धनुलाई उत्साह, मीनको परिस्थिति प्रतिकूल – Satyapati

धनुलाई उत्साह, मीनको परिस्थिति प्रतिकूल – Satyapati

समाचार

Sharing is caring!

२०७९ कार्तिक २७ गते, आइतवार, १३ नोभेम्बर २०२२ । मार्ग कृष्णपक्ष पञ्चमी तिथि । आद्र्रा नक्षत्र, ९ः२७ बजेदेखि पुनर्वशु । चन्द्रराशि– मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । आस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला । बोली–व्यवहारको कठोर शैलीले समस्या निम्त्याउन सक्छ । आलोचकहरूलाई व्यवहारले समेट्नुहोला । द्विविधाले निर्णय कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पछिका लागि खर्च गर्नुपर्ने समय छ । व्यवसायमा लगानी बढाउनुपर्ला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । वैदेशिक यात्रा लाभदायक रहनेछ । तत्काललाई खर्च गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । कामका लागि दौडधुप गर्नुपर्ला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ । विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेत गर्दा विशेष काममा जग बसाउने अवसर जुट्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुनेछन् भने सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । करकापमा परी विवादास्पद काम वा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन् । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कामबाट आम्दानी भइरहनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । सोखले खर्च भने बढाउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । परिबन्धले केही समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । मौका पर्खंदा स्थितिमा सुधार आउनेछ । मिहिनेतले आँटेको काम बन्नेछ । आलोचकहरूलाई व्यवहारले समेट्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, योजना गोप्य राखेर अघि बढ्नुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले सफलता दिलाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । समयमा जुट्न नसक्दा काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेश र असमझदारीले आफन्तजन टाढिन सक्छन् । पछिका योजना गोप्य राखेर अघि बढ्नुहोला । सहयोगीहरूले हात झिक्नाले काम बिग्रन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *