सुविधा चाहिएको छ । दुःख कस्ले गर्ने ?’

यस्तै पहिले कुटानी–पिसानीका लागि ढिकी, जाँतोकै भर पर्नुपर्दा दुःख धेरै हुने अनुभूति सुनाउनुहुन्छ, लमजुङ भोटेओडारकै ७९ वर्षीया शिवदेवी पण्डित ।

उहाँका अनुसार विगतमा गाउँमा धेरै अन्न पिस्ने बेला गाउँ, छिमेकीको साथ माग्ने चलन थियो । चाडपर्व, विहे, पूजाआजाका बेला अन्न कुटानी–पिसानीका लागि ‘पर्मा’ लगाउने चलन थियो ।

दुःख भएता पनि यसले एकआपसमा आपसी सहयोग र सद्भाव बढाउँथ्यो । विद्युतीय मिलमा भन्दा ढिकी, जाँतोमा पिसेको अन्नको स्वादको परिकार स्वस्थकर र स्वादिलो हुन्थ्यो ।

‘मिलमा कुटेको अन्नको भन्दा त ढिकी जाँतोमा पिसेको अन्नको स्वादमा धेरै फरक छ । ढिकी जाँतोमै पिसेको अन्नको स्वाद मिठो नि,’ उहाँले थप्नुभयो ।

अहिले गाउँगाउँमा बिजुलीको पहुँच पुगेसँगै परम्परागत ढिकी, जाँतोको चलन गाउँघरबाटै हराउँदै गएको उहाँको ठम्याइ छ ।

सानै उमेरमा अन्न पिस्नका लागि पानी घट्ट गएको याद अझै ताजा छ, लमजुङ दोर्दी ढोकेबेसीका गोविन्द नेपालीलाई पनि । विगतमा धान घरकै ढिकी, जाँतोमा पिसे पनि गहुँ, मकै र कोदो पिस्नका लागि घण्टौको बाटो धाएर बेलघारी, डुम्रीश्वाँरासम्म पुगेको उहाँ बताउनुहुन्छ ।

‘धेरै दुःख हुन्थ्यो । अन्न पिस्न घण्टौँको बाटो धाउनुपथ्र्यो । अहिले गाउँगाउँमा बिजुलीबाट चल्ने मिल छन् । अहिले सजिलो त भएको छ । तर स्वादिलो खाना पाइएको छैन,’ ४७ वर्षका गोविन्दले भन्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *