उम्मेदवारलाई सुकुम्बासीको प्रश्न, ‘हामीले लालपुर्जा कहिले पाउने ?’ – Satyapati

उम्मेदवारलाई सुकुम्बासीको प्रश्न, ‘हामीले लालपुर्जा कहिले पाउने ?’ – Satyapati

समाचार

Sharing is caring!

‘हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघि पछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन्,’ बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय इसुफ मियाँले दुखेसो पोखे ।

उनको आफ्नो र पैतृक सम्पत्ति केही छैन । मियाँलाई हरेक चुनावमा लालपुर्जा दिलाउने आश्वासन धेरै उम्मेदवारले दिए । आफूलाई लालपुर्जा दिलाउन नसकेको उनले गुनासो पोखे । उनी आफ्नो जग्गा, जमिन र बस्ने बाससमेत नभएको जनाउँदै अरुको आश्रय लिएर बस्नुपरेको बताउँछन् । नेताले जित्नका लागि सुकुम्बासी बस्तीमा आएर भोटका लागि अनेक आश्वासन दिने तर काम भने नगरेको उनको भनाइ छ ।

‘अहिलेसम्म दर्जनौँ नेताले सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरेर लालपुर्जा दिन्छौँ भनेर आश्वासन दिनुभयो, हामी पनि होला भन्दै आश गरेर बस्यौँ तर अहिलेसम्म न जग्गा पाइयो, न लालपुर्जा । धेरै व्यवस्था फेरियो तर हाम्रो अवस्था उस्तै छ, कहिल्यै फेरिएन, दिनदिनैको बढ्दो महँगी उस्तै, निकै दुःख पाएका छौँ,’ उनले भने, ‘चुनाव आउने बेला जहिले पनि सुकुम्बासीको काम गर्न हामी चुनावमा उठेका छौँ, जितेपछि तपाईँहरूका लागि यो गर्छौँ, त्यो गर्छौँ भन्छन् तर जितेर गए भने एकपटक पनि हामीलाई भेट्न आउँदैनन्, हाम्रा आशाहरू यतिकै मरे ।’

आफ्ना छ भाइ छोरामध्ये कान्छो छोराले मात्रै घडेरी किनेर घर बनाएको जनाउँदै अन्य पाँच भाइ सुकुम्बासी नै रहेको मियाँले बताए । उनले वर्षौँदेखि सरकारसँग गाँस, बास र कपासको ग्यारेन्टीका लागि माग गरे पनि कुनै सुनुवाइ नभएको गुनासो पोखे आफूहरूले वर्षौँदेखि मजदुरी गरेर जीविका चलाइरहेको उनको भनाइ छ । स्थानीय आमुला खातुनले चुनावका बेला आश्वासन दिने नेताले सुकुम्बासीका लागि रोजगारको व्यवस्था मिलाइदिए दैनिकी चलाउन सहज हुने बताइन् । उनले रोजगारसमेत नहुँदा दैनिकी चलाउनसमेत गाह्रो पर्ने बताइन् ।

खातुनले वृद्धवृद्धाले नसके पनि युवाहरूले काम गर्न सक्ने र परिवार चलाउन सहज हुने उनको भनाइ छ । सुकुम्बासीका लागि राज्यको नजर पुग्न नसकेको उनले बताइन् । ‘सांसद, मन्त्रीहरू भएका सबै हामीहरूले मत दिएर जितेका त हुन् नि, उनीहरूलाई हामीले माथि पुर्यायौँ, तर हाम्रा लागि कसैले केही गर्न सकेन, चुनावका बेला भोट माग्न आएर यो गदिन्छौँ र ऊ गदिन्छौँ भन्नेले केही नगरेर सुकुम्बासीलाई रोजगरको व्यवस्था गरिदिए त आफैँ कमाएर जीवन चलाउन सकिन्थ्यो नि,’ उनले भनिन्, ‘काम केही गर्न पर्दैन, भाषण मात्रै दिन्छन्, जितेर गए भने पाँच वर्ष फर्किएर गाउँ आउँदैनन्, यस्ता नेतालाई के भोट दिनु, भोट मात्रै खेर गइरहेको छ ।’

उनले यहाँका बालबालिका, वृद्धवृद्धालाई अझ बढी समस्या पर्ने गरेको बताइन्। उनले सुकुम्बासीहरू अरुको आश्रयमा बसेको हुँदा खाना, बस्न र औषधोपचारमा बढी समस्या हुने गरेको हुँदाको भनाइ छ । सरकारले सुकुम्बासीका लागि निःशुल्क स्वास्थ्योपचार र खाद्यान्नको व्यवस्था गरे आफूहरूलाई ठूलो राहत मिल्ने बताउँछिन् । स्थानीय यज्ञबहादुर क्षेत्री सुकुम्बासी बन्नुपरेको धेरै समय भएको छैन । आधा दशक अगाडिसम्म उनको व्यवसाय, गाडी थियो । परिवार राम्रोसँग चलेकै थियो । बैंकबाट ऋण लिएर गाडी किनेको केही समयै दुर्घटनामा परेपछि क्षेत्रीको घर, सम्पत्ति र व्यवसाय सबै डामाडोल बन्यो । बैंकले घर जग्गा कब्जा गरेपछि क्षेत्री परिवार सुकुम्बासी हुनुपर्यो ।

आफू सुकुम्बासी भएपछि धेरै नेताले घर बासको व्यवस्थापन गरीदिने आश्वासन दिए तर काम नगरेको बताए । उनले अहिले भोट माग्न आउने उम्मेदवारलाई आफूजस्ता सुकुम्बासीको समस्या समाधान नगरेसम्म मत नदिने बताए । अमलाचौर गाउँमा मात्रै करिब १५ भन्दा बढी घरपरिवार सुकुम्बासी छन् । आफूहरूलाई स्वास्थ्य, शिक्षा, खानेपानी निकै समस्या रहेको उनीहरू बताउँछन् । यो चुनावमा आफूहरू एकजुट भएर आफ्ना समस्या समाधान गरीदिने नेतालाई मात्रै भोट दिने योजना बनाएको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *